१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार ०९:३९:००
Read Time : > 2 मिनेट
राजनीति

चार महिनापछि नयाँ सभामुख

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार ०९:३९:००

चार महिनापछि संसद्ले नयाँ सभामुख पाएको छ । आइतबारको प्रतिनिधिसभा बैठकले सांसद अग्नि सापकोटालाई निर्विरोध सभामुख निर्वाचित गरेको हो । 

आइतबारको संसद् बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । ७ माघमा सभामुखका लागि सापकोटाको मात्रै उम्मेदवारी दर्ता भएको थियो । प्रमुख प्रतिपक्ष कांग्रेस र अन्य दलले सभामुखमा उम्मेदवारी दिएका थिएनन् । संसद् सचिवालयकी कर्मचारीसँग यौन दुव्र्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा राजीनामा दिएका थिए । त्यसयता सभामुख पद रिक्त रहेको थियो । 

सभामुख निर्वाचित भएपछि पत्रकारसँग कुराकानी गर्दै सापकोटाले तटस्थ र निष्पक्ष सभामुख बन्न दत्तचित्त भएर लाग्ने बताए । आफूलाई सभामुख बनाउन भूमिका खेलेकामा उनले कांग्रेस, समाजवादीलगायत सबै पार्टीलाई धन्यवाद दिए । ‘लोकतन्त्रको मूल्य, मान्यता तथा जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न निष्पक्ष र सन्तुलित भूमिका खेल्नेछु,’ नवनिर्वाचित सभामुख सापकोटाले भने । 

सभामुख सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ । माओवादी सशस्त्र द्वन्द्वका समयमा ०६८ मा काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्याको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । उनलाई सभामुख बनाउन नहुने भन्दै शुक्रबार पनि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसमा आइतबार नै सुनुवाइ तोकिएको भए पनि ‘हेर्न नमिल्ने’मा परेको छ । सभामुखमा चयन भएपछि अदालतको मुद्दाबारे पत्रकारले सोधेको प्रश्नमा उनले बोल्न मानेनन् । ‘यसबारे अहिले कुरा नगरौँ,’ सापकोटाले भने । 

सभामुख बनाउन नहुने भन्दै शुक्रबार पनि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसमा आइतबार नै सुनुवाइ तोकिएको भए पनि ‘हेर्न नमिल्ने’मा परेको छ । सभामुखमा चयन भएपछि अदालतको मुद्दाबारे पत्रकारले सोधेको प्रश्नमा उनले बोल्न मानेनन् ।

आइतबारको संसद् बैठकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सापकोटालाई सभामुख बनाउन प्रस्ताव गरेका थिए । सापकोटाको नाम प्रस्ताव गर्दै नेम्वाङले भने, ‘उहाँको पृष्ठभूमिले यो जिम्मेवारी बहन हुन्छ भन्ने विश्वास छ । हामीले जुन सदनको कल्पना गरेका छौँ, त्यसलाई लिएर उहाँले भूमिका पूरा गर्नुहुनेछ भन्ने विश्वासका साथ उहाँको नाम प्रस्ताव गरेको छु । उहाँको विकल्पमा अरू कसैले पनि उम्मेदवारी दिनुभएन । यसकारण राम्रो नाम सिफारिस गरेका रहेछौँ भन्ने लागेको छ ।’ सभामुख चयनको प्रक्रिया ढिलो भए पनि सुखद टुंगोमा आइपुगेको नेम्वाङको भनाइ थियो ।

उनको प्रस्तावमा नेकपा सांसद देव गुरुङ र ओनसरी घर्ती तथा राजपा सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । नेतृत्व क्षमता र नीतिगत स्पष्टता भएका कारण पनि सापकोटा सभामुख पदका लागि उपयुक्त भएको सांसद घर्तीले बताइन् । 

कांग्रेस सांसद मिनेन्द्र रिजालले आफूहरूले सभामुखमा उम्मेदवारी नउठाएको र उपसभामुखको दाबी पनि नगरेको बताएका थिए । सभामुख पद तटस्थ रहनुपर्ने मान्यतालाई आफ्नो पार्टीले ख्याल गरेर अघि बढेको उनको भनाइ थियो । ‘बजारमा अनेक हल्ला छन्, उपसभामुखबारे । कांग्रेस कमण्डलु लिएर उपसभामुख पद माग्न गएको छैन । संविधानअनुसार सभामुख र उपसभामुख अलगअलग पार्टीबाट हुनुपर्ने व्यवस्था छ, तर हामी माग्दैनौँ । हामीसँग मत पनि छैन,’ रिजालले भने । 

२४ फागुन ०१४ मा सिन्धुपाल्चोकको कुबिन्डे गाउँमा जन्मिएका सापकोटा ०३५ मा नेकपा (चौथो महाधिवेशन)बाट पार्टी सदस्यता लिएका थिए । उनी ०५२ बाट सुरु भएको सशस्त्र द्वन्द्वमा महŒवपूर्ण भूमिकामा थिए । द्वन्द्वका क्रममा १४ चैत ०६२ मा सिन्धुपाल्चोकको ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकोप्टरबाट प्रहार गरेको गोली लागेर घाइते भएका थिए । 

शान्ति सम्झौतापछि २८ चैत ०६४मा भएको पहिलो संविधानसभा र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भएका थिए । उनी झलनाथ खनाल नेतृत्वको सरकार (०६८) मा सूचना तथा सञ्चारमन्त्री र केपी शर्मा ओली नेतृत्वको सरकार (०७२) मा वन तथा भू–संरक्षणमन्त्री बनेका थिए ।

पछिल्लोपटक ०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक–१ बाट निर्वाचित भएका हुन् । ०४८ मा शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा लागेका सापकोटा अहिले नेकपाको स्थायी समिति सदस्य छन् ।