मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहरालाई ट्यांकरको साँचो हस्तान्तरण गर्दै चालक संगठनका अध्यक्ष पशुपति पाठक (दायाँ)
काठमाडौं
२०७६ माघ १३ सोमबार ०८:३८:००
Read Time : > 2 मिनेट
अर्थ

तेल चोर्न पाउनुपर्ने माग गर्दै हवाई इन्धन ट्यांकरचालकद्वारा ढुवानी ठप्प

Read Time : > 2 मिनेट
काठमाडौं
२०७६ माघ १३ सोमबार ०८:३८:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन ढुवानी गर्ने १ सय ८१ ट्यांकरचालकले तेल चोरी गर्न पाउनुपर्ने माग पूरा गराउन शनिबारबाट ढुवानी ठप्प पारेका छन् । सोही कारण शनिबार र आइतबार निगमको हवाई इन्धन डिपोमा लोड–अनलोड भएको छैन । चालकहरूले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ अनुसार तोकिएको नोक्सानी लक्ष्य ५० लिटरभन्दा बढी परिमाणमा दोब्बर मूल्यअनुसार जरिवाना असुल्ने प्रावधान हटाउन माग राखेर ढुवानी रोकेका हुन् । उनीहरूले तोकिएकोभन्दा जति बढी तेल नोक्सानी भए पनि प्रचलित बजार मूल्यअनुसार जरिवाना हुनुपर्ने पुरानो व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । 

चालकहरूको संगठन नेपाल आयात स्वतन्त्र मदजुर संगठन हवाई इन्धन ढुवानी एकाइ समितिका अध्यक्ष पशुपति पाठकले आयल निगमका कारण हुने नोक्सानीको भार चालकहरूले व्यहोर्न नसक्ने बताए । ‘आइओसीको रक्सौल डिपोबाट तेल बोकेर आएको ट्यांकर ५–७ दिन बाटोमा बस्नुपर्छ । यति लामो समय बस्दा तेल घट्छ र डिपोलाई तोकिएको नोक्सानी लक्ष्यले पनि भरपाई गर्न सक्दैन,’ पाठकले भने, ‘आयल निगमले बाटोमा कुराउँदा घटेको तेलको परिमाण चालकहरूले अनियमितता गर्छन् भन्ने आशयले दोब्बर जरिवाना तिराउन खोज्नु न्यायोचित होइन ।’ उनले १ सय ८१ ट्यांकरको चाबी आइतबार पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई बुझाएको बताए । विनियमावली संशोधन गरी चालकलाई कारबाही नहुने व्यवस्था लागू भएपछि मात्र हवाई इन्धन ढुवानी सुरु हुने उनको भनाइ छ । तर, आयल निगमका प्रवक्ता गोइतले ५० लिटरभन्दा बढी हुने चुहावटमा बजार मूल्यभन्दा दोब्बरले रकम असुल्ने व्यवस्था हटाउन नसकिने स्पष्ट पारेका छन् ।

तर, आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले चालकहरूको गैरकानुनी हडतालले तत्काललाई असर नपर्ने बताए । ‘सबैभन्दा धेरै इन्धन खपत हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दश दिनलाई पुग्ने इन्धन मौज्दात छ,’ उनले भने, ‘बढी चाप हुने अन्य विमानस्थलमा पनि मौज्दात राम्रै छ ।’ उनका अनुसार त्रिभुवन विमानस्थलमा दैनिक ५ लाख लिटर इन्धन खपत हुन्छ । सिनामंगल डिपोमा ५ हजार किलोलिटरभन्दा बढी इन्धन मौज्दात भएकाले विमान कम्पनीहरूलाई नआत्तिन उनले आग्रह गरेका छन् । ‘हवाई इन्धन ढुवानी रोकियो भनेर विमान कम्पनीहरू आत्तिनुपर्दैन । मागेजति तेल दिन सक्ने अवस्थामा छौँ,’ उनले भने, ‘चालकहरूसँग पनि चाँडै सहमतिमा पुग्नेछौँ ।’ 

 चोरी गर्ने बाटो आयल निगमले नै बनाइदिएको थियो
आयल निगमले तेल चोरी गर्न बनाइदिएको ‘कानुनी छिद्र’लाई उपयोग गर्दै चालकहरूले ढुवानी रोकेका हुन् । आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावलीलाई ०७३ मा संशोधन गर्दै तोकिएको लक्ष्यभन्दा ५० लिटर बढीसम्म टोलरेन्स कायम राखेको थियो । जसका कारण वास्तविक नोक्सानीभन्दा ५० लिटर बढीसम्म तेल चोरी गर्न चालकहरूले वैधानिकता पाएका थिए । 

सुरुमा बनाइएको विनियमावलीअनुसार वास्तविक लक्ष्यभन्दा बढी नोक्सानी भएको ठहर भए चोरी भएको तेलको बजार मूल्यअनुसार जरिवाना तिराइने व्यवस्था थियो । यस्तो व्यवस्था भए पनि डिपोका कर्मचारीले चालकले चोरी गरेको तेललाई पनि लक्षित नोक्सानीमै राखेर हिसाब गरिदिने गरेका थिए । यसबाट कर्मचारी, चालक र ढुवानीकर्ताले लाभ उठाइरहेका थिए । अत्यधिक धेरै चोरी गरेको अवस्थामा भने डिपोका कर्मचारीले केही परिमाणको जरिवाना तिराएर तेलको मूल्य असुलउपर गरेको देखाउँथे ।

तर, ०७४ चैतदेखि आधुनिक लकिङ सिस्टमबाट तेल ढुवानी हुन थालेपछि निगमले वास्तविक नोक्सानीभन्दा ५० लिटरसम्म हुने चोरी परिमाणलाई बजार मूल्यअनुसार जरिवाना तिराउने र ५० लिटरभन्दा बढी परिमाणको चोरीलाई बजार मूल्यभन्दा दोब्बर रकम जरिवाना तिराउने व्यवस्था कायम छ । लकिङका कारण बीचबाटोमा तेल चोरी गर्न नपाउने, चोरी गरिहाले पनि समातिने क्रम बढेपछि चालकले दोब्बर जरिवाना तिराउने व्यवस्था खारेजी माग गरेका हुन् ।  

स्रोतका अनुसार सुरुको व्यवस्थाअनुसार वास्तविक लक्ष्यभन्दा बढी हुन आउने ५० लिटरसम्मको परिमाणमा बजार मूल्यअनुसार जरिवाना तिराउने भनिए पनि व्यवहारमा कार्यान्वयन भएको थिएन । ‘वास्तविक लक्ष्यभन्दा ५० लिटरसम्म बढी नोक्सानी हुँदा डिपोहरूले तापक्रम नोक्सानीमै हालिदिने गरेका थिए,’ निगम स्रोतले भन्यो, ‘यो सरासर चोरी हो । यसरी चोरीमा देखाइएको परिमाण कर्मचारी, चालक र ढुवानीकर्तासम्म मिलेर फाइदा लिने गरेका थिए ।’