मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १५ बुधबार
  • Wednesday, 01 December, 2021
सम्पादकीय
२०७५ माघ ३ बिहीबार ०७:१२:००
Read Time : > 1 मिनेट
सम्पादकीय

पुनर्निर्माणको बहस

Read Time : > 1 मिनेट
सम्पादकीय
२०७५ माघ ३ बिहीबार ०७:१२:००

हिजो २ माघमा नेपालले राष्ट्रिय भूकम्प दिवस मनायो । विसं १९९० माघ २ को भूकम्पको सम्झनामा नेपालमा भूकम्पीय चेतना र त्यसबाट बच्ने उपायको प्रचारप्रसारका लागि भूकम्प दिवस मनाउने गरिएको हो । हरेक ९० वर्षभित्र एउटा ठूलो र अरू सानातिना भुइँचालोेको प्रभाव व्यहोर्ने गरेको नेपाल उच्च भूकम्पीय जोखिमको क्षेत्रमा पर्छ ।

नेपालमुनि हुँदै भूकम्पीय ‘फल्ट लाइन’हरू जाने भएकाले यस्तो भूकम्प कुनै पनि वेला जान सक्ने, यस्तो भूकम्पले अकल्पनीय मानवीय तथा भौतिक क्षति निम्त्याउन सक्ने भएकाले पूर्वसावधानी अपनाउनु र भूकम्पप्रतिरोधी संरचना निर्माण गर्नु नेपालका लागि भूकम्पीय सुरक्षाका दृष्टिले महत्वपूर्ण  हुन जान्छ । 

विसं १९९० पछि ०७२ वैशाख १२ गते नेपालको मध्यक्षेत्रमा विनाशकारी भूकम्प गएको थियो । साढे तीन वर्षपहिलेको सो भूकम्पले झन्डै नौ हजारको ज्यान लियो, हजारौँ घाइते भए भने झन्डै सात लाख घर ध्वस्त भए । त्यस्तै विद्यालय भवन, खानेपानी योजना, सडक, पुल, पुरातात्विक  महत्वका अनेक मठ–मन्दिर, भवन र संरचना भत्किए । लाखौँ मानिस सडकमा रात बिताउन बाध्य बनेको सो भूकम्पको पुनर्निर्माण सम्पन्न नभए पनि नेपालजस्तो गरिब र साधन–स्रोत कम भएको तथा राज्यसंयन्त्र प्रभावकारी नभएको देशले जेजस्ता काम गरेको छ, सम्भवतः त्यो उत्साहजनक नै छ ।

अहिलेसम्म झन्डै ५० प्रतिशतजति निजी आवास निर्माण भइसकेको र विद्यालय तथा अन्य भौतिक संरचना निर्माणले गति लिएको छ । भत्केका विद्युत् आयोजनाले पुनः विद्युत् उत्पादन सुरु गरेका छन् । विद्यालय भवन बन्दै छन् । स्वास्थ्य चौकी भवन बन्ने क्रममा छन् । अनेक चुनौती र प्रतिकूलताबाबजुद नेपालले जेजस्तो व्यवस्थापन ग-यो, त्यसले मानवीय त्रासदी सिर्जना हुन दिएन । महामारी फैलिएन, अनिकालले लपेटेन ।

सरकारले ढिला नगरी आफ्नो स्रोतकै आधारमा स्थानीय तहका सरकारलाई उत्तरदायी बनाउँदै १२ वैशाख ०७७ सम्ममा आधारभूत रूपमा पुनर्निर्माण सक्ने गरी अघि बढ्नुपर्छ
 

नेपालीले आफूसँग जे छ, त्यसैले अभाव भएकालाई सहयोग गरे । छरछिमेकको पनि सहयोग आयो । हाम्रै जस्तो अवस्थाको हैटीले भोगेको त्रासदी अहिले पनि कहालीलाग्दो छ । दाताहरू र स्थानीय सम्भ्रान्त वर्गले बिछ्याएको माखेसाङ्लोमा परेका पीडित हैजा र अनिकालमा पर्ने तर सहायता रकम फर्केर धनी देशतिरै जाने तथा स्थानीय सम्भ्रान्त मोटाउने घिनलाग्दो अवस्था सिर्जना भयो त्यहाँ । नेपालमा केही आइएनजिओको सहयोग हास्यास्पद रूपमा अर्थ न बर्थको र पीडितलाई छल्ने खालको भए पनि आमरूपमा नेपालको राज्य संयन्त्रले सकारात्मक हस्तक्षेप ग-यो ।

राजनीतिक संक्रमणमा रहेको र त्यही वेला मधेस आन्दोलन र भारतीय नाकाबन्दीको सामना गर्नुपरेको नेपालले जेजस्ता काम गरेको छ, त्यो प्रशंसनीय छ । धरहराको पुनर्निर्माण सुरु भएको छ । अझै सिंहदरबार र रानीपोखरीजस्ता ऐतिहासिक धरोहर निर्माणमा ढिलाइ र विवाद भए पनि नेपाल अघि बढिरहेको छ । बरु भारतलगायत दाताले आफ्नो वचन पूरा नगर्दा नेपालले स्रोत परिचालनमा अझै चुनौतीको सामना गर्नु परिरहेको छ । 

अब सरकारले ढिला नगरी आफ्नो स्रोतकै आधारमा स्थानीय तहका सरकारलाई उत्तरदायी बनाउँदै कार्यतालिका बनाएर ०७७ वैशाख १२ सम्ममा आधारभूत रूपमा पुनर्निर्माण सक्ने गरी अघि बढ्नुपर्छ । भूकम्प हाम्रो इच्छामा आउने होइन, त्यसबाट बच्न हाम्रो इच्छाशक्ति र सोअनुसार निर्माण आवश्यक हुन्छ । सचेत बनौँ । सतर्कता अपनाऔँ ।