मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १३ सोमबार ०६:२५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

व्यवसायी इच्छाराज तामाङको सम्पत्ति रोक्का

६० करोडबराबरको सम्पत्ति भेटियो, बयानका लागि बोलाउने सम्पत्ति शुद्धीकरण विभागको तयारी

Read Time : > 3 मिनेट
२०७६ माघ १३ सोमबार ०६:२५:००

व्यवसायी तथा पूर्वसभासद् इच्छाराज तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत बिहीबार उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको छ । सत्तारुढ नेकपानिकट व्यवसायी तामाङ सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक हुन् । उनले सिभिल सहकारीसमेत चलाउँदै आएका छन् । उनको केही बैंक खाता पनि रोक्का गरिएको छ । 

विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको स्रोत बताउँछ । विभागले उनलाई बयानका लागि बोलाउने तयारी गरेको छ । गत असोजदेखि तामाङमाथि विभागले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान थालेको हो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको विभागका एक अधिकारीले बताए । हालसम्मको छानबिनमा उनीसँग करिब ६० करोडबराबरको सम्पत्ति भेटिएको स्रोत बताउँछ ।

विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको छ । सहकारीकै अनियमितताको विषयमा परेको उजुरीउपर छानबिन सुरु गरी विभागले विस्तृत छानबिन अघि बढाएको हो । विभाग स्रोतका अनुसार विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको छ । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत रोक्का राखिएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गर्न सम्बन्धित व्यक्तिमाथि अन्य अभियोग हुनु जरुरी छ । सहकारी ऐनविपरीतका कसुरलाई सम्बद्ध अपराधका रूपमा मानेर छानबिन थालिएको विभागका अधिकारीहरू बताउँछन् । उनी आबद्ध सिभिल बैंकबाहेक अरू सबै कम्पनी घाटामा देखाएर करसमेत तिरिएको छैन । कर नतिरे पनि सम्पत्ति भने बढिरहेको छ । त्यसउपरसमेत राजस्व कार्यालयबाट छुट्टै छानबिन भइरहेको छ ।

उनले श्रीमतीको नाममा संस्थापक सेयर राष्ट्र बैंकको नियमविपरीत बिक्री गरेकोसमेत छानबिनमा खुलेको छ । गत साउनमा श्रीमतीको नामको करिब १० करोड रुपैयाँबराबरको सिभिल बैंकको सेयर बिक्री भएको थियो । श्रीमान् बैंककै अध्यक्ष भएको अवस्थामा सो सेयर बिक्री गर्न पाइँदैन । त्यसउपर समेत छानबिन चलिरहेको छ । अर्काेतर्फ, उनकी श्रीमती ०७४ सालसम्म सरकारी कर्मचारी थिइन् । सरकारी कर्मचारीले संस्थापन सेयर लिन नपाउने प्रावधान भए पनि लिएको खुलेको छ । तामाङ दोस्रो संविधानसभामा तत्कालीन नेकपा एमालेबाट सभासद् भएका थिए । 

 २१ म्यानपावर छानबिनमा 
विभागले २१ वटा म्यानपवार कम्पनीका सञ्चालकमाथि समेत छानबिन थालेको छ । ठूला म्यानपावर कम्पनीका सञ्चालकमाथि विभागले विस्तृत अनुसन्धान थालेको हो । जसमध्ये केहीको सम्पत्तिसमेत रोक्का राखिसकेको छ । द रिभर म्यानपावरका सञ्चालक रघु पुरीको सम्पत्ति रोक्का राखेर विभागले बयानमा बोलाउने तयारी गरेको छ । केही म्यानपावर सञ्चालकमाथि छानबिनको जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिन लागिएको छ । तीन साताअघि विभाग र प्रहरीबीच अनुसन्धानमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार आतंकवादमा लगानीको आशंका गरिएका क्षेत्रमा प्रहरीले अनुसन्धान गर्नेछ । 

 खुमा अर्याललाई बयानमा बोलाउने तयारी 
विभागले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याललाई पनि बयानमा बोलाउने तयारी गरेको छ । उनको बैंक खातासहित सबै सम्पत्ति विभागले रोक्का राखिसकेको छ । एमबिबिएसका विद्यार्थीलाई ठगी गरेकोमा उनीमाथि जिल्ला अदालतमा समेत ठगी मुद्दा छ । विद्यार्थीले नै उनको सम्पत्ति छानबिनको माग गरी विभागमा गत वर्ष उजुरी गरेका थिए । सरकारी मूल्यांकनअनुसार नै उनीसँग एक अर्ब रुपैयाँबराबरको सम्पत्ति भेटिएको विभागले जनाएको छ । उनीसहित चितवन मेडिकल कलेज, नेसनल मेडिकल र नोबल मेडिकल कलेजका सञ्चालकमाथि प्राथमिकताका साथ विभागले छानबिन गरिरहेको छ । 

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति खोज्न सकस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातमाथि भइरहेको सम्पत्ति शुद्धीकरणको अनुसन्धान जटिल बन्दै गएको छ । बस्न्यातले स्रोत नखुलेको कालोधन आर्जन गरेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको थियो । तर, महिनौंको छानबिनमा पनि बस्न्यात परिवारको नाममा धेरै सम्पत्ति भेटाउन सकेको छैन । उनले आफन्तभन्दा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको आशंका गरिएको छ । 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मुख्य भूमिका खेलेको अभियोगमा अख्तियारले बस्न्यातमाथि बयान लिएको थियो । त्यसलगत्तै सम्पत्ति शुद्धीकरण विभागले पनि उनीमाथि अवैध कालोधन आर्जन गरी राखेको आशंकामा छानबिन थालेको थियो । तर, सम्पत्ति लुकाएका व्यक्तिहरूसम्म पुग्न विभागलाई कठिन भएको छ ।  

अख्तियारले बालुवाटारको सरकारी जग्गा हिनामिनामा संलग्न भएकोमा बस्न्यातविरुद्ध मुद्दा  दर्ता गरेलगत्तै विभागले उनीविरुद्ध अबैध सम्पत्ति आर्जनको अर्को मुद्दा दायर गर्ने रणनीतिसहित छानविन थालेको थियो । तर, अहिलेसम्मको अनुसन्धान जटिल बन्दै गएको विभागले जनाएको छ । बस्न्यातको सम्पत्ति छानविनमा विभागले सबैभन्दा विश्वासिला र अनुसन्धानमा उच्च क्षमता भएका कर्मचारी र प्रहरी खटाएको छ । 

 बानेश्वरमा एउटा मात्र घर 
अहिलेसम्म छानविनबाट बस्न्यात परिवारको नाममा नयाँ बानेश्वरमा चार रोपनी क्षेत्रफलमा एउटा घर मात्र भेटिएको छ । त्यसबाहेक उनले प्रयोग गर्दै आएको गाडीसमेत एउटा संस्थाको रहेको पाइएको छ । विभागले बस्न्यात, उनकी श्रीमती र छोराछोरीको सम्पत्ति छानबिन गरिसकेको छ । अनुसन्धान अधिकृतहरूले बस्न्यातले गोप्य रूपमा अवैध धन लुकाएर राखेको जिकिर गर्दै छानबिन गरिरहेको छ । 

यस अवधिमा बस्नेतले १५ देखि २० लाख रुपैयाँ स्रोत नखुलेको पैसा कारोबार गरेको भेटिएको छ । अनुसन्धानको क्रममा बस्न्यात परिवारका सदस्यहरूको नाममा केही बैंकमा खाता भेटिएको थियो । तर, खातामा अस्वाभाविक कारोबार भेटिएको छैन । करिब १५–२० लाख स्रोत नखुलेको रकम कारोबार भएको भेटिएको छ । 

 बस्न्यातको ससुरालीदेखि मावलीसम्म छानबिनको दायरामा
सम्पत्ति शुद्धीकरण विभागले अहिलेसम्म बस्न्यातको सगोलको परिवार, ससुराली र उनको मावलीको सम्पत्ति जाँचिसकेको छ । आफन्तको नाममा कालोधन लुकाएको आशंकामा विभागले सम्भावित व्यक्तिमाथि छानविन गरिरहेको छ ।

बस्न्यात र उनको परिवार तथा आपन्तको नाममा अवैध सम्पत्ति नभेटेपछि विभागले उनीसँग हिमचिममा रहेका व्यक्तिमाथि निगरानी बढाएको छ । बस्न्यात र उनको परिवारको नाममा अन्य व्यवसाय नभएको र परिवार तथा आफन्तको नाममा पनि सम्पत्ति नभेटेपछि विभागले अनुसन्धानको घेरा बढाउँदै लगेको हो । मेनपावर, घरजग्गा तथा पार्टी प्यालेसमा उनले केही विश्वासिला व्यक्तिमार्फत लगानी गरेको स्रोत बताउँछ । त्यसको प्रमाण भेट्न विभागलाई सकस भएको छ ।