मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १२ आइतबार १४:४५:००
Read Time : > 1 मिनेट
समाचार

आमाले नै छोरीको हत्या गरेको मृतक बालिकाकाे बाबुकाे आरोप

Read Time : > 1 मिनेट
२०७६ माघ १२ आइतबार १४:४५:००

सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तीपुरमा बिहीबार राति सुतेकै ठाउँमा आगलागीमा परेर मृत्यु भएकी भनिएकी १४ वर्षीय बालिकालाई आमाले नै जलाएर हत्या गरेको उनका बाबुले आरोप लगाएका छन् । मृतक बालिका सलोनी नायककी बाबु सुशान्त नायकले आफ्नी छोरीको पूर्वपत्नी आशाले आगो लगाएर हत्या गरेको आरोप लगाएका हुन् ।

‘घरको दोस्रो तलामा एउटै खाटमा सुतेका आमा छोरीमध्ये छोरीको मृत्यु हुने आमा चाहिँ सामान्य घाइते मात्र हुने यो कसरी हुन्छ ?’ उनले प्रश्न गर्दै भने ‘आफूसँगै रहेकी छोरीलाई आगो लगाएर हत्या गरिएको हो ।’

धनुषा जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद भएपछि पछिल्लो एक वर्षदेखि धनुषाको सबैलामा बस्दै आएका सुशान्तले सम्बन्ध बिच्छेद नहुँदै आफूलाई पनि दुई पटक आशाले मान्छे लगाएर हत्याकाे प्रयास गर्ने गरेको दाबी गरे । ‘ऋण लिएर उक्त ऋणबाट मोजमस्ती गर्न थालेपछि आफूले रोक्न खोजको र त्यसैले आफूमाथि हिंसा भयो भन्दै अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा पर्यो’ उनले भने ‘अदालतको आदेशमा एक छोरीसहित दुई सन्तान आमासँगै बस्दै आएका थिए ।’ 

‘विद्युत महसूल नतिरेकाले पछिल्लो एक वर्षदेखि विद्युतको लाइन नै काटिएको घरमा कसरी तार सट भएर आगलागी हुन्छ ?’ उनले भने ‘छोरालाई छिमेकीको घरमा सुत्न पठाएर षड्यन्त्रपूर्वक छोरीको हत्या गरि आगलागीको नाटक गरिएको हो ।’ आमासँगै बस्दै आएका १० वर्षीय छोरा आदर्श नायकलाई राति खाना खुवाएर छिमेकी रामनारायण महासेठको घरमा सुत्न पठाई आगलागीको नाममा छोरीको हत्या भएको उनको आरोप छ ।

आगलागीमा छोरी सलोनीसँगै सुतेकी आमा ३५ वर्षीया आशा सामान्य घाइते भई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारपछि शनिबार अपह्रान्न  डिस्चार्ज भएको प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले बताए । स्थानीय छिमेकी र पूर्वपतिले सलोनीको उनकै आमाले आगो लगाएर हत्या गराएको आरोप लगाएपछि घटनाबारे सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक जैसवालले जानकारी दिए । तर अहिलेसम्म कसैलाई पनि गिरफ्तार नगरिएको प्रहरीले जनाएको छ ।

स्थानीय समेत रहेका बडहरामालका पूर्वगाविस अध्यक्ष रामअवतार राईका अनुसार मृतक वालिकाको शव पोष्टमार्टमा लागि भन्दै शुक्रबार बिहान करिब ११ बजेतिर लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको थियो । ‘दुई घण्टा नबित्दै शव फिर्ता ल्याई कमला नदीमा पुर्याएर दासंस्कार गर्न चितामा राखिसकेपछि प्रहरीले नियन्त्रणमा लिएर पुनः लहान लिएर गयो’ उनले भने ‘त्यसपछि शुक्रबार अपरान्ह ४ बजेतिर दोस्रो पल्ट मृतक बालिकाको पोष्टमार्टमा गरि शव ल्याएपछि साँझ बाबु र स्थानीय समाजको उपस्थितिमा दाहसंस्कार गरियो ।’

मृतक बालिका मिर्चैयास्थित टाइम्स स्कुलमा कक्षा ६ मा पढिरहेकी थिइन् ।