मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १२ आइतबार ०७:०३:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता

बेइजिङस्थित नेपाली राजदूत लीलामणि पौड्याल भन्छन्–हामी विद्यार्थी र सरकारसँग निरन्तर सम्पर्कमा छौँ

Read Time : > 1 मिनेट
२०७६ माघ १२ आइतबार ०७:०३:००

वुहान सहरमा कोरोना भाइरस फैलिएपछि त्यहाँका नेपाली विद्यार्थी डराएका छन् । उनीहरूको विषयमा नेपाल सरकार र दूतावासले के गरिरहेको छ ?

अहिले हामीले गर्ने भनेको संवाद हो । त्यसैले विद्यार्थीसँग सम्पर्क स्थापित गरेका छौँ । छरिएर रहेका विद्यार्थीलाई सामाजिक सञ्जालबाट सम्पर्कमा ल्याएका छौँ । नेपाली विद्यार्थी सबै स्वस्थ छन्, सुरक्षित छन् । परराष्ट्र मन्त्रालयले यस विषयमा लगातार चासो राखिरहेको छ । हामी नेपाल सरकार, चिनियाँ सरकार र विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौँ ।

उनीहरूलाई नेपाल फर्काउन सक्ने सम्भावना छ कि छैन ? विद्यार्थीहरू त नेपाल फर्कन चाहन्छन् नि ।

अहिले त्यस्तो सम्भावना छैन । किनकि संसारभरिका मिडियाले भनेका छन्– वुहान सहर पूरै सिल गरिएको छ । संक्रमण नपैmलियोस् भनेर चिनियाँ सरकार असाध्यै सचेत छ । त्यसैले वुहानबाट अरू सहरमा आवतजावत बन्द गरिएको छ । १५ सहर अहिले हाइअलर्टमा राखिएको छ । अब अर्को देशमा लग्ने भन्ने त अहिले सम्भावना छैन । यसै पनि अहिले चिनियाँ नयाँ वर्षको बिदा छ । वर्षमा सबैभन्दा बढी आन्तरिक रूपमा पनि मान्छेहरू आवतजावत गर्ने समय यही हो । तर, मान्छेले महिनौँअगाडि काटेका टिकटअनुसार यात्रा गर्न पाएका छैनन् । सरकार र ट्राभल एजेन्सीले धमाधम रकम फिर्ता गर्नुपरेको छ । तर, सबै तनाव बिर्सिएर चीन सरकारले रोग नियन्त्रण गर्न पर्याप्त पहल गरिरहेको छ ।

अमेरिका र फ्रान्सलगायत देशले आफ्ना नागरिकलाई स्वदेश फर्काउने भनेर तयारी गरेका छन् भनेर विद्यार्थीले भनेका छन् नि ?

भनेका आधारमा अहिले टिप्पणी गर्नु हतार हुन्छ । जब वुहानबाट आवतजावत नै ठप्प गरिएको छ, सम्पूर्ण यातायात बन्द गरिएको छ भने जहाजबाट अर्को देश पुर्‍याउने भन्ने अहिले सजिलो देखिँदैन । 

वुहान र पूरै चीनमा कति नेपाली जोखिममा छन् भन्ने केही तथ्यांक छ तपाईंहरूसँग ?

वुहानमै ७२ जना विद्यार्थी सम्पर्कमा आएका छन् । सञ्जालमा विद्यार्थी जोडिँदै छन् । तर, समग्रमा नेपाली कति छन् भनेर यकिन गर्न सकिँदैन । मान्छेहरू स्वतन्त्र रूपमा घुमिरहेका हुन्छन् । को नेपाली कुन सहर पुगेको छ भनेर थाहा हुने कुरा भएन । कसले के काम गरिरहेको छ भन्नेसमेत थाहा हुँदैन । तथ्यांक छैन, तर जानकारीमा आएसम्म चिनियाँ सरकारले नै उपचार गरिरहेको छ । तर, नेपाली अहिलेसम्म कोही पनि परेको छैन । 

अर्को एकजना नेपालीको शव वुहानमै छ, उनको मृत्युसँग कोरोना भाइरसको कुनै सम्बन्ध छ कि छैन ?

हो, एकजना नेपालीको मृत्यु भएको छ, तर पुरानो रोगले हो । उनको शव नेपाल ल्याउन पहल भएको छ, तर अहिले सम्भव छैन । अब ८ तारिखपछि मात्रै यो विषयमा थप पहल हुन्छ ।

चीनको वुहानमा कोरोना भाइरसको प्रकोप : नेपाल सरकारको प्रतीक्षा गर्दै नेपाली विद्यार्थी