१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ ११ शनिबार ०९:५५:००
Read Time : > 2 मिनेट
खेलकुद

नेपाली क्रिकेट टोलीलाई आफ्नै मैदान बिरानो

Read Time : > 2 मिनेट
२०७६ माघ ११ शनिबार ०९:५५:००

त्रिवि मैदानमा पिच बनिरहेकाले अभ्याससमेत गर्न पाएनन् खेलाडीले

नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको महत्वपूर्ण आधार प्रतियोगिता लिग २ अन्तर्गत शृंखलाको तयारीमा छ । प्रतियोगिताका लागि पोखरामा बन्द प्रशिक्षणमा बसेको नेपाली टोली बाँकी तयारीका लागि शुक्रबार काठमाडौं फर्किएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि शुक्रबार नै १४ सदस्यीय नेपाली टोली घोषणा पनि गरिसकेको छ । नेपालसहित अमेरिका र ओमानको सहभागितामा २२ माघबाट सुरु हुने प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको तयारी पनि सुरु भइसकेको छ ।

तर, महत्वपूर्ण प्रतियोगिताअघि नेपाली टोलीले आफ्नै मैदानमा बनेको नयाँ पिचको अनुभव गर्न भने नपाउने भएको छ । प्रतियोगिता सुरु हुन मात्र १२ दिन बाँकी रहँदा आइसिसीले मैदानको तयारी पूरा नभएको भन्दै नेपाली टोलीलाई बाहिरी विकेटसम्म पनि अभ्यास गर्न दिन मानेको छैन । क्यानले आयोजक राष्ट्रको हैसियतमा नेपालले प्रतियोगिता आयोजना हुने मैदानमै अभ्यास गर्न पाउनुपर्ने माग गर्दै आइसिसीलाई पत्राचार गरेको छ । तर, आइसिसीले अझै अनुमति दिएको छैन र दिने सम्भावना पनि कमै देखिएको छ । 

‘कन्सल्ट्यान्ट क्युरेटरले सुक्खा मौसमका कारण मैदानमा दुबो हुर्काउन मुस्किल भएको तर्क गरिरहेका छन् । मैदानको तयारी पनि ढिला सुरु भयो । त्यसकै आधारमा आइसिसीले हामीलाई प्रतियोगिता खेलिनेबाहेकको विकेटमा समेत अभ्यास गर्न दिन मानेको छैन,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले नयाँ पत्रिकासँग भने, ‘तर, हामी अझै प्रयास गर्दै छौँ । आशा छ, आइसिसीले अन्तिम केही दिनका लागि भए पनि अवसर दिनेछ ।’

प्रतियोगिताका लागि पछिल्लो झन्डै डेढ महिनादेखि आइसिसीका श्रीलंकाली कन्सल्ट्यान्ट क्युरेटर बन्दुला वर्नापुराको नेतृत्वमा त्रिवि क्रिकेट मैदान र मूलपानीको मैदान (अभ्यासका लागि) तयार पार्ने काम जारी छ । नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल पनि प्रतियोगिता आयोजना हुने मैदानमा अभ्यास गर्न नपाउनु आयोजकको अधिकार खोसिनुसरह भएको बताउँछन् । ‘आयोजकले पाउने एड्भान्टेज नै घरेलु मैदानको अनुभव हो । जब मैदानबारे जानकारी हुन्छ, त्यसले हामीलाई राम्रो प्रदर्शन गर्न सहयोग पुर्‍याउँछ,’ कप्तान मल्ल भन्छन्, ‘त्यसैले हामीले साइड विकेटमै केही दिनका लागि भए पनि अभ्यास गर्न पाउनुपर्छ भनेका छौँ । क्यानले पनि त्यसअनुसार पहल गरिरहेको छ । पाएनौँ भने हाम्रा लागि दुर्भाग्य हुनेछ ।’

प्रतियोगिताका लागि निकै ढिला बन्द प्रशिक्षण सुरु गरेको नेपाली टोलीका लागि यो अवसर गुमाउँदा थप मुस्किल बन्नेछ । गत २४ पुसबाटै बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरिए पनि प्रतियोगितामै व्यस्त भएपछि खेलाडीहरू निकै ढिला गरी सहभागी भए । राष्ट्रिय टोलीको अहिलेसम्मको तयारीमा कप्तान ज्ञानेन्द्रले सन्तुष्टि नै जनाए । तर, उनी योभन्दा राम्रो तयारी गर्न सक्ने ठाउँ भने रहेको बताउँछन् । ‘हामी लामो समयपछि ५० ओभरको प्रतियोगिता खेल्दै छौँ । पछिल्लो समय हाम्रा खेलाडी २० ओभरको प्रतियोगितामा केन्द्रित थिए । त्यसैले ५० ओभरको प्रतियोगितामा अभ्यस्त बनाउन पनि एमएम कपले सहयोग पुर्‍याएको छ,’ कप्तान ज्ञानेन्द्र भन्छन्, ‘बन्द प्रशिक्षणमा बस्दा मात्रै पनि टोली राम्रो हुन्छ भन्ने होइन । खेलाडीले आफूलाई सधैँ तयार राख्न सक्नुपर्छ । प्रतियोगिताको तयारी योभन्दा राम्रो हुन सक्थ्यो । तर, प्रयास सबैबाट भएको छ, त्यसअनुसार तयारी ठीकै छ ।’ प्रतियोगिताकै तयारीका लागि त्रिवि मैदान र मूलपानी मैदान छाड्नुपर्ने भएपछि नेपाली टोली पोखरा आइपुगेको हो । नेपाली टोलीले पोखरामा सेन्टर विकेटमै अभ्यास गर्ने अवसर पायो । तर, पोखराको पिच रातो माटोको छ । प्रतियोगिताको आयोजना हुने त्रिवि मैदानमा कालो माटोको विकेट छ । ‘रातो माटो र कालो माटोको पिचले गर्ने व्यवहार फरक हुन्छ । त्यसैले हामी अवसर पाएसम्म त्रिवि मैदान, त्यो नभए मूलपानीकै मैदानमा भए पनि कालो माटोको पिचमा अभ्यास गर्नका लागि पोखराको बन्द प्रशिक्षण छोट्याएका हौँ,’ कप्तान ज्ञानेन्द्रले भने । 

कमल पहिलोपटक राष्ट्रिय टोलीमा
नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । शुक्रबार घोषित टोलीमा युवा खेलाडी कमलसिंह ऐरी स्थान बनाउन सफल भएका छन् । कुशल मल्ल र कमल पहिलोपटक एकदिवसीय राष्ट्रिय टोलीमा प्रवेश पाएका हुन् । कुशलले यसअघि नै टी–२० टोलीमा स्थान बनाइसकेका छन् । यसै साता इनरुवामा भएको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कुशलले त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गर्दै एपिएफविरुद्ध १११ रन बनाउनुका साथै दुई विकेटसमेत लिएका थिए । सो प्रतियोगितामा १९६ रन उनले पाँच विकेट पनि हात पारे । कुशलसँग तीन टी–२० अन्तर्राष्ट्रिय खेलको अनुभव छ । उनले २०१९ को सेप्टेम्बरमा सिंगापुरमा भएको सिरिजमा जिम्बावेविरुद्ध डेब्यु गरेका थिए ।  

राष्ट्रिय टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, करण केसी, आरिफ सेख, विनोद भण्डारी, अभिनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुसन भारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी