मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पक्राउ परेका जाजरकोट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी
२०७६ माघ ११ शनिबार ०८:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आठ लाख घुससहित गाउँपालिका  अध्यक्ष र उपाध्यक्षका श्रीमान् पक्राउ

सडक निर्माणको भुक्तानी  बिल पास गरिदिन उपभोक्ता समितिसँग मागेका थिए घुस

Read Time : < 1 मिनेट
२०७६ माघ ११ शनिबार ०८:००:००

सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ परेका छन् । केसीलाई उपभोक्ता समितिसँग लिएको आठ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलीले शुक्रबार वीरेन्द्रनगर–७ कटकुवाबाट पक्राउ गरेको हो । अध्यक्ष केसीसँगै गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेका छन् । 

प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका केसी बैठक नै छाडेर उपभोक्ता समितिका सदस्यसँग घुस लिन कटकुवा पुगेका थिए । यो सूचना पाएपछि अख्तियारको टोली पनि पछिपछि लागेको थियो । अख्तियारको टोली पुग्दा केसी र बस्नेतले उपभोक्ता समितिका सदस्यसँग आठ लाख घुस लिइसकेका थिए । 

उपभोक्ता समितिका पदाधिकारीकै सहयोगमा गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान् बस्नेतलाई दिउँसो २ बजे कटकुवा हेल्थपोस्टनजिकै पक्राउ गरिएको अख्तियार सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले बताए । ‘घुसबापतको रकम लिइसकेपछि उनीहरूलाई पक्राउ गरिएको हो,’ प्रवक्ता सापकोटाले नयाँ पत्रिकासँग भने ।

उनीहरूले जुनिचाँदे–५ का विभिन्न उपभोक्ता समितिमार्फत भएको कामको बिल पास गराउन घुस लिने गरेका थिए । काम गरेको बिल पेस गर्दा भुक्तानीका लागि घुस माग्ने गरेको उजुरी आएको अख्तियार कार्यालय सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए । 

उनीहरूलाई अख्तियारले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ । ‘घुससहित नियन्त्रणमा लिएका दुवैलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको छ,’ पौडेलले भने ।