मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १० शुक्रबार १८:१७:००
Read Time : > 1 मिनेट
समाचार

उपत्यकाका ट्राफिकमा अन्तर कार्यालय प्रतिस्पर्धा, धेरै कारबाही गर्ने पुरस्कृत हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १० शुक्रबार १८:१७:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको काम कारबाही थप प्रभावकारी बनाउन अन्तर इकाई कार्य सम्पादन परीक्षा प्रणाली सुरु भएको छ । जिम्मेवारीको नम्बर नै तोकेर महाशाखाले उपत्यकाका ट्राफिक प्रहरी इन्चार्जसँग सम्झौता गरेको छ ।

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही तथा गतिविधिलाई चार खण्डमा विभाजन गरी ४ सय पुर्णाङ्कमा मूल्याङ्कन गरी पुरस्कार र कारबाही गर्न लागिएको छ । कार्यालय व्यवस्थापन, प्रहरी आचरण व्यवहार एवं अनुशासन बापत २५ अंक, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्युनिकरणबापत दुई सय अंक, सवारी चोरी एवं सवारी दुर्घटनासम्बन्धी अनुसन्धानमा ६० अंक र सिर्जनशिल एवं उपलब्धिमूलक कार्य सम्पादनबापत १ सय १५ अंक राखिएको छ ।

ट्राफिक प्रहरीका आफ्ना हरेक काम कारबाहीको वस्तुनिष्ठ आधारमा वास्तविक मूल्याङ्क गरी व्यवसायिकता, स्तरीयता एवं कार्य सम्पादनमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ महाशाखाले सम्पूर्ण इकाईसँग अन्तर इकाई कार्य सम्पादन परीक्षाको करार सम्झौता गरिएको महाशाखाका प्रमुख एसएसपी भिम ढकालले बताए । ३-३ महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गर्ने महाशाखाको कार्यक्रम छ ।

‘कार्य सम्पादन करार सम्झौताले ट्राफिक प्रहरीलाई कामको प्रतिस्पर्धात्मक भावना बोकेर आफ्नो व्यवसायिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमताको विकास गर्दै कार्य सम्पादनको स्तरलाई अझै प्रभावकारी, पारदर्शी एव जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ,’ एसएसपी ढकालले भने, ‘ट्राफिक प्रहरी कर्मचारीले गरेका हरेक गतिविधि र प्रत्येक काम कारबाहीबापत त्यसको मूल्य तोकी नम्बर दिने परिपाटीको थालनी गरी पुरस्कृत गर्नाले कामको वास्तविक लेखाजोखा हुँदा प्रतिस्पर्धाको भावनामा वृद्धि भई काम गर्ने थप हौसला प्रदान हुने र समग्र ट्राफिक व्यवस्थापनमा सुधार हुने हाम्रो विश्वास छ ।' 

अन्तर इकाई कार्य सम्पादन परीक्षा २०७६ मा कार्यालयको उचित व्यवस्थापन गर्दै नागरिक मैत्री व्यवहार, भ्रष्टाचारमा शून्य सहनशिलता, बिगतकाे भन्दा दुर्घटनामा न्युनिकरण गरेमा, मा.प.से. गरी सवारी चलाउनेलाई कारबाही गरेमा, लेन अनुशासन उल्लंघनकर्तालाई कारबाही एवं कार्यान्वयन गरेमा धेरै नम्बर पाउनेछन् । विभिन्न खालका ट्राफिक नियम उल्लंघनकर्तालाइ कारबाही, दुर्घटना गरी फरार भएका सवारी साधन तथा चालक पक्राउ गरेमा, चोरीका सवारी साधन पक्राउ र अनुसन्धान गरेमा, दुर्घटनामा चालक, सह चालक, यात्रुको सुरक्षा तथा उद्दार गरेमा, नागरिकलाई ट्राफिक सचेतना कक्षा, बढी भाडा लिने, मिटरमा नजानेलाई नियन्त्रण र कारबाही गरेमा र लापरबाहीलगायत चालकलाई कारबाही गरेमा नम्बर बढ्नेछ ।

यस्तै, अवस्था ठिक नभएका र तिब्र गतिमा सवारी चलाउने ट्रिपरलाई नियन्त्रण एवं कारबाही गरेमा, भाडाका सवारी साधनमा यात्रुमैत्री हुने गरी गरेको सुधार, आरक्षण सिटको व्यवस्थापन, सवारी जाम कम गर्न गरिएको प्रयास, निषेधित स्थानमा पार्किङ्ग गर्नेलाई कारबाही गर्दै पार्किङ्ग व्यवस्थापनलगायतका प्रत्येक कार्यमा नम्बर दिने व्यवस्था मिलाइएको छ । चार सय पूर्णाङ्कको यस प्रतियोगितामा ८०.५ भन्दा माथि ल्याउने विशिष्ट श्रेणी तोकिने र उनीहरुलाई पुरस्कृत गरिने एसपी जीवन श्रेष्ठले बताए ।

प्रथम श्रेणी ल्याउनेलाई प्रशंसा पत्र दिइने, दोस्रो हुनेलाई सान्त्वना र तृतीय हुनेलाई थप सुधारका लागि सचेत गराइने तर भ्रष्टाचार गरेमा, आर्थिक अनियमितता वा त्यस्तै प्रकारको गल्ती गरेमा विभागीय कारबाहीका अतिरिक्त प्राप्त भएको अंकमा २० अंकसम्म घटाइने प्रावधान राखिएको छ ।