मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १० शुक्रबार १८:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सामूहिक राजीनामा बुझाएका चार पाइलटद्वारा नाम फिर्ताको माग

Read Time : > 1 मिनेट
२०७६ माघ १० शुक्रबार १८:१२:००

नेपाल वायुसेवा निगममा सामूहिक राजीनामाको ज्ञापनपत्र बुझाएका २५ पाइलटमध्ये चार जनाले ज्ञापनपत्रबाट नाम फिर्ता मागेका छन् । निगमका अपरेसन विभाग प्रमुख क्याप्टेन दीपु जुहार्चनका अनुसार चार जनाले पत्रकारितामार्फत राजनीतीकरण भएको भन्दै ज्ञापनपत्रबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

फिर्ता गर्नेमा रुविन्द्र शेरचन, एनबी विश्वकर्मा, समाजकुमार श्रेष्ठ, राजेश कुशवाहा छन् । नेपालको एक मात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई एकपछि गर्दै अर्को संकट आइलागेको छ । ३७ अर्बको घाटामा रहेको निगमको कार्यकारी प्रमुख पद रिक्त भएसँगै ६१ बर्से इतिहासमा पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा दिन सक्ने भन्दै ज्ञापन पत्र पेस गरेका थिए । 

तीन महिनासम्म माग पूरा नभए सामूहिक राजीनामा दिन बाध्य हुने उनीहरूको एकमत छ । विदेशी र स्वदेशी पाइलटको सेवासुधिमा चरम भेदभाव भएको भन्दै उनीहरूले पटकपटक व्यवस्थापनलाई भन्दै आएका थिए । करारमा रहेका विदेशी पाइलटमाथि हुने फजुल खर्च रोक्नुपर्ने माग उनीहरूको छ । 

यसबारे अपरेसन विभाग प्रमुख जुहार्चन विदेशी पाइलट राख्ने कुरा हवाई सुरक्षाको विषयसँग पनि सम्बन्धित भएको बताउँछन् । ‘एकजना यात्रुले नेपाली भन्दैमा दुई सय घण्टा उडाएको भन्दा पनि हजार घण्टा उडाएको पाइलट नै खोज्छन् । यो सुरक्षासँग जोडिएको छ । ए३२० सिरिजको जहाजमा ९ जना विदेशी पाइलट थिए । घटेर ३ जनामा झरेका छन् । यो त समयक्रमसँगै घट्दै जाने कुरा हो ।’ उनले थपे, ‘नेपाली पाइलटलाई आजै तालिम दिएर भोलि नै उडाउन सक्षम भइहाल्ने होइन ।’

राजीनामा दिने निष्कर्षमा पुगेर स्वीकृत भएमा अन्तर्राष्ट्रिय उडान ठप्प हुने सँगै पाइलटलाई पनि जागिर पाउन गाह्रो हुने वरिष्ठ क्याप्टेन डिआर निरौलाले बताए । ‘परिवार छोडेर यहाँ आएका विदेशी र नेपाली पाइलटको सुविधामा केही फरक पक्कै हुन्छ तर आकाश जमिनको फरक हुनु हुँदैन’, उनले भने, ‘कि त सरकारले करारमा धमाधम विदेशी पाइलट ल्याएर संख्या पूर्ति गर्न सक्नुप¥यो’ । सामूहिक राजीनामा स्वीकृत भएमा सरकारलाई नै ठूलो घाटा हुन सक्ने उनले बताए ।

‘लामो समयसम्म प्रभावकारी हुने निर्णय लिएर यसलाई मिलाउनुपर्छ’, पाइलटहरूको यो कदम उनीहरू आफैंमा निकै चुनौतीपूर्ण त छँदै छ, सँगै आउँदो पुस्तालाई यसले केही राहत दिन सक्छ ।’ 

विदेशी र नेपलाी पाइलटमा चरम विभेद भएको भन्दै निगमका २५ जना पाइलटले सामूहिक राजीनाको ज्ञापनपत्र बुझाएका थिए । वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दसमक्ष सामूहिक राजीनामा बुझाएका हुुन् ।

निवर्तमान कार्यकारी अध्यक्ष मदन खरेलले माघ ५ गते राजीनामा दिएपछि निगमको अध्यक्ष पद रिक्त छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई बोर्ड सदस्य नियुक्त गरेको छ । अधिकारीको अध्यक्षता माघ १२ गतेपछि मात्रै लागू हुनेछ । त्यसपछिमात्रै बोर्ड मिटिङमा यस एजेन्डाबारे छलफल हुने अधिकारीले बताए ।