१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १० शुक्रबार १८:२४:००
Read Time : > 1 मिनेट
समाचार

कांग्रेस संस्थापन पक्ष आफैंले गरेको निर्णय सच्याउन तयार, महाधिवेशन भने तोकिएकै मितिमा हुने

Read Time : > 1 मिनेट
२०७६ माघ १० शुक्रबार १८:२४:००

नेपाली कांग्रेसको संस्थापन पक्ष यसअघि आफैले गरेको निर्णय सच्याउन तयार भएको छ । यससँगै कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान हुने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा शीर्ष नेताहरूबीच शुक्रबार करिब ६ घण्टा बसेको बैठकले बहुमतका आधारमा गरिएको ११ पुसको निर्णय परिमार्जन गर्न संस्थापन पक्ष तयार भएपछि आन्तरिक समस्या समाधान भएको हो । 

कांग्रेस केन्द्रीय कार्य समितिको ११ गते बसेको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्य समितिको पदावधि ६ महिना थप गर्ने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने लगायतका निर्णय गरेको थियो । 

कांग्रेसमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ औं महाधिवेशन यसअघि बहुमतको आधारमा तोकिएको मितिमा नै गर्ने सहमति भएको छ । पौडेल पक्षका नेता प्रकाशमान सिंहले पुस ११ गते केन्द्रीय कार्य समितिको बैठकबाट गरिएका निर्णयहरू परिमार्जनसहित सोमबार बस्ने केन्द्रीय कार्य समितिको बैठकमा पेश गर्ने सहमति भएको जानकारी दिए । 

‘पुस ११ गतेको निर्णय सच्याउन हामीले माग गरे अनुसारको सहमति भएको छ । महाधिवेशनको कार्य तालिकालाई परिमार्जन गरेर केन्द्रीय कार्यसमितिको बैठकमा ल्याइने सहमति पनि भएको छ’ नेता सिंहले भने । महामन्त्री पूर्णबहादुर खड्काले पनि ११ गतेको निर्णयको आवश्यक परिमार्जन गरी केन्द्रीय कार्यसमितिमा पेश गर्ने सहमति भएको जानकारी दिए ।

‘२०७७ फागुन ७ देखि १० सम्ममा तोकिएको पार्टीको १४ औं महाधिवेशन त्यहि मितिमा गर्ने  र  बाँकी कार्य तालिका र कार्य विधिका हकमा आवश्यक परिमार्जन गरि आगामी केन्द्रीय कार्यसमितिमा पेश गर्ने सहमति भएको छ,’ महामन्त्री खड्काले भने । 

पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ) का विषयमा पनि सहमति भएको छ । केन्द्रीय कार्य समितिले तोकेको यस अघिको निर्णयमा सभापति देउवाले आवश्यक परामर्श गरी नेविसंघ केन्द्रीय समिति गठन गर्ने सहमित भएको महामन्त्री खड्काले जानकारी दिए । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, डा. मीनेन्द्र रिजाल, रमेश लेखक उपस्थित थिए ।  

विवाद समाधानका लागि यसअघि पार्टी उपसभापति निधि, नेताद्वय सिंह र सिटौलाले विभिन्न चरणमा बैठक बसि सहमतिको प्रयास गरेका थिए । प्रवक्ता विश्वप्रकाश शर्माले पनि कांग्रेसको आन्तरिक विवाद समाधान नजिक पुगेको बताए । उनले भने ‘कांग्रेसको आन्तरिक जीवनमा केही समय यता जारी विवाद समाधान नजिक पुगेको छ ।’ प्रवक्ता शर्माले संवादबाट सहमति र १४ औं महाधिवेशनका लागि घनिभुत छलफल जारी रहेको  बताए ।

याे पनि पढ्नुहाेस्

कांग्रेसले सोमबारका लागि बोलायो बैठक