मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो
अरिष्मा मोक्तान काठमाडाैं
२०७६ माघ १० शुक्रबार १५:४१:००
Read Time : > 2 मिनेट
समाचार

दबाब झेल्न नसकेर काेरियामा आत्महत्याको बाटो रोज्छन् नेपाली

Read Time : > 2 मिनेट
अरिष्मा मोक्तान काठमाडाैं
२०७६ माघ १० शुक्रबार १५:४१:००

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका पाँचथर फिदिम नगरपालिका–२ लालिखर्कका विवेक राईले झुण्डिएर आत्महत्या गरे । रोजगारीका सिलसिलामा कोरिया पुगेका उनी बंगुर फर्ममा काम गर्थे । केही महिनाअघि बिदामा नेपाल आएका थिए, उनी । साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फर्मभित्रै झुण्डिएको अवस्थामा फेला परेका थिए । 

त्यस्तै, तनहुँका नरबहादुर रानाको दुर्घटनामा परी ज्यान गयो । आफ्नै कम्पनीको छिगेछा (गह्रँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी उनको मृत्यु भएको थियो । चार वर्ष १० महिना कोरिया बसेर नेपाल आएका उनी पनि भर्खरै फिरेका थिए । 

आकर्षक कमाइ र सुरक्षित गन्तव्य कोरियामा नेपाली युवाको आकर्षण बढ्दो छ । नेपालले श्रम सम्झौता गरेका देशमध्ये सबैभन्दा आकर्षक गन्तव्य कोरिया रहेको इपिएस कार्यालयका निर्देशक कृष्णप्रसाद खनाल बताउँछन् । ‘नेपाली युवाको हकहितलाई ध्यानमा राखेर कोरियाले रोजगारी दिएको छ’, उनले भने, ‘कोरिया रोजगारीले धेरै नेपालीको प्रगति भइरहेको छ।’ प्रगति त छँदै छ । सँगै कतिपको काम गरेकै ठाउँमा या रोजगारीकै क्रममा अकालमा ज्यान गइरहेको छ । 

सन् २००८ देखि २०२० सम्म कोरियामा ज्यान गुमाउनेको संख्या एक सय ११ पुगेको छ । जसमध्ये सुतेको अवस्थामा मृत्यु भएका २५, आत्महत्या २२, कार्यस्थल दुर्घटना १४, सडक दुर्घटना ८, सवारी दुर्घटना ३, झगडा २ र कारण नखुलेको ३७ रहेको इपिएस कार्यालयको तथ्यांकमा उल्लेख छ । हालसम्मको तथ्यांक हेर्दा, प्रत्येक वर्ष कोरियाबाट मात्रै लगभग नौ जना नेपालीको शव नेपाल भित्रिने गर्छ । 

किन राेज्छन् आत्महत्या ? 

निर्देशक खनालका अनुसार सोचेअनुसार आम्दानी नहुँदा अधिकांश नेपाली कामदारमा निराशा छाएको छ । साथै रोजगारदाता कम्पनीले भनेअनुसार काम उपलब्ध नगराउँदा पनि धेरै जसो नेपाली काम फेर्न बाध्य हुने र मन नलागी नलागी काम गर्न विवश छन् ।

जसले उनीहरुको मानसिक अवस्था बिग्रिरहेको हुन्छ । ‘कतिपय युवाले नेपालमा केही काम गरेका हुँदैनन्, काम गर्ने बानी नभएपछि त्यहाँको कार्य तालिकाअनुसार काम गर्न सक्दैनन्’, खनाल भन्छन्, ‘पारिवारिक तनावका कारण पनि अनेकखाले समस्या निम्तिरहेको हुन्छ, जसले उनीहरुमा थप हीनताबोध उत्पन्न हुन जान्छ ।’

आत्महत्या मात्र होइन, कोरियामा सुतेकै अवस्थामा पनि धेरैको ज्यान गइसकेको छ । त्यहाँको हावापानी र कामको चाप इत्यादि कारण र अस्वस्थ जीवनशैलीका कारण पनि नेपालीको मृत्युदर बढिरहेको उनी बताउँछन् । तुलनात्मक रुपमा निर्माण क्षेत्रभन्दा औद्योगिक तथा पशुपालनतर्फ काम गर्नेको मृत्युदर बढिरहेको खनाल स्वीकार्छन् । 

‘औद्योगिक क्षेत्रमा ठूल्ठूला मेसिनमा काम गर्न बानी नपर्दा पनि धेरै नेपालीमा समस्यामा छन्’, उनले भने, ‘हरेक पल ध्यान दिएर हेर्नुपर्ने हुन्छ, अलिकति तलमाथि मात्र भयो भने ज्यान गुमाउने सम्भावना धेरै हुन्छ ।’

के गर्दैछ सरकार ?

प्रत्येक वर्ष रोजगारीको खोजीमा कोरिया पुग्ने नेपालीलाई नेपाल सरकारले विदेश जानुपूर्व अभिमुखीकरण तालिम दिने गरिएको खनाल बताउँछन् । ‘हामीले जानुपूर्व दिने भनेको नै अभिमुखीकरण तालिम हो’, उनले भने, ‘नेपालमा मात्र नभई कोरिया पुगेर पनि त्यहाँको रोजगारदाताले २-३ दिन तालिम दिने गरेको छ ।’

कोरियामा आत्महत्या तथा सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि नेपालबाट मनोरोग तथा मुटुरोग विशेषज्ञ टोली कोरिया पठाइएको थियो । उक्त टोलीले युवाले ज्यान गुमाउनु र जानुमा पारिवारिक दबाब नै मुख्य कारण भनी निष्कर्ष निकालेको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्म कुमार भुसालले बताए ।

कोरियामा कारण नखुलेको मृत्युको संख्या अधिक भएकाले कोरियास्थित नेपाली दूतावाससँग थप अध्ययन गरी निष्कर्ष निकाल्ने विषयमा छलफल भइरहेको उनले बताए । भने, ‘यस विषयमा विदेशिएका युवाको परिवारलाई विभागबाट सामाजिक परामर्श सेवा दिँदै आइरहेका छौँ ।’