मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १० शुक्रबार ११:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

 हरिकुमारी  भन्छिन् ‘छोरी बचाऊँ कि जग्गा ?’

Read Time : > 1 मिनेट
२०७६ माघ १० शुक्रबार ११:३८:००

कुखुरा पाल्न बनाइएको अस्थायी टहरा । जस्ताको छानो, त्रिपालकै बारमा बास । रकम अभावका कारण भूकम्पले ढालेको घरको जग उठिसकेको छैन । ऋण लिएर थालेको कुखुरापालन व्यवसायले पनि चुर्लुम्म डुबायो ।

दिमागमा ट्युमर पलाएको छोरीको उपचारमै लाखौं रकम सकियो । ऋणमाथि ऋण, तर न छोरीलाई निको भयो, न बैंकसँग लिएको ऋण तिर्न सकियो । नीलकण्ठ नगरपालिका ४ धादिङकी हरिकुमारी श्रेष्ठको थोरै भएको जग्गा जमिन पनि लिलामी हुने भएको छ । 

आम्दानीको बाटो नभएपछि श्रीमान् शिवनारायण श्रेष्ठको नाममा श्री सृजना पोल्टी फर्म दर्ता गरी कुखुरापालन सुरु गरेकी थिइन् उनले । कृषि विकास बैंकबाट कुखुरापालन गर्ने उद्देश्यले पहिलो पटक दुई लाख र अर्काे पटक पाँच लाख रुपैयाँ ऋण थपेको उनी बताउँछिन् । 

अहिले चार लाख तीन हजार दुई सय ४५ रुपैयाँ ब्याज र ९ लाख ५० हजार रुपैयाँ सावाँ तिर्न बाँकी छ । ‘कुखुरा पाल्दा उल्टै ऋण बढ्यो’, हरिकुमारी श्रेष्ठ भन्छिन्, ‘सुरुमा हालेको एक हजार कुखुरा राम्रै भएको थियो, बैंकको ब्याज पनि तिरेको थिएँ, तर पछि एउटै कुखुरा बेच्न पाइनँ । खर्च मात्र भयो आम्दानी शून्य ।’ व्यवसाय घाटामा गएपछि उनले बैंकको किस्ता तिर्न सकिरहेकी छैनन् । 

विगत दुई वर्षदेखि छोरी सम्झनाको दिमागमा ट्युमर पलायो । ‘उपचारमा तीन लाख सकिसक्यो, कतिखेर अस्पताल दौडाउनुपर्छ पत्तै हुन्न । हरेक साता जस्तै काठमाडौं लैजानुपर्छ’, हरिकुमारी छोरी सम्झेर दुःख सुनाउँछिन् । भूकम्पको अनुदानसमेत १६ वर्षीय छोरीको उपचारमा सकेको उनले सुनाइन् । ‘गाउँ तथा इस्टमित्रसँग पैसा मागेर छोरीको उपचार गर्दै छु । न छोरीलाई लागेको रोग निको भयो, न ओत लाग्ने छानो फेर्न सकियो’, लामो सास फेर्दै उनले बताइन् । 

 ६/७ वर्ष अगाडि लिएको ऋण तिर्न नसक्दा बैंकले जग्गा लिलाम गर्न लागेको भन्दै उनी भन्छिन्, ‘छोरी बचाऊँ कि जग्गा ।’३ छोरी १ छोराकी आमा उनलाई सुकुमबासी हुने पीरले सधैं सताइरहन्छ । भन्छिन्, ‘बैंकलाई टाउको लुकाउने झुपडीचाँहि छाड्दिनु भनेको छु । उठीबास लागे म कहाँ जाऊँ ।’  उनी थप्छिन्, ‘छोरीलाई औषधि उपचारमा मात्रै महिनामै थोरैमा १० हजार खर्च हुन्छ । रोग निको बनाउने अन्तिम विकल्प भनेकै अपरेसन हो भनेर डाक्टरले भन्या छन्, पैसा छैन । कसैको सहयोग पाए छोरी बाँच्थ्की कि ।’