१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ १० शुक्रबार १०:०३:००
Read Time : > 4 मिनेट
अर्थ

सिर्जनामा होइन, बौद्धिक सम्पत्ति चोरीमै उद्यत उद्योगी 

Read Time : > 4 मिनेट
२०७६ माघ १० शुक्रबार १०:०३:००

ट्रेडमार्क, डिजाइन र पेटेन्ट चोरीविरुद्ध २ हजारभन्दा बढी उजुरी, विश्वका प्रायः चर्चित सबै उत्पादनको नक्कल 

  • भारतीय युनाइटेड ब्रुअरीले किङ फिसर ब्रान्डको आफ्नो बोतल अर्कै कम्पनीले प्रयोग गरेको भन्दै उद्योग विभागमा उजुरी दियो । अनुसन्धान गर्दा हिमालयन ब्रुअरीले किङ फिसरको बोतल प्रयोग गरेको भेटिएपछि विभागले त्यसो नगर्न निर्देशन दिएको छ । तर, कुनै कारबाही गरेन ।

 

  • बिकाजी भुजिया भारतको चर्चित ब्रान्ड हो । तर, वीरगन्जका एक व्यापारीले बिकाजीकै नाममा कम्पनी खोली उस्तै लोगोसमेत राखेर उत्पादन गरे । उनले उक्त उत्पादनको ट्रेडमार्कसमेत दर्ता गराए । पछि बिकाजी आएर विभागमा मुद्दा हाले । अहिले यो मुद्दा अदालतमा पुगेको छ । 

 

  • भारतीय युनिलिभरका विभिन्न उत्पादनको नक्कल वस्तु नेपालमा निर्वाध रूपमा बिक्री–वितरण भएको पाइएपछि विभागमा उजुरी पर्‍यो । हालै मात्र युनिलिभरका पोन्ड्स, लेक मी, फेयर एन्ड लभ्लीलगायतका कस्मेटिक सामानको ट्रेडमार्क चोरी तथा नक्कल गरेको भन्दै सस्तो कस्मेटिक, आचल कस्मेटिक र गौतम स्टोरलाई उद्योग विभागले कारबाही गर्‍यो । 

 

  • अमेरिकी कम्पनी नर्थफेसले आफ्नो ट्रेडमार्क चोरी भएको भन्दै विभागमा उजुरी दियो । नर्थफेसले नेपालमा नर्थफेसका नाममा कहाँ–कहाँ उत्पादन र बिक्री हुन्छ भन्ने विस्तृत विवरण नै दियो । तीन कम्पनीविरुद्ध विभागमा मुद्दा परेको छ । जसको फैसला हुन बाँकी छ । नेपालमा अर्बौँ रुपैयाँबराबरका नर्थफेसका सामग्री उत्पादन भइरहेका छन् । तर, यी सबैलाई कारबाहीको दायरामा ल्याउँदा समस्या हुने देखिएपछि विभागले पहिले तीन कम्पनीको मुद्दा टुंग्याएपछि मात्र थप कारबाही अगाडि बढाउने योजना बनाएको छ । 

 

  • जापानको बहुराष्ट्रिय कम्पनी कन्साई नेरोल्याक पेन्ट्सले विश्वभर आफ्नै ट्रेडमार्कमा पेन्ट्स उत्पादन गर्दै आएको छ । नेपालमा भने कन्साईले ‘केएनपी’ ट्रेडमार्क प्रयोग गरिरहेको छ । कन्साई नेरोल्याकको ट्रेडमार्क नेपालकै व्यवसायी श्रवणकुमार गोयलले दर्ता गराएपछि नेरोल्याकले पनि केएनपी रोज्नुपरेको छ । सुरुमा नेपालमा कन्साई नेरोल्याकमै ब्रान्डिङ गरेको थियो । तर, गोयलले मुद्दा हाले, कन्साईले बाध्य भएर केएनपीमै रिब्रान्डिङ गर्नुपरेको थियो । यो मुद्दा पनि सर्वोच्च अदालतमा छ । 

 

नेपाली उद्योगी उत्पादन सिर्जनामा भन्दा अर्काको उत्पादनको नक्कल गर्न उद्यत बन्दै गएको देखिएको छ । केही वर्षयता उद्योग विभागमा निरन्तर रूपमा बढ्दै गएको बौद्धिक सम्पत्तिविरुद्धको उजुरीले नेपाली उद्योगी सिर्जनामा कमजोर बन्दै गएको देखिएको हो । विभागमा गत वर्ष मात्रै बौद्धिक सम्पत्तिविरुद्धका ८ सय १३ वटा मुद्दा दायर भएका छन् । साउनयताको चार महिना मात्र १ सय ३० वटा उजुरी परेका छन् । हालसम्म २ हजार ५ सयभन्दा बढी उजुरी परेको छ । त्यसमध्ये ७ सय मुद्दाको फैसला भइसकेको छ । 

अमेरिका र युरोपका विभिन्न मुलुकले नेपाललाई बौद्धिक सम्पत्ति चोरीमा अग्रपंक्तिमा राख्ने गरेका छन् । त्यसैले उनीहरूले दुईपक्षीय वार्तामा नेपालसँग आफ्ना उत्पादन, ट्रेडमार्क, लोगो तथा डिजाइन संरक्षणको प्रत्याभूति माग्ने गरेका छन् । तर, नेपालमा वौद्धिक सम्पत्तिको संरक्षण भने झन् कमजोर भएको सरकारी तथ्यांकले देखाएको छ । 

यस वर्ष मात्रै नर्थफेस, बिकाजी भुजिया, भिसा इन्टरनेसनल, क्याडबरी चकलेट, किङ फिसरलगायत चर्चित ब्रान्डले बौद्धिक सम्पत्ति चोरी भएको र नेपालमा सो ब्रान्ड दर्ता भएको भन्दै विभागमा उजुरी दिएका छन् । 

आर्थिक वर्ष ०७३/७४ मा बौद्धिक सम्पत्ति चोरीविरुद्ध ६ सय ४३ वटा उजुरी परेका थिए । गत आर्थिक वर्ष ०७५/७६ मा आइपुग्दा यस्तो उजुरीको संख्या ८ सय १३ पुगिसकेको छ । बौद्धिक सम्पत्तिसम्बन्धी चेतना अभिवृद्धिका कार्यक्रम चलाए पनि उद्यमीमा सिर्जना गर्नेभन्दा बढी नक्कल गर्ने प्रवृत्ति हाबी देखिएकाले बौद्धिक सम्पत्ति चोरीविरुद्धका उजुरी बढेको उद्योग विभागका निर्देशक टंकबहादुर महत बताउँछन् । ‘तैपनि, पछिल्लो समय चोरी कम भएका छन्,’ उनले भने । 

उद्योग विभागले ट्रेडमार्क दर्ताका लागि आएका आवेदनविरुद्ध दाबी–विरोधसहितको उजुरी हाल्नका लागि प्रत्येक महिना सूचना सार्वजनिक गर्ने गरेको छ । आवेदन सार्वजनिक गरेपछि विश्व बौद्धिक सम्पत्ति संगठन (वाइपो) सँग आबद्ध जुनसुकै मुलकका कम्पनीले पनि दाबी–विरोधसहित उजुरी गर्न सक्छन् । त्यसो त दर्ता भइसकेका बौद्धिक सम्पत्तिविरुद्ध पनि उजरी गर्न सक्छन् । तर, विदेशी कम्पनीले नेपालमा पहिले दर्ता गरेका रहेनछन् र नेपाली कुनै उद्योगीले विदेशीको जस्तै ब्रान्ड दर्ता गरेको रहेछ भने विदेशी कम्पनीको दाबी लाग्दैन । पहिले दर्ता गर्ने नेपाली उद्योगीले नै प्राथमिकता पाउनेछ । 

विदेशी ब्रान्ड नेपालमा दर्ता नभए के हुन्छ ? 
अहिले ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२’ अनुसार बौद्धिक संरक्षणसम्बन्धी नियमन गरिँदै आएको छ । उक्त कानुनअनुसार कुनै पेटेन्ट वा ट्रेडमार्कउपर अधिकार प्राप्त गर्न चाहने व्यक्तिले सो पेटेन्ट वा ट्रेडमार्क यस ऐनबमोजिम आफ्नो नाममा दर्ता गराउनुपर्छ ।

कानुनले नेपालमा जुनसकुै बौद्धिक सम्पत्तिमाथिको अधिकार सबैभन्दा पहिले जसले दर्ता गराउँछ, त्यसकै हुने व्यवस्था गरेको छ । नेपालमा दर्ता नगरी हक नलाग्ने कानुनी व्यवस्था छ ।

अर्थात् यसलाई यसरी बुझाैं, मानौँ, नेपालमा ‘लेज’ को उत्पादक कम्पनीले दर्ता गरेको छैन । तर, नेपाली उद्योगी–व्यवसायीले नेपालमा ‘लेज’ को दर्ता गरी उत्पादन र बिक्री–वितरण गर्न थालेमा के हुन्छ ? विदेशी ‘लेज’ कम्पनीले उद्योग विभागमा उजुरी गरे पनि त्यसको सुनुवाइ हुनेछैन । नेपाली कम्पनीले नै प्राथमिकता पाउँछ । विदेशी ‘लेज’ कम्पनीले नेपालमा सबैभन्दा पहिले आफ्नो ब्रान्ड दर्ता गराएमा मात्र उसले बौद्धिक सम्पत्तिमाथिको अधिकार दाबी गर्न सक्नेछ । 

कसैले विश्वकै चर्चित ब्रान्ड नेपालमा दर्ता गराउँछ भने नेपालमा उक्त ब्रान्डमाथिको अधिकार उत्पादक कम्पनीको भन्दा पनि दर्ता गराउने व्यवसायीको पहिलो हुनेछ । यस्तै, कानुनी छिद्र प्रयोग गरी नेपालमा नेरोल्याक, कुरकुरे, बिकाजीलगायत विभिन्न ब्रान्डको ट्रेडमार्क दर्ता भएका हुन् । 

उद्योगी–व्यवसायीमा नक्कल गर्ने प्रवृत्ति हाबी छ : टंकबहादुर महत
निर्देशक, उद्योग विभाग 

तुलनात्मक रूपमा पछिल्लो समय बौद्धिक सम्पत्तिको चोरी घट्दै गइरहेको छ । दर्ताको आवेदनविरुद्धको उजुरी बढेको छ । तर, चोरी र त्यसविरुद्धको मुद्दा घटिरहेको छ । बढ्दो चेतना, विभागको सजगताले यस्ता गतिविधि कम भइरहेको छ । नेपाली उद्यमी–व्यवसायीमा अझ पनि नक्कल गर्ने प्रवृत्ति नै हाबी छ, यसमा सुधार आउन जरुरत छ ।

के हो औद्योगिक बौद्धिक सम्पत्ति ? 
बौद्धिक सम्पत्ति भन्नाले वस्तु तथा पदार्थको अविष्कार, कुनै वस्तुको निश्चित छाँट वा रूप, वस्तु वा सेवाको पहिचान दिने गरी बनाइएको शब्द, चिह्न वा चित्र भन्ने बुझिन्छ । 
औद्योगिक बौद्धिक सम्पत्तिअन्तर्गत पेटेन्ट, डिजाइन र ट्रेडमार्क पर्छन् । पेटेन्ट भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिका तथा नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कार सम्झनुपर्ने हुन्छ । 

त्यस्तै, ‘डिजाइन’ भन्नाले कुनै प्रकारले तयार गरी बनाइएको वस्तुको छाँट, रूप वा आकार सम्झनुपर्छ । ‘ट्रेडमार्क’ भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादन वा आफूले प्रदान गर्ने सेवालाई फरक देखाउन प्रयोग गरिने शब्द, चिह्न वा चित्र वा शब्द, चिह्न र चित्रलाई बुझाउँछ ।
 
कानुनमा के छ ? 

-‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२’ अनुसार बौद्धिक संरक्षणसम्बन्धी नियमन गरिँदै आएको छ । उक्त कानुनअनुसार कुनै पेटेन्ट वा ट्रेडमार्कउपर अधिकार प्राप्त गर्न चाहने व्यक्तिले सो ‘पेटेन्ट’ वा ‘ट्रेडमार्क’ ऐनबमोजिम दर्ता गराउनुपर्छ । नेपालमा दर्ता नगरी हक नलाग्ने कानुनी व्यवस्था छ ।

-दर्ता भएको कुनै पेटेन्ट, डिजाइन वा टेडमार्कको सम्बन्धमा कसैले यस ऐनको उल्लंघन गरे दर्तावालाले वास्तविक रूपमा सहनुपरेको नोक्सानीको उचित रकम सो उल्लंघन गर्ने व्यक्तिबाट विभागले हर्जाना भराइदिन सक्छ ।

-कानुनविपरीत पेटेन्ट वा ट्रेडमार्क चोरी भएमा विभागको आदेशअनुसार १ लाख रुपैयाँसम्म जरिवाना हुन्छ ।  

कर्मचारीकै मिलोमतोमा चोरी
व्यवसायी र विभागका कर्मचारीकै मिलोमतोमा ट्रेडमार्कलगायत बौद्धिक सम्पत्तिको चोरी हुने गरेको विदेशी कम्पनीका प्रतिनिधिको आरोप छ । ‘अरू त अरू फेसबुकको नाममा समेत रक्सी उत्पादन र बिक्री भएको देखिन्छ, यस्ता विश्वचर्चित ब्रान्ड पनि नेपालमा दर्ता गराउन दिने कर्मचारी नै हुन्,’ विभागमा भेटिएका एक विदेशी कम्पनीका प्रतिनिधिले भने, ‘कर्मचारीले सामान्य सोधखोज गर्ने हो भने बौद्धिक सम्पत्तिको चोरी र दर्ता हुनै सक्दैन ।’