मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १० शुक्रबार ०७:२१:००
Read Time : > 1 मिनेट
राजनीति

प्याकेज सहमतितिर नेकपा–राजपा

Read Time : > 1 मिनेट
२०७६ माघ १० शुक्रबार ०७:२१:००

राष्ट्रिय सभा निर्वाचनमा अपेक्षित परिणाम आएपछि नेकपा र राजपाले सहकार्यलाई निरन्तरता दिन ‘प्याकेज’ सहमतिका लागि प्रयास अघि बढाउने भएका छन् । प्रदेश २ मा नेकपा–राजपा गठबन्धनबाट दुई–दुई सांसद निर्वाचित भएसँगै विश्वासको आधार खडा भएको भन्दै दुवै दलका नेताहरूले सहकार्यका लागि प्याकेज सहमतिसहित अघि बढ्ने ढोका खुलेको टिप्पणी गरेका छन् ।

राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले राष्ट्रिय सभाको निर्वाचन भरखर सकिएकाले अब अन्य विषयमा छलफल हुने बताए । ‘राष्ट्रिय सभा निर्वाचनको परिणामले एउटा विश्वासको वातावरण तय गरेकै हो,’ यादवले भने, ‘यद्यपि, अहिले नै के हुन्छ सबै भन्न सकिन्न । हेरौँ, अब कसरी आपसी छलफल अगाडि बढ्छन् ।’ उपसभामुखसहित अन्य समसमायिक राजनीतिक अवस्थामा नेकपासँग अनौपचारिक कुराकानी चलिरहेको यादवले स्वीकार गरे पनि नेकपा र राजपाबीच हुन लागेका सहमतिका विषय भने खुलाउन चाहेनन् । 

नेकपा र राजपाबीच २ पुसमा राष्ट्रिय सभा निर्वाचनमा संयुक्त उम्मेद्वारी दिने तथा आगामी दिनमा सहकार्यका लागि प्रयास गर्ने दुईबुँदे सहमति भएको थियो । अब दुवै दल संघ र प्रदेश सरकारमा हुन सक्ने प्याकेज सहमतिका लागि प्रयासरत छन् । मंगलबार मात्रै लक्ष्मणलाल कर्ण सभामुखका उम्मेदवार अग्नि सापकोटाको समर्थक बनेपछि उपसभामुखमा राजपालाई सहयोग गर्न नेकपा तयार भएको स्रोतको भनाइ छ । राजपा स्रोतका अनुसार नेकपाले प्रदेश २ देखि संघीय सरकारसम्म सहमतिका लागि प्रस्ताव राखेको छ । राजपा भने नेकपाले उपभामुखमा सघाएपछि प्याकेज सहमति गर्ने कि त्योभन्दा पहिले भन्नेमा द्विविधामा छ । नेकपा १२ माघको सभामुख निर्वाचनसँगै सबै विषयमा सहमति गर्न जोडबल गरिरहेको छ । 

राजपाले प्याकेजमा सहमतिका लागि तीनवटा सर्त राखेको छ । जसमा कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनको क्रममा लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनका लागि दुईमहिने कार्यतालिका अहिले नै सार्वजनिक गर्नुपर्ने माग छ । ‘हामीले त्यत्तिकै नेकपासँग सहमति गरेर सरकारमा जाने कुरा गरेका छैनौँ,’ राजपा केन्द्रीय सदस्य अनिल महासेठले भने । नेकपाले सर्तहरू स्वीकार नगरेसम्म सहमति नहुने महासेठको भनाइ छ । 

नेकपाले प्रदेश २ को सरकार परिवर्तन गर्ने प्रस्ताव राखेपछि राजपाभित्र गम्भीर समीक्षाको विषय बन्न पुगेको छ । राजपाले नेकपासँग मिल्दा प्रदेशमा मुख्यमन्त्री पाउने निश्चित छ । अहिले राजपाभित्र समाजवादीसँगको गठबन्धन भत्काउँदा पर्न सक्ने प्रभाव र असरको लेखाजोखा भइरहेको छ । प्रदेशमा समाजवादी र राजपाको गठबन्धन भए पनि उपेन्द्र यादव एक्लै केन्द्रको सरकारमा सहभागी भएका थिए । राजपा र नेकपाबीचमा राष्ट्रिय सभामा तालमेलसहित दुईबुँदे सहमतिपछि यादव सरकारबाट बाहिरिएका थिए । 

राजपाका अध्यक्षमण्डलका एक सदस्यका अनुसार पछिल्लो समय नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेलसँग राजपा नेताहरूको अनौपचारिक छलफल बाक्लिएको छ । यस विषयमा नेकपा महासचिव पौडेलले अहिले केही भन्न नसकिने बताए । ‘हामीहरूबीच जे भएको छ, त्यो खुला नै छ । र, प्याकेजमै भाको छ,’ पौडेलले भने, ‘अब के हुन्छ ? त्यो अहिले भन्न सकिन्न ।’