मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ ८ बुधबार १९:४५:००
Read Time : < 1 मिनेट
समाचार

सर्लाहीका उखु किसान आन्दोलित

Read Time : < 1 मिनेट
२०७६ माघ ८ बुधबार १९:४५:००

सरकारले सम्झौता गरेको समय अवधिमा पनि भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसान आन्दोलित बनेका छन् । विज्ञप्ति जारी गरेर सरकार आफैँले गरेको सम्झौता आफैँले कार्यान्वयन नगराएको भन्दै उखु किसान संघर्ष समितिले खेदसमेत प्रकट गरेको छ ।

संघर्ष समितिले बुधबार सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी दुई दिनमा सरकारले किसानको खातामा पैसा जम्मा नगरे विभिन्न चरणका आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । सरकारले किसानको माग तत्काल सम्बोधन गरेर भुक्तानी नगरे कडा आन्दोलनमा उत्रिने समितिका संरक्षक राकेश मिश्रले बताए । पत्रकार सम्मेलनमा किसानहरूले उद्योगीले जस्तै सरकारले पनि आफूहरूलाई झुक्याएको आरोप लगाए ।

सरकार किसानप्रति कठोर बनेर उद्योगीप्रति उदार बनेको प्रष्ट भएको भन्दै संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले किसानलाई थाहै नदिई उद्योगीलाई मन्त्रालयमा भेट्न बोलाएर सहमति गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उखु किसान मुकेशकुमार ठाकुरले सरकारले दोहोरो चरित्र देखाएको भन्दै अब आफूहरूको आन्दोलन सरकारप्रति लक्षित हुने बताए ।

माघ ९ भित्र सहमतिअनुसार माग पूरा नभए १० गते कृषकले कालोपट्टी बाँधेर खेतमा काम गर्ने, ११ देखि १७ गतेसम्म गाउँ–गाउँमा किसान जनजागरण अभियान गर्ने र १८ गते गोडैता नगरपालिकामा भुक्तानी नपाएका किसानहरूको बृहत भेला गरेर काठमाडौं केन्द्रीत आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ । सर्लाहीका उखु किसानले सरकारले दिने भनेको अनुदान बापतको ३५ करोड पाउन सकेका छैनन् । विभिन्न चिनी उद्योगले भुक्तानी गरेको भनिएको रकम पनि सामान्य किसानको जस्ताको तस्तै राखेर ठेकेदारको मात्र भुक्तानी गरिएको आरोप संघर्ष समितिको छ ।