मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बिष्णु शर्मा दैलेख
२०७६ माघ ८ बुधबार १९:२०:००
Read Time : < 1 मिनेट
समाचार

विद्यालय व्यवस्थापन समिति अध्यक्षबाटै पश्नपत्र आउट

Read Time : < 1 मिनेट
बिष्णु शर्मा दैलेख
२०७६ माघ ८ बुधबार १९:२०:००

डुगेश्वर गाउँपालिका–५ स्थित पिपल चौतारा माध्यमिक विद्यालयमा सामाजिक विषयको राहत शिक्षकको परीक्षामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर शाहीले नै प्रश्नपत्र आउट गरेको पाइएको छ ।

२६ पुसमा परीक्षा सञ्चालन भए पनि प्रश्नपत्र निर्माण गरेका वडासदस्यसमेत रहेका शाहीले २५ पुसमै फेसबुक म्यासेन्जरमार्फत परीक्षामा सहभागी घनश्याम भण्डारीसहित पाँच जनालाई प्रश्न र टिकमार्कको उत्तर समेत पठाएको पाइएको हो । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, नियुक्ति गरिएका विज्ञहरू, विद्यालय निरीक्षकलगायतले प्रश्नपत्र तयार पारेका थिए । प्रश्नपत्र समितिका अध्यक्ष शाहीले फोटो खिचेर परीक्षामा सहभागीहरूलाई पठाएको स्थानीयले थाहा पाएपछि अख्तियारमा उजुरी गरेका थिए । सोही आधारमा अख्तियारले छापा मारेको जानकारी प्राप्त भएको स्थानीय श्याम रानाले बताए ।

म्यासेन्जरमार्फत प्रश्नपत्र नै पठाएको प्रमाणसहित स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतमा निवेदन दर्ता गराएपछि अख्तियारले छानबिन सुरु गरेको हो । म्यासेन्जरमा औँलाको स्पष्ट चित्र देखिएपछि सम्बन्धित सबैसँग बयान लिने काम भएको डुगेश्वर गाउँपालिकाले जानकारी दिएको छ । संलग्न सम्बन्धित सबैसँग अनुसन्धान गरिएको र सोधपुछका कामहरूसमेत भइरहेको पालिकाका एक कर्मचारीले बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र खड्काले परीक्षामा आफू आमन्त्रित सदस्यका रूपमा गएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्रश्नपत्र आउट गरेको जानकारी आफूले पछि मात्र पाएको बताए । गाउँपालिकाका निमित्त शिक्षा प्रमुख बिष्णु शर्माले पालिकाको तर्फबाट परीक्षा लिने स्थानमा गएको भए पनि आफूलाई अन्य विषयमा कुनै जानकारी नभएको बताए । डुगेश्वरमा विद्यालय निरीक्षक नभएकाले आफू खटिएको भन्दै भूपेन्द्र भण्डारीले क–कसको के सेटिङ थियो आफूलाई थाहा नभएको बताए ।