मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार १७:५४:००
Read Time : > 1 मिनेट
अर्थ

उखु किसानलाई भुक्तानी नदिने चिनी मिलको खाता रोक्का हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ८ बुधबार १७:५४:००

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का गर्ने भएको छ । मन्त्रालयले गत १८ पुसमा उखु किसानहरुसँग गरेको सम्झौताअनुसार उद्योगहरुबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योगहरु अझै सम्पर्कमा नआएकोले आर्थिक कारोबार रोक्का गर्न लागिएको जानकारी दिएको हो ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण सुगर एण्ड जनरल ई प्रालि, इन्दीरा सुगर एण्ड एग्रो ई प्रालि, बाबा बैजुनाथ चिनी उद्योग, लुम्बिनी चिनी उद्योग, श्रीराम सुगर मिल्स लगायतका उद्योगको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी गरिएको जानकारी दिए ।

सम्पर्कमा नरहेका उद्योगहरुको बैंक खाता समेत रोक्का हुने उनले बताए । ती उद्योगहरुलाई सम्पर्कमा ल्याइदिन उद्योग मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । प्रवक्ता भट्टराईका अनुसार बाबा बैजुनाथ चिनी उद्योग, वाग्मती खाँडसारी चिनी मिल्स, महाकाली सुगर, लुम्बिनी चिनी उद्योगका सञ्चालकहरु सम्पर्कमा आएका छैनन् । अन्नपूर्ण सुगर र इन्दीरा सुगरका सञ्चालक राकेशकुमार अग्रवाल सम्पर्कमा रहे पनि ४२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्नुपर्नेमा जम्मा ४ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेकाले आर्थिक कारोबार रोक्का गरी अनुसन्धान गर्न लागिएको भट्टराईले बताए । अन्नपूर्णले विद्युत प्राधिकरणको समेत काम गरिरहेकोले प्राधिकरणलाई मन्त्रालयमा जानकारी गराएर मात्र भुक्तानी गर्न पत्राचार गरेको छ ।

त्यस्तै श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भए पनि किसानसँग जग्गा विक्री गरेर भुक्तानी गर्ने सम्झौता गरेकोले अनुसन्धान गर्न लागिएको उनले जानकारी दिए । लुम्बिनी चिनी उद्योगका सञ्चालक मनिष अग्रावलको मृत्यु भएकाले उक्त उद्योग कसले सञ्चालन गर्छ भन्ने जानकारी नभएको मन्त्रालयले जनायो ।

मन्त्रालयले उखु किसानसँग गत पुसमा गरेको सम्झौतामा चिनी मिल सञ्चालकहरुबाट ७ माघ भित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो ।