१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ८ बुधबार ०६:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

ग्यास हिटरले निसास्सिएर दामनको रिसोर्टमा आठ  भारतीय पर्यटकको मृत्यु

Read Time : > 2 मिनेट
२०७६ माघ ८ बुधबार ०६:२४:००

केरलाबाट आएका १५ जनाको समूह, जसमध्ये चार बालबालिका र चार वयस्कको मृत्यु भएको छ

मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा सुतेकै अवस्थामा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । केरलाबाट घुम्न आएका १५ मध्ये एउटै कोठामा सुतेका दुई परिवारका सबै आठ सदस्यको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ३९ वर्षीय प्रवीणकृष्ण नायर, उनकी ३४ वर्षीया श्रीमती सरजया, दुई छोरी ६ वर्षीया अर्चा र चार वर्षीया भद्र तथा छोरा अभिनव छन् । त्यस्तै ३९ वर्षीय रञ्जित कुमार, उनकी ३१ वर्षीया श्रीमती इन्दु र दुई वर्षीय छोरा वैस्नभ छन् । 

कोठाको सबै झ्यालढोका बन्द गरेर ग्यास हिटर बालेर सुतेकाले अक्सिजन कमीले निसास्सिएर ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘एउटै कोठामा धेरै व्यक्ति बसेको र झ्यालढोका थुनेर हिटर चलाएको देखिन्छ । अक्सिजन कमीले नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ,’ मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले भने । 

प्रहरीका अनुसार केही दिनअघि नेपाल आएको यो टोली पोखरा घुमेर बा.३क ३६८८ नम्बरको पर्यटक बसमा आइतबार साँझ दामन आएको थियो । उपयुक्त होटेल खोज्ने क्रममा उनीहरू पानोरमा रिसोर्ट पुगेका थिए । साना बालबच्चा पनि भएकाले कोठामा एसी भए–नभएको सोधे । रिसेप्सनिस्टले एसी नभए पनि प्रत्येक बेडमा इलेक्ट्रिक हिटर भएको जनाएपछि त्यहीँ बस्ने निधो गरे । १११, ११२, ११३ र ११५ नम्बर कोठा बुक गरे ।

साँझ खानपिन सकेपछि उनीहरू सुत्न कोठातिर लागे । चिसो कोठा भएकाले इलेक्ट्रिक हिटर बाले । तर, साना केटाकेटीलाई चिसोबाट जोगाउन इलेक्ट्रिक हिटरको तातोले नपुगेको भन्दै रिसेप्सनमा पुगेर अर्को हिटर मागे । रिसेप्सनिस्टले हिटर पर्याप्त नभएकाले उपलब्ध गराउन नसक्ने बताए । तर, चिसोबाट केटाकेटी जोगाउन भए पनि हिटर चाहिने जोड गरेपछि होटेलले उपलब्ध गरायो । 

१११ नम्बर कोठामा हिटर राखियो । केटाकेटीसहित ११२ नम्बर कोठामा सुतेको परिवार पनि हिटर भएकै कोठामा आयो । हिटर बालेर, कोठा र बाथरुमका सबै झ्यालढोका बन्द गरेर उनीहरू सुते । सोमबार बिहान ७ बजे ११५ नम्बरबाट १५ जनाका लागि चिया अर्डर भयो । पहिले सोही कोठामै चिया आयो, जहाँ जयकृष्ण जय, अस्तवी पसभन्ना, गौरी लक्ष्मी, आस्वाले र राजकुमार युके थिए । बाँकी चिया १११ मा लैजान भने । वेटरले ढोका ढकढक्याए, तर खुलेन । उनी ११५ नम्बर कोठामै फर्केर ढोका नखुलेको जानकारी गराए । उनीहरू आएर ढोका ढक्ढक्याउँदा पनि खुलेन । फोडेर हेर्दा सबै ओछ्यानमै अचेत भेटिए । तत्काल प्रहरी बोलाए । ९ बजेतिर प्रहरी आएपछि उद्धारका लागि हेलिकोप्टर मगाइयो । काठमाडौंको ह्याम्स अस्पताल ल्याइएका बेहोस सबैलाई डाक्टरले मृत घोषणा गर्‍यो । 

सबै मृतकको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । कागजी प्रक्रिया पूरा भएपछि पोस्टमार्टम प्रक्रिया बढाइने महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डिएसपी उमेश लम्सालले बताए । ‘मृतकका आफन्त अहिलेसम्म सम्पर्कमा नआउँदा शव बुझाउन सकिएको छैन,’ उनले भने, ‘कागजी प्रक्रिया पनि बाँकी छ, त्यसपछि मात्रै पोस्टमार्टम होला ।’ 

चिसो रिसोर्टमा एसी नहुनुको परिणाम 
पानरोमा रिसोर्ट जंगलको बीचमा चिसो ठाउँमा छ । तर, होटेलले कोठामा एसीको व्यवस्था गरेको छैन । भारतीय पर्यटकले बेड हिटरले चिसो नथेगेको भन्दै ग्यास हिटर मागेको र जबर्जस्ती लगेको रिसोर्टका म्यानेजर शिव केसीले पनि स्विकारे । 

‘हामीले पटक–पटक एसी राखेका हौँ, तर विद्युतीय समस्या र चट्याङका कारण जोखिम बढेपछि हटाएका हौँ,’ केसीले भने, ‘ओछ्यान तात्ने हिटर हुँदाहुँदै उहाँहरूले चिसो भयो भनेर जबर्जस्ती ग्यास हिटर लैजानुभयो । त्यसैले दुर्घटना निम्त्यायो ।’

कोठाभित्र हिटर र आगो बाल्दा अपनाउनुपर्ने सावधानी 
कोठामा आगो ताप्दा सावधानी अपनाउन डाक्टरले सुझाब दिएका छन् । झ्यालढोका बन्द गरेर लामो समयसम्म आगो ताप्दा कोठामा कार्बोन मोनोअक्साइड उत्सर्जन हुने भएकाले स्वास्थ्यका लागि खतरा हुने शुक्रराज ट्रपिकल अस्पताल टेकुका डा. शेरबहादुर पुनले बताए । उनका अनुसार अक्सिजनभन्दा कार्बोन मोनोअक्साइड गह्रुङ्गो हुन्छ । यो अवस्थामा तातिएको अक्सिजन हल्का भएर सिलिङतिर जान्छ । सतहको ठाउँ कार्बोन मोनोअक्साइडले लिन्छ । यो रगतमार्फत शरीरमा फैलिएपछि अक्सिजनलाई रोक्छ । यतिवेला मानिस बेहोस हुन्छ र मुटुको चाल बन्द भएर ज्यानै जान्छ । त्यसैले लामो समयसम्म बन्द कोठामा आगो नताप्न र ताप्नै झ्यालढोका खोल्न उनको सुझाब छ ।