मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बाल यौन दुराचार गरेर लुक्न नेपाल आएका अमेरिकी नागरिक नाथन बेडफोर्ड माकाब्स्कीलाई लैजान युएस मार्सल सर्भिसले चार्टर गरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।
२०७६ माघ ८ बुधबार ०७:२९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

पासपोर्ट फालेर नेपालमा अवैध रूपमा बस्दै आएका अमेरिकी पक्राउ

एक वर्षमा नेपालबाट २३ अमेरिकी निकालिए

Read Time : > 2 मिनेट
२०७६ माघ ८ बुधबार ०७:२९:००

नेपालीहरू अवैध माध्यमबाट अमेरिका प्रवेशपछि पासपोर्ट फालेर शरणार्थीका रूपमा बस्न खोज्ने प्रवृत्ति नयाँ होइन । मेक्सिकोको सीमाबाट त्यसरी अवैध रूपमा छिरेर अमेरिका गएर लुक्ने नेपालीको संख्या ठूलो छ । नेपाली अमेरिका गएर लुक्ने मात्र होइन, कतिपय अमेरिकीसमेत लुकिछिपी नेपालमा बस्ने गरेको पाइएको छ । 

पासपोर्ट फालेर यसरी नेपालमा बस्दै आएका एक अमेरिकी नागरिक सोमबार काठमाडौंमा पक्राउ परेका छन् । गाँजा खाएर होहल्ला गरेको अवस्थामा अमेरिकी नागरिक हेनी योङलाई पर्यटक प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ । उनी अवैध रूपमा नेपालमा बस्दै आएको र पासपोर्टसमेत नभेटिएको अध्यागमन विभागका अधिकृत वैकुण्ठ रेग्मीले बताए । 

यसरी नेपालमा अवैध रूपमा लामो समय बस्ने उनी एक्ला अमेरिकी होइनन् । सन् २०१९ मा नेपालमा भिसाको अवधि सकिएर अवैध रूपमा बस्दै आएका २३ जना अमेरिकी नागरिकलाई सरकारले निष्कासन गरेको छ । एक वर्षमा नेपालमा पर्यटकहरूले एक सय ५० दिन बस्न पाउँछन् । अमेरिकासँग भिसा पारस्पारिकताका आधारमा एक सय ८० दिनसम्म बस्न पाउँछन् । त्योभन्दा लामो अवधि बसेकालाई मात्र अध्यागमन विभागले जरिवाना गरेर निष्कासन गर्छ । ‘अमेरिकीहरू प्रायः लागुऔषध, बाल यौन दुराचार मुद्दामा नेपालमा पक्राउ पर्छन्,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘कतिपय अपराध गरेर लुक्न आएकालाई पनि हामीले पक्राउ गरेर फिर्ता गरेका छौँ ।’ अमेरिकामा बाल यौन दुराचार गरेर लुक्न नेपाल आएका एक अमेरिकीलाई लैजान अमेरिकी सरकारले प्लेन नै चार्टर्डसमेत गरेको थियो । 

सन् २०१९ मा नेपालबाट निष्कासित हुने विदेशीमा तेस्रो स्थानमा अमेरिकी छन् । पहिलो स्थानमा चिनियाँ र दोस्रो स्थानमा इरानी भएको अध्यागमन विभागले जनाएको छ । नेपालमा बसेर कानुन मिच्ने विदेशी नागरिकमाथि कारबाही बढाइएको विभागका महानिर्देशक पौडेलले बताए । उनी भन्छन्, ‘विकसित देशका नागरिकसमेत नेपालमा वर्षौँदेखि अवैध रूपमा बस्दै आएको पाइयो,’ उनी भन्छन्, ‘त्यस्ता विदेशीमाथि हामीले निगरानी बढाएका छौँ ।’ 

कूटनीतिक पासपोर्ट नै नक्कली
आफूहरूलाई कूटनीतिक क्षेत्रका कर्मचारी भन्दै नेपाल छिरेका गिनीका एक दम्पतीलाई अध्यागमन विभागले पक्राउ गरेको छ । उनीहरूको पासपोर्ट नै नक्कली भएको खुलेपछि विभागले थुनामा राखेर कारबाही अघि बढाएको हो । इमानुया, उनकी श्रीमती मायाम्बा र छोरा मिनिनालाई विभागले सोमबार पक्राउ गरेको हो । उनीहरू दुई महिनाअघि नेपाल आएका थिए । सुरुमा ३० दिनको भिसा लिएर छिरेकोमा पछि ३० दिनको थप गरेका थिए । दोस्रोपटक भिसाको म्याद थप गर्न खोज्दा शंका लागेर विभागले उनीहरूलाई हिरासतमा लिएको हो । दुवैजनालाई ५०/५० हजार जरिवाना गरेर निष्कासन गर्न लागिएको छ । कूटनीतिक पासपोर्ट भएकालाई भिसा शुल्क लाग्दैन । त्यही कारण पनि उनीहरूले नक्कली कूटनीतिक पासपोर्ट प्रयोग गरेको हुनसक्ने आशंका छ । उनीहरू दुई महिनासम्म नेपालमा के गरेर बसे भन्ने खुल्न सकेको छैन ।

 पाँच सय ७९ विदेशी निष्कासित 
सन् २०१९ मा अध्यागमन विभागले पाँच सय ७९ विदेशी नागरिकलाई निष्कासन गरेको छ । जसमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । एक वर्षको अवधिमा चार सय २० चिनियाँलाई निष्कासन गरिएको विभागले जनाएको छ । गत २३ पुसमा मात्र नेपालमा बसेर चीनमा अपराध गर्ने एक सय २२ चिनियाँलाई एकैपटक पक्राउ गरी निष्कासन गरिएको थियो । धेरैजसो चिनियाँ नागरिक ओभरस्टे (एक सय ५० दिनभन्दा लामो अवधि बसेको) मुद्दामा निष्कासनमा परेका छन् । पर्यटक भिसामा आएर चिनियाँहरू विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न हुने गरेका छन्, जसकारण नेपालमा चिनियाँप्रति नकारात्मक धारणा बढेको छ । 

बेलायत, जापान, स्विट्जरल्यान्ड, फ्रान्स तथा दक्षिण कोरियाका नागरिकलाई समेत नेपालबाट निष्कासन गरिएको छ । बेलायतका १६ जना तथा दक्षिण कोरियाका १५ नागरिकलाई नेपालबाट एक वर्षमा निष्कासन गरिएको छ । निष्कासनमा पर्नेहरूमा यौन दुराचार, एटिएम ह्याकिङ, लागुऔषध कारोबारजस्ता मुद्दामा संलग्न विदेशीसमेत छन् । 

 नक्कली पासपोर्ट लिन इरानीको भिड 
अवैध रूपमा युरोप छिर्न खोज्ने इरानीहरूको समेत गन्तव्य नेपाल बनेको छ । एक वर्षको अवधिमा २५ जना इरानीलाई पक्राउ गरी निष्कासन गरिएको छ । उनीहरू नक्कली पासपोर्ट र भिसाको आरोपमा पक्राउ परेका हुन् ।

युरोपियन देशको नक्कली पासपोर्ट लिएर उनीहरू पर्यटक भिसामा नेपाल आउने गरेका छन् । धेरैजसो अवस्थामा नेपाली कर्मचारीले नक्कली पासपोर्टसमेत चिन्दैनन् । नेपालबाट अर्काे देश जाने क्रममा फर्काइएपछि मात्र थाहा हुने गरेको छ । टर्कीमा रहेको गिरोहले उनीहरूलाई नक्कली पासपोर्ट बनाइदिने गरेको छ । इरानीहरूले नेपाललाई मानव तस्करीको ट्रान्जिटका रूपमा दुरुपयोग गरेपछि गृह मन्त्रालयले उनीहरूलाई ‘अन अराइभल भिसा’ नदिने प्रस्ताव गरेको थियो । तर, दुई देशबीच पुरानो कूटनीतिक सम्बन्ध रहेको भन्दै परराष्ट्र मन्त्रालयले त्यसमा असहमति जनाएपछि 

रोकिएको छ । पर्यटकको आवरणमा नेपाल आउने विदेशीहरू धर्म प्रचारदेखि गम्भीर किसिमका अपराधमा संलग्न हुन थालेपछि सरकारले गत वर्ष विदेशीमाथि अनुगमनको कार्यविधि नै बनाएको थियो । शंका लागेको स्थानमा अध्यागमन विभागले छापा हान्न सक्ने अधिकारसहित कार्यविधि बनेको थियो । कार्यविधि बनेपछि अनुगमन भने हुन सकेको छैन ।