मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ७ मंगलबार १७:०६:००
Read Time : > 1 मिनेट
समाचार

सभामुख निर्विरोध पाएको नेकपालाई उपसभामुख छान्न कठिन

Read Time : > 1 मिनेट
२०७६ माघ ७ मंगलबार १७:०६:००

लामो आन्तरिक कसरतपछि सत्तारुढ नेकपाले आइतबार (५ माघ) मात्र स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन सक्यो । अन्य दलबाट उम्मेदवारी नपरेकाले सापकोटा निर्विरोध सभामुख निर्वाचित भइसकेका छन् । भलै, यसको औपचारिक घोषणा चाहिँ १२ माघमा मात्र हुनेछ । 

कृष्णबहादुर महराको राजीनामापछि सभामुख चयन गर्न नेकपालाई जति सकस भयो, त्यस्तै सकस उपसभामुख चयनमा पर्ने देखिएको छ । सभामुख नेकपाबाट हुने भएपछि सम्बैधानिक प्रावधानअनुसार उपसभामुख अर्को कुनै दलबाट हुनुपर्छ । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मात्र होइन, मधेसवादी दलहरुले समेत उपसभामुख दावी गरेपछि उपसभामुखको उम्मेदवार कुन दलबाट बनाउने भन्ने निर्णय गर्न नेकपालाई अप्ठेरो परेको हो । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग मंगलबार बिहान भेटेर नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभामुखमा पार्टीको औपचारिक दावी पेश गरिसकेका छन् । प्रचण्डले पनि कांग्रेसलाई उपसभामुख दिने सम्बन्धमा नेकपा सकरात्मक रहेको विश्वास दिलाएको पौडेलले बताएका छन् ।  

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणका भनाइमा, दोस्रो ठूलो दल र प्रमुख प्रतिपक्षी भएकाले पार्टीले उपसभामुखका लागि गरेको दावी स्वभाविक हो । ‘उपसभामुखका लागि कांग्रेसले गरेको दावीलाई उहाँहरू (नेकपा)ले सहयोग र समर्थन गर्नुपर्छ’ खाणले भने, ‘उपसभामुख कांग्रेसबाटै हुनेछ भन्नेमा हामी आशावादी छौँ ।’

कांग्रेसले उपसभामुखको दावी मात्र गरेको छैन, सभामुखमा उम्मेदवारी नै नदिएर आफूलाई उपसभामुख दिन नेकपामाथि दबाबसमेत सिर्जना गरेको छ । पछिल्लो समय जनस्तरबाटै आलोचना खेपिरहेको सरकारविरुद्ध प्रमुख प्रतिपक्षलाई धेरै आक्रामक बन्न नदिन कांग्रेसलाई उपसभामुख दिनुपर्ने बाध्यता नेकपालाई छ । 

तर, कांग्रेसलाई सभामुख दिन नेकपालाई सहज भने छैन । किनभने, विपक्षी बेञ्चमा रहेपनि ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपासँग गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी (राजपा)ले उपसभामुखमा दावी गरेका छन् । 

‘राष्ट्रियसभा निर्वाचनमा नेकपा र राजपाबीच गठबन्धन बनेको छ, यो स्थितिमा उपसभामुखको जिम्मेवारी नेकपाले निर्वाचनमा गठबन्धन गरेको दल (राजपा)लाई दिनुपर्छ’ राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘त्यसैले, हामी पनि उपसभामुखको जिम्मेवारी पाउनेमा आशावादी छौँ ।’ 

अघिल्लो महिना मात्र सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालले भने दावी गरेको छैन । सो दलका सूचना तथा सञ्चार विभाग उपप्रमुख विश्वदीप पाण्डेका भनाइमा, अन्य दलले दिने उम्मेदवार हेरेर सो दलले निर्णय गर्नेछ । राष्ट्रिय जनमोर्चाले भने उपसभामुखका लागि गरेको प्रस्ताव अस्वीकार गरिसकेको छ ।

सापकोटा सभामुखको उम्मेदवार बनिसकेको स्थितिमा सम्बैधानिक प्रावधानअनुसार नेकपाले उपसभामुख पाउँदैछ । यो स्थितिमा उपसभामुखका लागि कांग्रेस र राजपा मुख्य दुई दावेदार देखिएका छन् । तर, संसदको बहुमत बोकेर बसेको नेकपालाई कांग्रेस, राजपा वा समाजवादी पार्टीमध्ये कुन दलबाट छान्ने भन्ने निर्णय गर्न नेकपालाई अप्ठेरो परेको छ । 

समाजवादी पार्टी नेपाललाई उपसभामुख दिने विषयमा नेकपा अध्यक्षद्वय प्रम केपी शर्मा ओली र प्रचण्ड दुवै सकरात्मक छैनन् । समाजवादी पार्टी भर्खर सरकारबाट बाहिरिएको र राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेकाले सो दललाई उपसभामुखको जिम्मेवारी नदिने विषयमा दुवै अध्यक्षबीच मतैक्यता छ । 

‘नेपाली कांग्रेस र राजपा दुवैले उपसभामुख दावी गरेका छन्’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘उपसभामुख कुन दलबाट बनाउने भन्ने निर्णय सम्भवतः सभामुख निर्वाचनपछि मात्र हुनेछ । सभामुख निर्वाचन प्रक्रिया १२ माघमा मात्र सकिने भएकाले त्यसपछि मात्र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।