मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ७ मंगलबार १०:१९:००
Read Time : < 1 मिनेट
प्रदेश

सुत्केरीलाई  नगरपालिकाको कोसेली 

Read Time : < 1 मिनेट
२०७६ माघ ७ मंगलबार १०:१९:००

स्वर्गद्वारी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि ‘उपमेयर कोसेली कार्यक्रम’ सञ्चालन गरेको छ । नगर क्षेत्रका गरिब, विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने गर्भवती तथा सुत्केरी महिलालाई उपहार प्रदान गर्न थालिएको हो । उपमेयर गोमा रेग्मीले एक सय ९२ महिलालाई उपहार प्रदान गरेर यो कार्यक्रमको सुरुवात गरेकी छन् ।

नगरका सातवटै स्वास्थ्य संस्थामा पुगेर उनले सुत्केरी महिलालाई हाइजनिक कीट, सेनेटरी प्याड, नेलकटर, तुथपेस्ट, ब्रस, बेबी बक्स, बेबी आयल, डेटोल साबुन, डेटोल झोललगायत सामग्री वितरण गरेकी हुन् ।

एकजना सुत्केरीबराबर करिब २५ सयको सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । कोचिवाङ, स्वर्गद्वारी, बर्जिवाङ, भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा पुगेर सुत्केरीलाई उपहार वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिए । 

गर्भ जाँच गराउनेलाई मात्र कोसेली
स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने र स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाले मात्रै कोसेली पाउने नगरपालिकाले जनाएको छ । यसअघि सेभ द चिल्डेनले पनि गर्भवती महिलाका लागि कोसेली कार्यक्रम सञ्चालन गरेको थियो ।

‘स्वास्थ्य संस्थामा गएर गर्भ जाँच र सुत्केरी हुने महिलाले मात्रै कोसेली पाउनेछन्,’ स्वास्थ्य शाखा प्रमुख केसीले भने । उपमेयर कोसेली कार्यक्रमका लागि नगरपालिकाले आर्थिक वर्ष ०७६/०७७ का लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।