१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ७ मंगलबार ०९:५५:००
Read Time : < 1 मिनेट
विश्व

जेपी नड्डा भाजपाको  ११औँ अध्यक्ष

Read Time : < 1 मिनेट
२०७६ माघ ७ मंगलबार ०९:५५:००

भारतीय जनता पार्टी (भाजपा)को नयाँ अध्यक्षमा जगतप्रकाश (जेपी) नड्डा निर्वाचित भएका छन् । भाजपाको राष्ट्रिय अध्यक्षका लागि सोमबार भएको चुनावमा उनको मात्र उम्मेदवारी परेकाले नड्डा निर्विरोध निर्वाचित भएका हुन् । ५९ वर्षीय नड्डा भाजपाको ११औँ अध्यक्ष हुन् । तत्कालीन पार्टी अध्यक्ष अमित साह गृहमन्त्री बनेपछि नड्डा सात महिनादेखि भाजपाको कार्यबाहक अध्यक्ष थिए । भाजपा नेताहरू अमित साह, राजनाथ सिंह र नितिन गड्कारीले अध्यक्षमा नड्डाको नाम प्रस्ताव गरेका थिए । उनी प्रधानमन्त्री नरेन्द्र मोदी र निवर्तमान अध्यक्ष अमित साहका विश्वासपात्रसमेत हुन् । 

भाजपाको विद्यार्थी संगठन अखिल भारत विद्यार्थी परिषद् (एबिभिपी)बाट राजनीति सुरु गरेका नड्डा १९९३ मा पहिलोपटक हिमाञ्चल प्रदेशबाट विधान सभामा निर्वाचित भएका थिए । उनी सन् १९९८ र २००७ मा पनि सोही प्रदेशबाट विधान सभामा निर्वाचित भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा मन्त्री बनेका उनी भाजपाको उच्च निर्णायक निकाय संसदीय बोर्डका सदस्यसमेत थिए । 

सन् २०१० मा भाजपाका तत्कालीन अध्यक्ष नितिन गडकारीले पार्टी महासचिवमा नियुक्त गरेपछि उनी राष्ट्रिय राजनीतिमा उदाएका थिए । सन् २०१२ को अप्रिलमा माथिल्लो सदन राज्यसभाको सदस्य बनेका उनी मोदीको पहिलो कार्यकालमा सन् २०१४ देखि सन् २०१९ सम्म स्वास्थ्यमन्त्री बने । सन् २०१९ को लोकसभा निर्वाचनमा नड्डा उत्तरप्रदेशको भाजपा निर्वाचन अभियानको इन्चार्ज थिए ।

समाजवादी पार्टी (एसपी) र बहुजन समाज पार्टी (बिएसपी)को महागठबन्धनका बाबजुद ८० सिटका लागि भएको लोकसभा निर्वाचनमा युपीबाट भाजपाले ६२ सिट ल्याएको थियो ।  नड्डाको जन्म सन् १९६० को डिसेम्बर २ मा पटनामा भएको थियो । पटनाको सेन्ट जेभियर स्कुलबाट विद्यालय तहको अध्ययन पूरा गरेका उनले पटना युनिभर्सिटीबाट स्नातक र हिमाञ्चल प्रदेश युुनिभर्सिटीबाट एलएलबी गरेका छन् ।