मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ७ मंगलबार ०९:३२:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

नेकपामा वामदेवको बढ्दो शक्ति

Read Time : > 6 मिनेट
२०७६ माघ ७ मंगलबार ०९:३२:००

नेकपाले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ । मौजुदा नियमावलीमा संगठन विभागको अधिकार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृत्वको संगठन विभागलाई दिएको छ । हाल नेकपाले आफूसँग आठ लाख सदस्य रहेको दाबी गरेको छ । 

पार्टी सचिवालय सदस्य गौतम नेकपाका संगठन विभाग प्रमुख र प्रस्तावित उपाध्यक्ष हुन् । उनलाई उपाध्यक्ष बनाउने गरी पुस पहिलो साता सम्पन्न स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित भएको छ । अब १५ माघमा बस्ने केन्द्रीय समितिबाट अनुमोदन भएपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन् । त्यस्तै, बैठकबाटै नियमावली संशोधनको प्रस्ताव अनुमोदन भएपछि गौतम उपाध्यक्ष र संगठन विभाग प्रमुखका रूपमा शक्तिशाली नेतासमेत हुनेछन् । यसअघि विभागलाई ६ वटा अधिकार रहेकामा थपिएर ११ बनाउन लागिएको छ । 

अहिलेको संगठनात्मक संरचनाअनुसार नेकपामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि तेस्रो वरीयतामा झलनाथ खनाल र चौथोमा माधवकुमार नेपाल छन् । नौ सदस्यीय सचिवालयमा गौतम पाँचौँ वरीयताका नेता हुन् । तर, नेकपाले संगठन विभागलाई शक्तिशाली बनाउने गरी बनाएको कार्ययोजनाले गौतमलाई ओली र प्रचण्डपछि पार्टी संगठनभित्र अधिकार क्षेत्रका हिसाबले ‘तेस्रो शक्तिशाली नेता’ बनाउन खोजेको देखिन्छ । 

प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभए राष्ट्रिय सभामा नजाने अडान लिएका गौतमले अब केन्द्रीय समितिको बैठकपछि सम्पूर्ण शक्ति पार्टी संगठन र कार्यकर्ताको परिचालनमा लगाउनेछन्, जुन उनका लागि अवसर र चुनौती दुवै हुनेछ । २२ वर्षअघि तत्कालीन एमालेमा उनले संगठन विभागको प्रमुख भएर काम गरेका थिए । संगठन विभाग पाएपछि उनमा महत्वाकांक्षा चुलिएर तत्कालीन महासचिव माधव नेपाललाई हटाउन हस्ताक्षर अभियान चलाएको र नेतृत्वमा पुग्ने नदेखेपछि पार्टी विभाजन गरेको आरोप लाग्ने गरेको छ । 

तर, गौतमनिकट नेताहरू उनको प्रस्तावित भूमिकाबाट नेकपा नयाँ उचाइमा पुग्ने दाबी गर्छन् । ‘वामदेव कमरेडको पृष्ठभूमि हेर्दा उहाँ एउटा कुशल संगठक हो, जुन काममा लाग्नुहुन्छ डेडिकेटेड (समर्पित) भएर लाग्ने र लागेको कामलाई फत्ते गरेरै छाड्नुहुन्छ,’ प्रस्तावित भूमिकापछि गौतमले चाल्ने कदमबारे निकट नेता बलराम बाँँस्कोटाले नयाँ पत्रिकासँग भने, ‘उहाँलाई जननेता मदन भण्डारीले उसैवेला वामदेवविनाको पार्टी लुलो हुन्छ भन्नुभएको होइन, भूमिकालाई मूल्यांकन गरेर हो, उहाँले संगठन परिचालनका माध्यमबाट नेकपालाई अवश्य नयाँ उचाइमा पुर्‍याउनुहुनेछ ।’ तर, राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘उनीसँग हिजो शास्त्रीय माक्र्सवाद थियो । अहिले त शास्त्रीय मार्क्सवाद पनि छैन । उनीसँग त्यस्तो विशिष्ट खालको कार्यक्रम पनि छैन । नयाँ खालको सिर्जना गर्न सक्ने क्षमता पनि छैन । उनीबाट संगठन हराभरा हुन्छ भन्ने  विश्वास छैन ।’

नेकपाले ३१ साउनमा गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेको संगठन विभाग बनाएको थियो । त्यसपछि २९ असोजमा विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी सदस्य थपिएर पाँच सदस्यीय बनाएको छ । नियमावलीअनुसार विभाग ३५ सदस्यीय रहने व्यवस्था छ । ३० असोजमा बसेको विभागको पहिलो बैठकले पार्टी नियमावलीमा संशोधन, संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम, पार्टीका नेता–कार्यकर्ता तथा सदस्यले पालना गर्नुपर्ने आचारसंहिताजस्ता विषयमा कार्ययोजना बनाई सचिवालयमा पेस गरेको थियो । त्यसअनुसार संगठन विभागलाई शक्तिशाली बनाउन नेकपाले पार्टी नियमावलीमै परिवर्तन गरेको छ, जुन नेकपाले ५ माघमा जारी गरेको ‘विशेष परिपत्र–७’ मा उल्लेख छ । परिपत्रअनुसार १३ पुसको सचिवालयले संगठन विभागले पेस गरेको कार्ययोजना परिमार्जनसहित पारित गरेको हो । अर्थात् संगठन विभागलाई बलियो बनाउने प्रस्ताव नेता गौतम आफैंले पार्टी सचिवालयमा लगेका थिए । 

संशोधित नियमावलीअनुसार अबदेखि संगठन विभागलाई केन्द्रीय कमिटीमातहतका पार्टी कमिटीहरूमा समस्या उत्पन्न भई समाधान हुन नसकेको अवस्थामा कुनै पनि कमिटीको बैठकमा भाग लिन पाउने र समस्या समाधानको पहलकदमी लिन पाउने अधिकार प्रस्ताव गरिएको छ । त्यस्तै, पार्टी विधान, नियमावली र संगठनात्मक सिद्धान्तबमोजिम कमिटीहरू सञ्चालित भए/नभएको जाँचबुझ गर्ने, पार्टी सदस्य तथा कमिटीहरूको चेतना, क्षमता र कामबारे जानकारी लिन र सम्बन्धित कमिटी एवं पदाधिकारीहरूलाई आवश्यक सुझाब दिन पनि सहभागी हुन पाउने अधिकार पनि प्रस्ताव गरिएको छ । 

त्यस्तै, आवश्यकताअनुसार पार्टीद्वारा प्रत्यक्ष सञ्चालित जनवर्गीय, सामुदायिक र अन्य संगठनहरूको अनुगमन, निरीक्षण र मूल्यांकन गरी सम्बन्धित संगठन तथा तिनका पदाधिकारीहरूलाई सुझाब दिन सक्ने अधिकारसमेत संगठन विभागले पाएको छ । केन्द्रीय कमिटीमातहतका कमिटी सदस्यहरूले पार्टी स्कुलद्वारा सञ्चालित कक्षाहरूमा नियमित रूपमा भाग लिए वा नलिएकोबारे जाँचबुझ गरी सम्बन्धित कमिटीका पदाधिकारीहरूकालाई आवश्यक सुझाब दिन सक्ने, सदस्यका लिखित गुनासा, उजुरी र सुझाब ग्रहण गर्न तथा आवश्यक कारबाहीका लागि सम्बन्धित कमिटीलाई सुझाब दिन सक्ने र केन्द्रीय कमिटीका निर्देशनहरू पालना गर्नेजस्ता अधिकार पनि गौतम नेतृत्वको विभागलाई थपिएको छ । 

नौ सदस्यीय सचिवालयमा गौतम पाँचौँ वरीयताका नेता हुन् । तर, नेकपाले संगठन विभागलाई शक्तिशाली बनाउने गरी बनाएको कार्ययोजनाले गौतमलाई ओली र प्रचण्डपछि पार्टी संगठनभित्र अधिकार क्षेत्रका हिसाबले ‘तेस्रो शक्तिशाली नेता’ बनाउन खोजेको देखिन्छ ।

त्यस्तै, २ जेठ ०७५ सम्म कायम रहेका संगठित सदस्यहरूलाई सदस्य मानी आगामी चैतभित्र सदस्यता नवीकरण गरिसक्ने परिपत्र पनि नेकपाले गरेको छ । त्यसअनुसार सबैको विवरण केन्द्रीय संगठन विभागमा उपलब्ध गराइसक्नुपर्ने निर्देशन दिइएको छ । सदस्यहरूको नवीकरण सम्पन्न भइसकेपछि आगामी असारभित्र करिब आठ लाख सदस्यलाई पार्टी कमिटी, निकाय वा विभागमा संगठित गर्ने संगठनात्मक कार्ययोजना परिपत्रमा उल्लेख छ ।

प्रशिक्षणसँगै संगठित सदस्यको अनिवार्य परीक्षा
नेकपाले पार्टी स्कुल विभागसँगको समन्वयमा सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्य र संगठित सदस्यहरूलाई पार्टीको विधान, राजनीतिक प्रतिवेदन तथा माक्र्सवाद–लेनिनवादका आधारभूत ज्ञानमा आधारित प्रशिक्षण दिने भएको छ । र, प्रशिक्षण कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई अनिवार्य रूपमा परीक्षामा सामेल गर्ने निर्देशन पनि गरेको छ । 

गुटबन्दी रोक्न नियमित बैठक
अध्यक्ष ओली र प्रचण्डले गुटबन्दी अन्त्यका लागि परिपत्र गरेका छन् । कम्युनिस्ट पार्टीमा ‘गुटबन्दी खतरनाक क्यान्सर रोग’ भएको उल्लेख गर्दै परिपत्रमा त्यसको अन्त्यका लागि कमिटीका पदाधिकारीले वैधानिक व्यवस्थाबमोजिम प्रस्ताव तयार गर्ने, निर्धारित समयमा पार्टी कमिटीको बैठक बस्नेजस्ता काम गर्न निर्देशन गरिएको छ । 

त्यस्तै, बैठकमा प्रत्येक सदस्यलाई खुलस्त रूपमा विचार व्यक्त गर्न दिने, बैठकमा व्यक्त विचारका आधारमा कसैप्रति कुनै पनि किसिमको असमान व्यवहार नगर्ने, पार्टीलाई वैधानिक व्यवस्था, स्थापित पद्धति र संस्थागत निर्णयका आधारमा सञ्चालन गर्ने काम गर्न पनि निर्देशन दिइएको छ । 

११बुँदे आचारसंहिता : पालना नभए कारबाही 
संगठन विभागकै प्रस्तावअनुसार अध्यक्ष ओली र प्रचण्डले नेता, कार्यकर्ता र सदस्यहरूले पालना गर्नुपर्ने ११ बुँदे आचारसंहिता जारी गर्दै पालना नगर्नेलाई कारबाही गर्न पनि निर्देशन दिएका छन् । निर्देशनमा श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नुपर्ने, कार्यविभाजन गर्दा सबैभन्दा अप्ठ्यारो कामको जिम्मा लिनुपर्ने, परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछुत पूर्ण रूपले अन्त्य गर्नुपर्ने, महिलाहरूलाई सम्मान गर्नुपर्ने उल्लेख छ । त्यस्तै, कसैलाई पनि हेला गर्नुनहुने, ‘तँ’ भन्न पूर्ण रूपले बन्द गर्नुपर्ने, छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउनुपर्ने, जन्मदिन व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घर परिवारमै सीमित गर्नुपर्नेजस्ता विषय समेटिएको छ ।

भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमुना बन्नुपर्ने, एक महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गरी सामूहिकताको भावना सिर्जना गर्नुपर्ने निर्देशन दिइएको छ । 

कार्यक्रममा मद्यपान, धुम्रपान र छाडा व्यवहारमाथि प्रतिबन्ध लगाउनुपर्ने कुरा समेटिएको परिपत्रमा भनिएको छ, ‘पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य हो । यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानुनसँग सम्बन्धित सवालमा कानुनबमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णयबमोजिम कारबाही गर्नुपर्दछ ।’

कसरी चलाउलान् संगठन ?

पार्टीलाई नयाँ उचाइ दिनुहुन्छ  : बलराम बाँस्कोटा (केन्द्रीय सदस्य नेकपा)

पृष्ठभूमि हेर्दा उहाँ एउटा कुशल संगठक हो । जुन काममा लाग्नुहुन्छ डेडिकेटेड (समर्पित) भएर लाग्ने र लागेको कामलाई फत्ते गरेरै छाड्ने नेता हो । काम गर्ने क्रममा गल्ती भइहाले पनि तत्काल करेक्सन गरिहाल्नुहुन्छ । 

तत्कालीन एमाले विभाजनपछि बनेको मालेले ०५६ को निर्वाचनमा राष्ट्रिय पार्टीको मान्यता पाए पनि निर्वाचनमा सबैतिर पराजय व्यहोर्‍यो । समीक्षाका क्रममा हामीले राम्रो जनमत पाएका छौँ, राष्ट्रिय पार्टी बनेका छौँ, मालेमा क्रिम साथीहरूको समूह छ, कमसेकम अर्को एउटा निर्वाचन हेरौँं भन्ने सुझाब दिएका थियौँ । त्यसका बाबजुद उहाँले तत्कालै विचार र सिद्धान्तमा एकै ठाउँ भएपछि एकताको विकल्प छैन भन्ने अडान छोड्नुभएन, पार्टी एकीकरण भयो । 

तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुपर्छ भन्नेमा एक्लो वृहस्पतिजस्तै हुनुहुन्थ्यो र महासचिव माधव नेपाललाई पनि कन्भिन्स गराउनुभयो । युवराज ज्ञवालीको साथमा रोल्पा पुगेर ६बुँदे सम्झौता गर्नुभो, त्यही जगमा माओवादी शान्ति प्रक्रियामा आउने गरी १२बुँदे सहमति भयो । रोल्पा सम्झौतापछि पार्टीभित्र उहाँमाथि कारबाहीको कुरा पनि उठ्यो, तर उहाँ विचलित हुनुभएन । 

राजाको शासनकालमा महासचिव माधव नेपाल जेलमै रहेका वेला पटकपटक चिठी लेख्नुभयो । एमाले र माओवादी एकीकरणमा पनि महत्वपूर्ण भूमिका खेल्नुभो । यद्यपि, उहाँ पनि एउटा मान्छेमा हुने अवश्य केही कमजोरीहरू छन् । पार नलाग्नेजस्तो देख्नेबित्तिकै सकारात्मक सोचका साथ अर्को विकल्पको खोजी गर्ने, मेच्युअर्ड स्थिति बनिसकेको छ कि छैन भन्ने पूर्ण मूल्यांकन नगरी अर्कोतिर लागिहाल्ने बानी छ । 

तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछि कुशल तरिकाले संगठनको काम गरेर पार्टीलाई बलियो बनाउनुभो । दुई ठूला पार्टी एकीकरण भए पनि भावनात्मक हिसाबले अझै एक नभएको परिस्थितिमा फेरि संगठन विभागको नेतृत्व पाउनुभएको छ । पार्टीलाई उचाइमा पुर्‍याउने गरी संगठन परिचालनको नेतृत्व गर्नुहुनेछ भन्ने लागेको छ । ०४६ पछि मदन भण्डारीले त्यतिवेलै वामदेवविनाको पार्टी लुलो हुन्छ भन्नुभएकै हो, उहाँको संगठन परिचालनको क्षमता देखेरै त्यसो भन्नुभएको होला । 

संगठन हराभरा हुने विश्वास छैन : हरि रोका (राजनीतिक विश्लेषक)

वामदेव गौैतमले ०५० को पेरीफेरीमा संगठनको काम गरे, राम्रै परिचालन गरे । ०५१ मा एमाले सरकार बन्यो । माधव नेपाल पार्टीको महासचिव भए । वामदेवलाई उपमहासचिव बनाइयो । त्यो नौ महिना पार्टी हाँकेका हुन् । संगठन परिचालन व्यवस्थित नै थियो, सकारात्मक रूपमै लिनैपर्छ । 

अहिले विशेष परिपत्रमा संगठनात्मक कार्ययोजना आएको छ, तर अहिलेको समयसँग मेल खाँदैन । पार्टी संगठनलाई पुनर्संरचना गर्नुपर्ने, संविधान र संघीयतामाथि विश्वास गर्नुपर्नेे अभ्यासमा लागेको देखिँदैन । संघीयता व्यवस्थित गरेर पार्टी संगठन निर्माण गर्नुपर्ने हुन्छ । प्रदेश कमिटीलाई अधिकार छोडेको देखिँदैन । सांगठनिक संरचना कस्तो बनाउने भन्ने परिपत्र बोल्दैन । पार्टीको मार्गदर्शक सिद्धान्त जनताको जनवाद भनिएको छ, परिपत्र मौन छ । सैद्धान्तिक तथा वैचारिक धेरै कुरा छैन । के परिवर्तन गर्ने, कस्तो माहोल तयार गर्ने, कति कार्यकर्ता कसरी परिचालन गर्ने ? खाका देखिँदैन । 

आचारसंहिता हास्यास्पद र उदेक लाग्दो छ । सांगठनिक ढाँचामा परिवर्तन ल्याउन छाडेर सँगै बसेर भात खाऊ, सँगै बसेर नाच भन्नुको के अर्थ ? अब ०५४ को तरिकाले संगठन चल्दैन । अबको संगठनको नीति, कार्यक्रम र सरकारमा बसेर के गर्ने भन्ने योजनासहितको चाहिन्छ । 

वामदेव अहिले धेरै कमजोर भइसके । पहिला सक्रिय थिए, परम्परागत संगठन निर्माणमा सक्षम पनि थिए । तर, अहिले ०५४ होइन, ०७६ हो । यति ठूलो ग्यापमा नयाँ पिँढीसँग, नयाँ अर्थनीतिसँग, नयाँ व्यवस्थापनसँग कहीँकतै घुलमिलै भएका छैनन् । अहिलेका नयाँ मान्छेको व्यवहार के हो ? घुलमिलै छैनन् । अनि कसरी संगठित गर्न सक्लान् ? 

अहिले नेपालमा १५ देखि ३५ वर्ष उम्मेर समूहका मान्छेहरू धेरै छन् । त्यो उम्मेर समूहले पार्टी, राजनीति र समाजबाट के चाहन्छ ? कस्तो समाज बनाउन चाहन्छ ? त्यतातिर लैजाने केही भिजन छैन । उनीसँग हिजो शास्त्रीय माक्र्सवाद थियो । अहिले त शास्त्रीय माक्र्सवाद पनि छैन । उनीसँग त्यस्तो विशिष्ट खालको कार्यक्रम पनि छैन । नयाँ खालको सिर्जना गर्न सक्ने क्षमता पनि छैन । उनीबाट संगठन हराभरा हुन्छ भन्ने विश्वास छैन ।