१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०८:४२:००
Read Time : > 5 मिनेट
सेयर बजार

नेप्से १३ सय ६० मा प्रतिरोध पाएर ओर्लियो

Read Time : > 5 मिनेट
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०८:४२:००

करिब २ अर्बको कारोबारले बजार बढ्ने अनुमान

लामो समयपछि निरन्तर बढिरहेको सेयर बजार सोमबार २६ दशमलव ५४ अंकले घटेको छ । आइतबार बजार बढेर २० महिना तथा ०७५ को वैशाखपछिकै उच्च बिन्दुमा पुगेको थियो । आइतबार १ हजार ३ सय ४९ बिन्दुमा पुगेर थोरै ओर्लिएर बन्द भएको बजार सोमबार घट्न पुगेको छ । बजारका विश्लेषकले १ हजार ३ सय ५० देखि ६० सम्म प्रतिरोध पाउने बताएका थिए । बजारले १ हजार ३ सय ६० को बिन्दु पार गरेमा बढ्ने विश्लेषकले बताएअनुसार बजार प्रतिरोध पाएर घटेको विश्लेषक बताउँछन् । ‘सधैँ एकैनासले बढेको बजार जोखिम हुने भएकाले बढेको बजारमा करेक्सन हुन बजार दीर्घकालीन रूपमा बढ्ने संकेत देखिनु लगानीकर्ता बताउँछन् । सोमबारको करेक्सनलाई लगानीकर्ताले सामान्य लिएका छन् । कारोबार रकमले साथ दिएकाले बजार बढ्ने अपेक्षासमेत लगानीकर्ताले गरेका छन् । ‘नेप्सेले १ हजार ३ सयको मनोवैज्ञानिक परीक्षण बिन्दु पार गरेपछि उक्लिएको हो ।’ सोमबार १ अर्ब ९७ करोडभन्दा बढीको कारोबार रकमले मंगलबार बजार बढ्ने अनुमान गरेको विश्लेषक बताउँछन् । यस दिन कारोबार बन्द हुने अन्तिम समयमा उच्च खरिद चाप परेकाले मंगलबार बजार सुधारिने आशा लगानीकर्तामा छ । 

१२ समूहका सेयरमानाफा बुकिङ
यस दिन १२ समूहको परिसूचक घटेको छ । गत दिनमा तिनै समूहको परिसूचक बढिरहेको थियो । यस दिनमा ती समूहमा कारोबार हुने कम्पनीहरूको सेयरमा नाफा बुक भएको देखिन्छ । सधैँ बढिरहेको बजार जाखिम हुने भएकाले कुनै दिन करेक्सन पनि हुनुपर्ने लगानीकर्ता बताउँछन् । निरन्तर बढेको बजारले एक दिन नराम्रोसँग जोखिम दिने हुँदा दीर्घकालीन रूपमा सुधार हुनका लागि करेक्सन हुनपर्ने लगानीकर्ता बताउँछन् ।  १२ समूहको परिसूचकमा व्यापार समूह ६ दशमलव ३४ प्रतिशत घटेको छ । जीवन बिमा, बिमा, उत्पादमूलक, लघुवित्त, होटेल, विकास बैंकका समूह २ देखि ३ प्रतिशतले घटेका छन् । बजार घट्दा लगानीकर्तालाई थप सेयर खरिद गर्ने अवसर मिल्ने ब्रोकर बताउँछन् । 

दुई कम्पनीमा सकारात्मक सर्किट, १२४ कम्पनीको सेयर मूल्य घट्यो
सोमबार घटेको बजारमा पनि मल्टिपपर्स फिनान्स र ग्लोबल आइएमई बैंकमा सकारात्मक सर्किट ब्रेक लागेको छ । मल्टिपपर्स फिनान्स कम्पनीको सेयर मूल्य ९ दशमलव ७७ प्रतिशत बढेको छ । जनतासँगको मर्जरपछि दोस्रो बजारमा कारोबार सुरु भएको ग्लोबल आएमई बेंकको ९ दशमलव ७२ प्रतिशत बढेको छ । बैंकको नेप्सेमा कारोबार बन्द हुँदा २ सय ८५ मा बन्द भएको थियो । जनतासँगको मर्जरपछि नेप्सेले २ सय ५२ मूल्य रेन्ज तोकेको छ । बैंकको मर्जरपछि कम मूल्यमा पहिलो दिनको कारोबार भएर पनि सेयर मूल्य बढ्न पुगेको हो । सोमबार १ सय ८२ वटा कम्पनीको कारोबारमा १५ कम्पनीको मात्र सेयर मूल्य बढ्न पुगेको छ भने १ सय ६३ कम्पनी घटेका छन् । ४ कम्पनी बन्द हुने वेलामा अघिल्लो दिनको मूल्यमा तथा स्थिर भई बन्द भए । यस दिन पाँचथर पावर कम्पनीको १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । त्यस्तै, पोखरा फाइनान्स, हिमालयन पावर पार्टनर, विशाल बजार कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले घटेका छन् । यस दिन अधिकांश सेयरमा नाफा बुकिङ भएको देखिन्छ ।

पभट विश्लेषण 
तेस्रो प्रतिरोध                            १३९८.७७
दोस्रो प्रतिरोध                           १३७९.०४
पहिलो प्रतिरोध                         १३४८.०८
पिभट बिन्दु                              १३२८.३५
पहिलो टेवा                              १२९७.३९
दोस्रो टेवा                                १२७७.६६
तेस्रो टेवा                                 १२४६.७०  

सोमबार १३५९ मा प्रतिरोध पाएको बजार मंगलबार अन्योल
आइतबारको कारोबारबाट निकालिएको पिभटअनुसार पहिलो प्रतिरोध १ हजार ३ सय ५८ बिन्दु थियो । सोमबार बजारले सोही बिन्दुको वरिपरि प्रतिरोध पाएर घटेको देखिन्छ । प्राविधिक विश्लेषणहरूले सेयर बजार बुलिस प्रवृत्तिमै रहेको संकेत गरिरहेको छन् । अहिले बजारमा अधिक खरिद चाप (ओभरबट जोन) १४ दिने आरएसआई सूचकले संकेत गरिरहेको छ । यो स्केल ७६ दशमलव ३३ मा छ । सोमबारको पिभट विश्लेषणले मंगलबार बजार अन्योल रहेको संकेत गरेको छ । सोमबारको पिभट बिन्दु १ हजार ३ सय २८ छ । बजार बन्द बिन्दु १ हजार ३ सय १७ रहेको छ । पिभट बिन्दुभन्दा बजार बन्द बिन्दु तल रहेकाले मंगलबार परिसूचक घट्ने संकेत गर्दछ । मंगलबार परिसूचक घटेमा १ हजार २ सय ९७ बिन्दुमा पहिलो टेवा र बढेमा १ हजार ३ सय ४८ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ । सोमबार लगानीकर्ताहरू नाफा बुकिङमा लागेर बजार घटे पनि मैनबत्तीले मंगलबार अन्योल देखाएको छ ।

अनलाइन कारोबार प्रणालीमा १८ हजारभन्दा बढी आबद्ध
नेप्सेको पूर्ण स्वचालित  अनलाइन कारोबार प्रणालीमा १८ हजार ५ सय ८३ लगानीकर्ता आबद्ध भएका छन् । नेप्सेका अनुसार पुस २९ गतेसम्म ५० ब्रोकर कम्पनीबाट अनलाइन प्रणालीको युजर लिएका लगानीकर्ता सो संख्यामा देखिएका हुन् । अनलाइन कारोबार सुरु भएको एक वर्षभन्दा बढी अवधिमा यति लगानीकर्ता आबद्ध हुनु भनेको अनलाइनमा सुधार भएको संकेत नेप्सेले दिएको छ । सबैभन्दा बढी अनलाइन  प्रयोगकर्ता भिजन सेक्युरेटिज ब्रोकर नम्बर ३४ मा १ हजार ४ सय ५६ जना छन् । त्यसैगरी, आर्यातार इन्भेष्टमेन्ट एन्ड सेक्युरेटिजमा १ हजार ४ सय २३ जना छन् । सबैभन्दा थोरै आशुतोष ब्रोकर एन्ड सेक्युरेटिजमा ६४ जना छन् ।

कृषि विकास बैंकको ७ वर्षे ऋणपत्र १४ माघदेखि
कृषि विकास बैंकले ७ वर्षे ऋणपत्र १४ माघदेखि निष्कासन गर्न लागेकोे छ । बैंकले वार्षिक १० दशमलव ३५ प्रतिशत व्याजदरमा २ अर्ब ५० करोडबराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब रुपैयाँबराबरको १० लाख कित्ता सर्वसाधारणलाई र  बाँकी १ अर्ब ५० करोडको १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ । १ हजार रुपैयाँ अंकित ऋणपत्रको भुक्तानी अर्धवार्षिक रूपमा गर्ने गरी निष्कासन हुन लागेको हो । उक्त ऋणपत्रमा छिटोमा माघ १७ तथा ढिलोमा फागुन १४ सम्म आवेदन गर्न सकिनेछ । बैंकको ऋणपत्रको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

फर्स्ट माइक्रोफाइनान्सको ६ महिनामा ६ करोडभन्दा बढी नाफा
चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा फर्स्ट माइक्रोफाइनान्स पहिलो रहेको छ । कम्पनीले ६ महिनामा ६ करोड ६९ लाखभन्दा बढी नाफा कमाएको विवरण सार्वजानिक गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा ५ करोड ६३ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो । गत आवको नाफाबाट यस वर्ष सेयरधनीहरूलाई १७ प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ । बोनस वितरणअघि सो पुँजी ६८ करोड ४३ लाख रहेको थियो । कम्पनीको जगेडा कोष रकम १७ करोड ४२ लाख ९४ हजार रहेको छ । कम्पनीको सञ्चालन मुनाफा गत वर्षको तुलनामा २० प्रतिशत वृद्धि भएर १० करोड ६० लाख २ हजार छ । खराब कर्जा नरहेको कम्पनीको निष्क्रिय कर्जा शून्य रहेको छ भने पुँजीकोष पर्याप्तता १६ दशमलव ९२ प्रतिशत छ । प्रतिसेयर आम्दानी वार्षिक  १६ दशमलव ७२ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ  १२१ दशमलव ७७ रहेको छ । 

सिटिजन्स बैंकको नाफा घट्यो
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाफा गत आवको सोही अवधिको तुलनामा १० दशमलव ७२ प्रतिशत घटेको छ । गत आवको ६ महिनामा ७७ करोड ३ लाखभन्दा बढी नाफा गरेको बैंकले यस आवको ६ महिनामा ६८ करोड ७७ लाख भन्दा बढी नाफा गरेको छ । बैंकको सञ्चालन मुनाफा १२ प्रतिशतले घटेकाले खुद नाफा घट्न पुगेको हो । गत आवमा १ अर्ब ८ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस आवमा ९५ करोड ५९ लाख मात्र  सञ्चालन मुनाफा गरेको छ । बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी ८ अर्ब ६२ करोड २१ लाख पुर्‍याएको छ । जगेडा कोष रकम २ अर्ब ८८ करोड ३१ लाख ९५ हजार छ । बैंकको वितरणयोग्य नाफा ६२ करोड १० लाख ५९ हजार छ । दोस्रो त्रैमाससम्ममा बैंकको प्रतिसेयर आम्दानी  १५ दशमलव ९५ रहेको छ भने प्रतिशेयर नेटवर्थ  १४१ दशमलव १३ रहेको छ ।

दुई इन्स्योरेन्सको हकप्रद आउँदै
नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासन गर्न दुई इन्स्योरेन्स कम्पनीलाई अनुमति दिएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्सयोरेन्सले ६० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएका हुन् । एनएलजी इन्स्योरेन्सले १० बराबर ६ को अनुपातमा  ३८ लाख ४२ हजार ४ सय ३७ दशमलव ५० कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मा दिएको छ । त्यसैगरी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १ सय २० कित्ता सेयर निष्कासन गर्नेछ ।