मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०८:२८:००
Read Time : > 2 मिनेट
खेलकुद

शीर्ष स्थानमा आर्मीको स्पष्ट अग्रता

Read Time : > 2 मिनेट
काठमाडौं
२०७६ माघ ७ मंगलबार ०८:२८:००

विभागीय क्लब त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिएको छ । दशरथ रंगशालामा सातौँ चरणको अन्तिम खेलमा आर्मीले च्यासल युथ क्लबलाई ३–० को अन्तरले हराउँदै दोस्रो स्थानमा रहेको मच्छिन्द्र क्लबसँग तीन अंकको दूरी बनाएको हो । आर्मीले सात खेलबाट १६ अंक बटुलेको छ । मच्छिन्द्रले सात खेलबाट १३ अंक जोडेको छ । अब आर्मीले लिगका आगामी चरणमा न्युरोड टिम (एनआरटी), नेपाल पुलिस, एपिएफ र मच्छिन्द्रसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ । 

यी सबै खेलमा जित निकाल्नुपर्ने र शीर्ष स्थानमा यथावत् रहनुपर्ने दबाब आर्मीमाथि रहेको प्रशिक्षक नवीन न्यौपानेले बताएका छन् । ‘आर्मीले शीर्ष स्थान यथावत् राख्दै उपाधि जित्न आउँदा खेलमा जित निकाल्नुपर्छ,’ खेलपछि पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक नवीनले भने, ‘हामीसामु प्रतिद्वन्द्वी सहज छैनन्, सबै राम्रो लयमा छन् ।’ आर्मीलाई महत्वपूर्ण तीन अंक दिलाउन कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक–एक गोल गरेका थिए । यसैगरी, सोमबारको पहिलो खेलमा संकटा र ब्रिगेड ब्वाइजबीच गोलरहित बराबरी भयो । 

आर्मी र च्यासलका फरक खेल
एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले छैटौँ चरणमा च्यासलको मिडफिल्ड र फिनिसिङ सहभागी क्लबमध्ये बलियो भएको दाबी गरेका थिए । तामाङको भनाइलाई च्यासलका खेलाडीले सातौँ चरणमा यथार्थमा परिणत गर्न सकेनन् । पहिलोभन्दा दोस्रो हाफमा च्यासलका खेलाडीमा तालमेल मिलेको देखिएन । मिडफिल्डका खेलाडीबाट कप्तान तथा स्ट्राइकर सन्तोष साहुखलले केही पास मात्र पाए । डिफेन्सका खेलाडीले आर्मीका चार स्ट्राइकरमाथि खासै मार्किङ गरेनन् । आर्मीविरुद्धको प्रतिस्पर्धामा खेलाडीले टिमवर्क र योजनाअनुसार प्रतिस्पर्धा नगरेको च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले स्विकारेका छन् ।

एक वा दुई खेलाडीको प्रदर्शनमा मात्र जित निकाल्न नसक्ने उनको भनाइ रह्यो । ‘एक वा दुई खेलाडीको भरमा कहिले पनि खेल जित्न सकिन्न,’ चालू लिगमा पहिलोपटक निकै निराश देखिएका च्यासलका प्रशिक्षक बालगोपालले भने, ‘स्कोरिङ नहुँदा खेलाडी योजनाविहीन भए, उनीहरू आफूखुसी खेल्न थाले ।’ आर्मीसँग पराजित हुनुमा यही कारण रहेको उनले बताए । ‘खेल जित्न टिमवर्कको भावना हुनुपर्छ, खेलाडीबीच आपसी तालमेल र सहयोग हुनुपर्छ,’ उनले भने । आर्मीका प्रशिक्षक न्यौपानले खेलाडीको टिमवर्कले नै जित निस्किएको बताए । यद्यपि, सुरुमा मौसम चिसो हुँदा केही समस्या आएको उनले बताए ।

तर, मध्यान्तरपछि मिडफिल्डर र स्ट्राइकरबीच राम्रो समन्वय हुँदा आर्मी शीर्ष स्थानमा उक्लिएको उनको भनाइ छ । ‘खेलाडीले प्राप्त अवसरमा गोल गरे, यस्तो हुनुको मुख्य कारण नै खेलाडीबीचको आपसी तालमेल हो,’ उनले भने । प्रशिक्षक न्यौपानेले कप्तान खवासको गोलसँगै खेलमा परिवर्तन आएको जनाए । ‘कप्तानले गोल गर्नुअघिसम्म खेल बराबरीकै अवस्थामा थियो, उनको गोलपछि खेलाडीले बेग्लै जोसमा प्रदर्शन गरे,’ न्यौपानले भने, ‘एक गोलले पछि परेपछि च्यासलका खेलाडी आक्रामक भए, जसका कारण हामीले गोल गर्न स्पेस पायौँ ।’ खेलमा च्यासलका सुनील बल घाइते भए । 

कप्तान खवास झुक्किए
खेलको ८५औँ मिनेटमा आर्मीले पेनाल्टी पाएको थियो । आर्मीलाई अग्रता दिलाएका कप्तान खवासले पेनाल्टी हान्ने अनुमान गरिएको थियो । लिगमा ४७औँ व्यक्तिगत गोल पुर्‍याएकाले पनि खवासले गोलसंख्या बढाउन पेनाल्टी प्रहार गर्ने अनुमान थियो । तर, उनले मिडफिल्डर सन्तोषलाई अवसर दिए । सन्तोषको आत्मविश्वास बढाउन खवासले पेनाल्टी प्रहार गर्न दिएका रहेछन् । ‘सन्तोष भाइले म पेनाल्टी प्रहार गर्छु भने । लिगमा उनले एक गोल पनि गरेका थिएनन् । पेनाल्टी गोलपछि आत्मविश्वास बढ्छ भनेर म पछि हटेँ,’ आफूले पेनाल्टी प्रहार नगर्नुको कारण खुलाउँदै खवासले भने, ‘पछि स्मरण भयो, सन्तोषले त अगाडि नै गोल गरिसकेका थिए, त्यो जानकारी पाएको भए सम्भवतः म नै पेनाल्टी प्रहारमा जान्थेँ ।’ 

मनाङलाई आयल निगमको साथ
नेपाल आयल निगम लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत मनाङ मर्स्याङ्दीलाई मुख्य प्रायोजन गरेको छ । मनाङ र आयल निगमबीच सोमबार एक कार्यक्रमबीच एक वर्षका लागि ३५ लाख रुपैयाँमा मुख्य प्रयोजन गर्ने सम्झौता भयो । सम्झौतालगत्तै निगमले पहिलो किस्ताबापत ५० प्रतिशत रकमसमेत प्रदान गरेको छ । सम्झौतापछि निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले मनाङमार्फत समग्र फुटबल क्षेत्रको विकासमा योगदान गर्न चाहेको बताए । ‘हामीले मनाङलाई मात्र प्रायोजन गरेका होइनौँ, समग्र फुटबल क्षेत्रको विकासका लागि योगदान गर्न चाहेका हौँ,’ उनले भने, ‘मनाङले मेचीदेखि महाकालीसम्म र देशबाहिरसमेत प्रतियोगिता खेल्ने गरेका कारण आयल निगमको नाम र लोगो अंकित जर्सीमा देखिँदा हाम्रो पनि ब्रान्डिङ हुने विश्वास लिएका छौँ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले मनाङसँग भएको प्रायोजन सम्झौता ऐतिहासिक भएको बताए । ‘आयल निगम र मनाङबीच भएको प्रायोजन सम्झौता ऐतिहासिक हो । यस्ता सम्झौताले गर्दा नेपाली फुटबल क्षेत्र फेरि पुनर्जीवित भएको छ,’ अध्यक्ष शेर्पाले भने । मनाङका अध्यक्ष छिमीउर्गेन गुरुङले फुटबल क्षेत्रको विकासमा आयल निगमको प्रयोजन प्रशंसनीय भएको बताए । उनले भने, ‘अहिले एक वर्षका लागि मात्र सम्झौता भएको छ, भविष्यमा पनि यस्तै साथ पाइरहने अपेक्षा गरेका छौँ ।’