मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
काठमाडौं
२०७६ माघ ६ सोमबार ०७:५९:००
Read Time : > 1 मिनेट
अर्थ

भारतले पेट्रोलियम तालिम केन्द्र बनाइदिने

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ माघ ६ सोमबार ०७:५९:००

भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमका लागि पेट्रोलियम तालिम केन्द्र निर्माण गरिदिने भएको छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरिदिएको आइओसीले दोस्रो ठूलो परियोजनाअन्तर्गत तालिम केन्द्र बनाइदिने भएको हो । पाइपलाइनको लागतमध्ये ५ अर्ब रुपैयाँभन्दा बढी भारतले व्यहोरेको थियो । 

२७ र २८ पुसमा नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । नेपालका तर्फबाट उपस्थित वार्ताटोलीका संयोजक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेका अनुसार आयल निगमले तालिम केन्द्र निर्माण गरिदिन प्रस्ताव गरेको थियो । ‘निगमको प्रस्ताव सुनेर भारतीय पक्ष खुसी भएका थिए, उनीहरूले छिटोभन्दा छिटो ठाउँ तोकिदिन आग्रह गरेका छन्,’ घिमिरेले भने, ‘सबै खर्च उसैले व्यहोर्नेछ ।’

नेपालमा पेट्रोलियम कारोबार भएको ५० वर्ष नाघ्दा पनि तालिम केन्द्र छैन । बर्सेनि करिब १ सय निगमका कर्मचारी तथा केही व्यवसायीसमेत पेट्रोलियम पदार्थको ढुवानी, लोड–अनलोड, सुरक्षित भण्डारण, डिपो सञ्चालनलगायतका विषयमा तालिम लिन भारतलगायतका देश जानुपरिरहेको छ । 

गत वर्ष निगमको प्रबन्ध निर्देशक बनेर सुरेन्द्रकुमार पौडेल आएपछि उनले नेपालमै तालिम केन्द्र निर्माण गर्ने योजना बनाएका थिए । ‘पेट्रोलियम पदार्थको कारोबार गर्न थालेको यति लामो समयसम्म एउटा गतिलो तालिम केन्द्र नहुनु दुःखद विषय हो,’ उनले भने । उनले छिटोभन्दा छिटो ठाउँ यकिन गरी आइओसीलाई जानकारी गराउने र निर्माण सुरु हुने जानकारी दिए ।

मन्त्रालय र निगमले देशको केन्द्रीय भागमा तालिम केन्द्र निर्माण गर्ने सोच बनाएको छ । जसअनुसार हालको ३ प्रादेशिक कार्यालय रहेको अमलेखगन्ज डिपोपरिसर वा चितवनको लोथर हुन सक्छ । लोथरमा निगमले २३ बिघा १२ कट्ठा जग्गा खरिद गरेको छ । सहसचिव घिमिरेले तालिम केन्द्र निर्माणपछि आइओसीकै प्राविधिक सहयोग लिएर निगमका कर्मचारीलाई दक्षता प्रदान गरी पेट्रोलियम कारोबारमा सुधार ल्याउने बताए ।

 दुई ठाउँ पाइपलाइन निर्माणमा सहमति
दुवै देशका सहसचिवस्तरीय बैठकले अमलेखगन्जसम्म आएको पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निर्णय गरेका छन् । त्यसैगरी, भारतको सिलगुडीस्थित आइओसीको डिपोबाट झापाको चारआलीमा रहेको निगमको डिपोसम्म अर्को पाइपलाइन विस्तार गर्ने पनि निर्णय भएको छ । सिलगुडी–चारआली पाइपलाइनको लम्बाइ ३१ किलोमिटरको हुनेछ । लागत करिब १ अर्ब रुपैयाँ हुनेछ ।

अमलेखगन्जमा ४१ लाख लिटर क्षमताका दुईवटा पेट्रोल ट्यांकसमेत निर्माण गर्ने विषयमा सहमति जुटेको छ । ‘एउटा आइओसीको र एउटा निगमको खर्चमा ट्यांक बन्ने भएको छ,’ घिमिरेले भने । त्यसैगरी, चारआली र धनुषाको महेन्द्रनगरमा आयल निगमले आफ्नै ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने भएको छ । निगमले अहिलेसम्म ग्यास आयातका लागि व्यवसायीहरूलाई सहजीकरण मात्रै गर्दै आएको छ । निगमले ग्यास बोटलिङ प्लान्ट राखेर आफ्नै ब्रान्डमा सिलिन्डरसमेत बजारमा ल्याउने योजना बनाएको छ ।