Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
वरिष्ठ नेता, नेकपा
२०७६ माघ ६ सोमबार ०६:३७:००
Read Time : > 1 मिनेट
अन्तर्वार्ता

सभामुखमा सन्तुलित निर्णय गर्‍यौँ : झलनाथ खनाल

Read Time : > 1 मिनेट
२०७६ माघ ६ सोमबार ०६:३७:००

सभामुख चयनमा निकै सकस देखिएको थियो, आइतबारको बैठकबाट कसरी निर्णयमा पुग्नुभयो ? 
लामो समयदेखि रिक्त सभामुख पदमा पूर्ति नहुँदा विभिन्न प्रश्न उठेका थिए, जसले गर्दा चाँडोभन्दा चाँडो चयन गर्नुपर्ने आवश्यकता थियो । सर्वसम्मतिमै सभामुख चयन गर्न विभिन्न ढंगले गृहकार्य हुँदै आएको थियो । त्यसक्रममै आइतबार समझदारीको एउटा बिन्दुमा पुग्यौँ र सचिवालयले भावी सभामुखमा माननीय अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

उपसभामुखले राजीनामा दिनुपर्ने कारण खुलाउनुपर्ने अडान राख्दै आउनुभएको छ, सचिवालयको निर्णय सहजै कार्यान्वयन होला ?
वर्तमान उपसभामुखलगायत हाम्रो पार्टीबाट धेरै साथीहरू सभामुखको उपयुक्त उम्मेदवार हुनुहुन्थ्यो । हामीले उहाँहरूको बीचमा पनि छलफल गर्‍यौँ । त्यसक्रममा विगत र वर्तमानका साथै चुनौती र कार्यभार, पार्टीको वर्तमान अवस्था, भर्खरै पार्टी एकीकरण भएको स्थिति, पार्टीलाई सैद्धान्तिक, वैचारिक, राजनीतिक, सांगठनिक र भावनात्मक रूपले अझ एकीकृत रूपमा अघि बढाउनुपर्ने आवश्यकतासमेतलाई ध्यान दिएर सन्तुलित निर्णय गरेका हौँ । यसलाई अन्यथा नठानी पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूले कार्यान्वयन गर्नु सबैको कर्तव्य हो । 

पार्टी निर्णयका कारण कार्यकाल पूरा नगरी उपसभामुखले राजीनामा दिनुपर्ने स्थिति आएको छ । उहाँको व्यवस्थापनबारे नेकपा नेतृत्वले के सोचेको छ ? 
उपसभामुख आफैँमा सम्मानित पद हो । माननीय पनि सम्मानित पद नै हो । तथापि उहाँको बारेमा के गर्ने भन्ने विषयमा आवश्यक छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिन्छ । 

पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक सोमबार बस्छ या फेरि रोकिन्छ ? 
सोमबार निर्धारित समयअनुसार नै बैठक चल्नुपर्छ । तर, निर्णय कार्यान्वयन गर्ने वस्तुस्थिति र आधार निर्माण गर्नुपर्ने भयो भने त्यसका निम्ति पनि ठाउँ खुलै छ । 

आधार निर्माण भनेको के हो ? 
आधार निर्माण गर्न केही समय चाहिन पनि सक्छ । पहिले त प्रतिनिधिसभाको बैठक बस्नुपर्‍यो । त्यो बैठकबाट निर्वाचन कार्यतालिका पनि अघि बढाउनुपर्‍यो । अनि न सभामुख चयनको आधार निर्माण हुने हो ।