मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७६ माघ ५ आइतबार १८:४५:००
Read Time : > 1 मिनेट
समाचार

राजधानीमा सहमत, नाम राष्ट्रियसभा निर्वाचनपछि

Read Time : > 1 मिनेट
शिल्पा कर्ण काठमाडौं
२०७६ माघ ५ आइतबार १८:४५:००

प्रदेश २ को राजधानी धनुषा र महोत्तरीको केही क्षेत्र समेटेर चक्रपथभित्र राख्ने विषयमा लगभग सहमति जुटेको छ । राजधानी र नाममा सहमति जुटाउन गठित उप–समितिका सदस्य एवं समाजवादी पार्टीको संसदीय दलका उपनेता रामाशिष यादवका अनुसार राजधानीका विषयमा सबै एकठाउँमा आइसकेका छन् ।

यादवले नामका विषयमा भने अझै सहमति नजुटेको बताए । ‘राजधानी र नामाकरण समितिको बैठक ५–६ पटक बसिसक्यो,’ उनले भने, ‘राजधानी धनुषा र महोत्तरीको केही भाग समेटेर चक्रपथभित्र राख्ने कुरामा लगभग सहमत भइसकेका छौँ । नाममा केही विवाद छ । सम्भवतः राष्ट्रियसभा चुनावपछि टुंगो लाग्छ ।’ उनले चुनावपछि सरकार फेरबदल हुन सक्ने भन्दै नामको टुंगो पनि त्यसपछि मात्र लाग्ने बताए ।

विपक्षी दल कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले प्रदेश सरकार नामाकरणका विषयमा गम्भीर नरहेको बताए । प्रदेशसभाको सरकारमा रहेका समाजवादी र राजपाले एकसाथ तथा विपक्षी कांग्रेस र नेकपाले छुट्टाछुट्टै राजधानी र नामको प्रस्ताव गरेका थिए । भदौ पहिलो साता सत्तारुढ दुवै दलले नाम ‘मधेस’ प्रस्ताव गरेका थिए भने नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मध्य मधेस’ प्रस्ताव गरेको थियो ।

एक सय सात सदस्य रहेको प्रदेश सभामा प्रदेशको नाम र राजधानी पारित हुन कम्तीमा ७२ मत आवश्यक हुन्छ । तर ७२ मत कुनै पनि दलको नभएकाले राजनीतिक सहमति नै आवश्यक रहेको राजपाका प्रमुख सचेतक परमेश्वर साहले बताए । संविधानको धारा २८८ को उपधारा २ अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभाले दुई तिहाइबाट पारित गर्नुपर्ने हुन्छ । सात प्रदेशमध्ये हाल गण्डकी, कर्णाली, सुदूरपश्चिम र बागमतीको मात्र नामाकरण भएको छ ।

नाम र राजधानीको विषयमा निर्णय लिन प्रदेशसभामा रहेका पाँच दलका दुई–दुई जना प्रतिनिधि र सभामुख गरेर ११ जनाको समिति गठन गरिएको छ । एक महिना म्याद रहेको समितिको म्याद सकिन अब १० दिन मात्र बाँकी रहेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले बताए । ‘त्यसपछि उहाँहरूले सहमति गरेर जानकारी गराउनुहुन्छ,’ उनले भने, ‘अनि मात्र प्रक्रिया अगाडि बढ्छ ।’