१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मानदत्त रावल
२०७५ माघ २ बुधबार ०९:५५:००
Read Time : > 1 मिनेट
प्रदेश

माघी पर्वमा देउडामय जुम्ला

Read Time : > 1 मिनेट
मानदत्त रावल
२०७५ माघ २ बुधबार ०९:५५:००

माघी पर्वको अवसरमा जिल्लाव्यापी देउडा प्रतियोगिता गरिएको छ । यहाँको मौलिक संस्कृति मानिने देउडालाई संरक्षण र प्रवद्र्धन गर्न देउडा प्रतियोगिताको आयोजना गरिएको हो । जुम्लाको मौलिक पहिचानका रूपमा रहेको देउडा लोपोन्मुख अवस्थामा छ ।  लोपोन्मुख देउडालाई बचाइराख्ने अभियान कर्णाली देउडा समाज जुम्लाले थालेको छ । प्रतियोगितामा बोल्दै चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले खस भाषाको उत्पतिसँगै सुरु भएको देउडा खेल्ने प्रचलन पछिल्लो समय हराउन लागेको चिन्ता प्रकट गरिन् । उनले देउडामा नवरस भएको बताइन् । ‘देउडामा प्रेम, दुःख, हर्ष, वेदना मिसिएको हुन्छ,’ उनले भनिन्, ‘देउडा साथीसँगी रमाउने र पराम्परा झल्काउने चिनारी पनि हो ।’

मेयर सेजुवालले देउडामार्फत महिलाको सशक्तीकरणको पनि आवश्यता औँल्याएकी छिन् । उनका अनुसार चन्दननाथ नगरपालिकाले स्थानीय संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि कार्यनीतिमा समावेश गरिनेछ ।  कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले कर्णालीमा अस्ताउँदो अवस्थामा रहेको देउडा संस्कृति जगेर्नामा लागेको बताए । ‘माघीमा देउडा मेलाका रूपमा कार्यक्रमलाई निरन्तरता दिन्छौँ,’ उनले भने, ‘जिल्लाका गाउँ–गाउँमा संरक्षण र जनचेनताका कार्यक्रम ल्यानेछौँ ।’ देउडा नै जुम्लाको मौलिक पहिचान भएको उनले बताए ।   


  देउडा लोप हुने चिन्ता 
देउडा समाजको आयोजनामा माघीमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा जिल्लाका आठवटै स्थानीय तहबाट उल्लेख्य सहभागिता रहयो । खेल प्रतियोगितात्मक भए पनि देउडा लोप हुन लागेकोमा चिन्ता व्यक्त गरिएको छ । स्थानीय खस र  नेपाली भाषामा देउडा हराए, जुम्लाको अस्तित्व नै हट्ने चिन्ता गरिएको छ ।  प्रतियोगितामा सहभागीले कलामार्फत देउडा जोगाउनुपर्ने सन्देश प्रवाह गरे । प्रतियोगितामा कुल १८ महिला तथा पुरुषको टिम सहभागी थियो । महिलाहरू स्थानीय गुन्युचोलो र पुरुषहरू नेपाली दौरा–सुरुवालमा सजिएका थिए । जुम्लाका स्थानीय देउडाका पारखी विर्ष डाँगीले देउडा लोप हुने लागेको भन्दै चिन्ता व्यक्त गरे । स्थानीय तहले संस्कृति संरक्षणमा विषेश जोड दिनुपर्ने उनको भनाइ छ । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले तिलाले संस्कृति संरक्षणका लागि भनेर गुरुयोजना नै तयार गर्न लागेको बताइन् ।   

माघेसंक्रान्तिका अवसरमा खार्पुनाथमा देउडा
नयाँ पत्रिका/ हुम्ला
हुम्ला जिल्लाको प्रमुख धार्मिक तीर्थस्थल खार्पुनाथमा देउडा खेलेर माघेसंक्रान्ति मनाइएको छ । खार्पुनाथ दोभानमा सोमबार माघेसंक्रान्तिको मेलामा देउडा खेल खेलेर दर्शनार्थीले रात कटाएका हुन् ।  खार्पुनाथ तीर्थ दर्शन गरेपछि पाप पखालिने धार्मिक विश्वासले घुइँचो लाग्ने यो दोभानमा देउडा खेलेर मनोरञ्जन लिने चलन छ । माघी मेलामा स्थानीयहरू आफ्नै पहिरनमा यहाँ आउने गरेका छन् ।

मेला हेर्न जिल्लाका ७ वटै गाउँपालिकाबाट भक्तजनको घुइँचो लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त शाहीले बताए ।  उनका अनुसार खार्पुनाथ गाउँपालिका, सिमकोट गाउँपालिका, सर्केगार्ड गाउँपालिकालगायतका स्थानहरूबाट स्थानीय माघी मेलाको अवसरमा यहाँ आउने गरेका छन् । मेलामा भक्तजनहरूको बाक्लो उपस्थिति हुने भएपछि उच्छृंखल गतिविधि नहोस् भनेर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको थियो । माघी मेला विशेष गरी स्थानीयले रातभरि देउडा खेलेर मनोरञ्जन लिँदै रात बिताउने गरेका छन् । यहाँ जिल्लाका विभिन्न स्थानबाट एक–दुई दिन पैदल हिँडेर दर्शनार्थी आउने गरेका छन् ।