१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ माघ ३ शुक्रबार २०:४७:००
Read Time : > 1 मिनेट
समाचार

'सवारी दुर्घटना न्युनिकरण गर्न निजी क्षेत्रको सहकार्य आवश्यक'

Read Time : > 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ माघ ३ शुक्रबार २०:४७:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न सरकार र निजी क्षेत्रसमेतको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सडक सुरक्षा, सुन्दरता र विस्तारको कामलाई प्राथमिकतामा राखेको बताए ।

महानगरीय प्रहरी वृत्त ठिमीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कौशलटारमा शुक्रबार गरेको सडक सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङले कोटेश्वर–साँगा सडकलाई थप व्यवस्थित बनाउने योजनाको प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘पछिल्ला तीन महिनामा मात्रै ठूला र निकै संवेदनशील प्रकृतिका दुर्घटना भएका छन्, ती दुर्घटनापछि हामीले चासो दिएर समाधानको पहल थालेका छौँ,’ मन्त्री नेम्वाङले भने, ‘अहिले खाल्डाखुल्डी पुर्ने, मर्मत सम्भार गर्नेदेखि सडकमा सवारी भीड नियन्त्रण गर्नेदेखि सवारीसम्बन्धी नीतिगत व्यवस्था सुधारका लागि समेत छलफल चलाइएको छ ।’

उनले सरकारले उपत्यकामा सवारी व्यवस्थापन र सुरक्षाकालागि छुट्टै योजना बनाइनुपर्ने आवश्यक रहेको भन्दै सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको बताए । मन्त्री नेम्वाङले नगरपालिकाले समन्वय गरेर प्रहरीलाई सुरक्षा सामाग्री उपलब्ध गराएकाप्रति खुसी व्यक्त गर्दै सवारी दुर्घटना न्युनिकरणमा स्थानीय तह पनि संघीय सरकारकै सरह जिम्मेवार हुनुपर्ने बताए ।

मध्यपुरठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले स्थानीय वित्तिय संस्थाहरुसँगको सहकार्यमा महानगरीय प्रहरी वृत्त ठिमीलाई सडक सुरक्षा एवम् सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । वृत्तलाई साइरनजडित चार वटा मोटरसाइकल, ब्रेथलाइजरलगायत सडक सुरक्षा सामाग्रीहरु प्राप्त भएको वृत्त प्रमुख डिएसपी शान्तिराज कोइरालाले बताए । सुरक्षा सामाग्री अभावमा प्रहरीले गर्न सक्ने काम समेत प्रभावकारी हुन नसकेको अवस्थामा सुरक्षा सामाग्रीको उपलब्धताले सेवा प्रवाहमा सहयोग पुग्ने उनले बताए । 

कार्यक्रममा सांसद महेश बस्नेत, मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, महानगरीय प्रहरी प्रमुख विश्वमणि पोखरेल, महानगरीय ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाल, महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधान लगायतले सडक सुरक्षाकालागि संघ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिकाबारे चर्चा गरे । भक्तपुरमा सडक सुरक्षाकालागि मध्यपुरथिमि नगरपालिकाले सडक बत्ती, सीसी क्यामेरा लगायत योजनामा सहकार्यकालागि एक करोड रुपैयाँ विनियोजन गरेको मेयर श्रेष्ठले बताए ।