मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ माघ ३ शुक्रबार ०९:०६:००
Read Time : > 1 मिनेट
सेयर बजार

वर्षकै उच्च बिन्दुनजिक नेप्से : बजारमा उत्साह कायम रहँदा कट्यो प्रतिरोध

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ माघ ३ शुक्रबार ०९:०६:००

लामो समयपछि वृद्धिको बाटो समातिरहेको सेयर बजार परिसूचक नेप्सेले १२८४ को खड्गो सजिलै पार गरेको छ । साताको अन्तिम दिन बजार २६ अंकले बढ्दा नेप्से वर्षकै उच्च बिन्दु (१३२१) नजिक आइपुगेको छ । बजार बन्द हुँदा १३ सय १० मा नेप्से आइपुगेको हो । १ हजार ३ सय मनोवैज्ञानिक तह हो । यो बिन्दुमा ध्यान दिनुपर्ने भने देखिन्छ । लामो समय स्थिर देखिएको बजार थप बढ्ने अपेक्षामा एक सातामा एक दिनबाहेक सबै दिन दोहोरो अंकमा नेप्से बढिरहेको छ । तल्लो तहमा आएको सेयर बजारलाई बैंकमा वृद्धि भएको तरलताले थप बढ्न सहयोग पुर्‍याएको हो । 

डेढ अर्ब बढीको कारोबार 
बजार बढ्न थालेसँगै कारोबार रकममा वृद्धि हुन थालेको छ । बिहीबार मात्रै करिब १ अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच भएको छ । चार कम्पनीको मूल्यमा सर्किट ब्रेक लागेको छ । एनआइबिएल प्रगति फन्ड, ग्लोबल आइएमई लघुवित्त, मल्टिपर्पोस फाइनान्स, आइसिएफसी फाइनान्सको मूल्य १० प्रतिशतसम्म बढेर सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेपछि पनि कम मूल्यमा कारोबार गर्न रोकिँदैन । तर, लगानीकर्ताले सोभन्दा कम मूल्यमा सेयर बेच्न चाहेको देखिँदैन । १५ वटा कम्पनी भने बजारसँगै बढ्न सकेनन् । यस दिन मूल्य घट्ने प्रमुख पाँचमा महिला सहयात्रा लघुवित्त, अरुण काबेली, नेसनल हाइड्रो, सानिमा बैंकको ऋणपत्र र लक्ष्मी इक्विटी फन्डको मूल्य घटेर सेयर किनबेच भएको छ । मूल्य घट्नेको पनि ३ प्रतिशतभन्दा कमले घटेको हो । 

एक सातामै २७ प्रतिशत प्रतिफल 
बजार उच्च दरमा बढ्न थालेपछि साता को अन्त्यसम्म आइपुग्दा केही लघुवित्त, बिमा र एक उत्पादनमूलक कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । साल्ट टे«डिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै २६.९६ प्रतिशत कमाएका छन् । त्यस्तै, मञ्जुश्री फाइनान्सले २३.३३ प्रतिशत, नेसनल लाइफकाले २२.४९ प्रतिशत, इन्फिनिटी लघुवित्तको १९.६२ प्रतिशत र कञ्चन डेभलपमेन्ट बैंकको १९.३१ प्रतिशतले मूल्य बढेको छ । गत साता अन्त्यमा लगानी गरेकाले यो साता अन्त्यसम्म आइपुग्दा कुनै कम्पनीमा पनि लगानीकर्ताले नोक्सान व्यहोर्न परेको देखिँदैन । 

बुलिस प्रवृत्ति कायमै 
प्राविधिक विश्लेषणहरूले सेयर बजार बुलिस प्रवृत्तिमै रहेको संकेत गरिरहेको छ । अहिले बजारमा अधिक खरिद (ओभरबट जोन) बढेको नेप्सेको १४ दिने आरएसआई सूचकले संकेत गरिरहेको छ । यो स्केल ८८.४० मा छ । त्यस्तै ७ दिने र २१ दिने सिम्पल मुभिङ एभरेज रेखा २६ मंसिरमै गोल्डेन क्रस ओभर भएका छन् । छोटो अवधिको रेखाले लामो अवधिको रेखालाई काटेमा गोल्डेन क्रस ओभर भएको मानिन्छ । यस्तो क्रस ओभरले बजार बुलिस प्रवृत्तिमा प्रवेश गरिसकेको संकेत गरेको छ । यी दुईरेखा केही दिनअघि नजिकिएको भए पनि पुनः यही अवस्थामा अगाडि बढिरहेको छ । पिभट विश्लेषणले भने बजार बढ्ने क्रममा रहे आगामी पहिलो दिन १३२१ मा प्रतिरोध र १२९१ मा पहिलो टेवा पाउनेछ ।