• वि.सं २०७६ चैत १७ सोमबार
  • Monday, 30 March, 2020
बालुवा–ढुंगा ढुवानी गर्न मकवानपुरको मनहरी खोलामा लाइन लागेका ट्याक्टर । तस्बिर : सुदीप सिवाकोटी/नयाँ पत्रिका
२०७६ माघ ३ शुक्रबार ०६:४०:००
मुख्य समाचार

जनप्रतिनिधि नै गिटी–बालुवाका ठेकेदार

स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधि आफ्नै क्रसर उद्योगलाई ठेक्का दिलाएर नदीनाला र पहाड दोहनमा सक्रिय

२०७६ माघ ३ शुक्रबार ०६:४०:००

काभ्रे : पूर्वसांसददेखि डनसम्म रोडा–बालुवा तथा क्रसर उद्योगका मालिक
पूर्वसांसद तीर्थ लामाले खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् । सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको भन्दै पटक–पटक स्थानीयले विरोध गर्दै आएका छन् । कांग्रेसकै अर्का नेता कुन्साङ लामाको नमोबुद्ध–६ मा ब्लु साइन स्टोन क्रसर उद्योग छ । उनी नमोबुद्ध नगरपालिकाको मेयरमा पराजित उम्मेदवार हुन् । त्यसको नजिकै डन पृष्ठभूमिका गणेश लामाको क्रसर छ । उनी कांग्रेस नेता विजयकुमार गच्छदारका विश्वासपात्र हुन् । 

नेकपाका नेताहरू प्रेम लामा र उज्ज्वल लामाले पनि क्रसर चलाएका छन् । प्रेम जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् । त्यस्तै प्रदीप बोगटीले लामो समयदेखि ढुंगाखानी चलाउँदै आएका छन् । पनौती तथा बेथानथोकका क्रसर नेता तथा प्रहरीलाई समेत साझेदार बनाएर चलाइएको छ । रोसी तथा सुनकोसी नदीबाट मापदण्डविपरीत रोडा–बालुवा निकाल्ने तथा क्रसर चलाउनेहरू पार्टीमै आबद्ध छन् । जिल्ला समन्वय समितिको नेतृत्वले काभ्रेका सबै क्रसर तथा खानी अनुगमन गर्दा अवैध रूपमा सञ्चालन भएको भेटिएको थियो । ‘सबै उद्योगले कुनै न कुनै मापदण्ड पूरा नगरेको भेटिएको छ,’ काभ्रेका सिडिओ श्रवण तिमल्सिनाले भने, ‘छिटै प्रतिवेदन सार्वजनिक गर्छौँ ।’

गुल्मी : रेसुंगा नगरपालिकाका मेयरको क्रसर उद्योग छोराको नाममा
इस्मा गाउँपालिका–२ पनाहामा ठूलो बेनामे क्रसर सञ्चालनमा छ । दर्ता त परको कुरा, वातावरणीय मूल्यांकनसमेत नगरी सञ्चालन गरिएको यो क्रसर सञ्चालकमध्ये एक वीरेन्द्र भुसाल रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालका छोरा हुन् । अर्का सञ्चालक नेकपाका जिल्ला सचिवालय सदस्यसमेत रहेका निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेल हुन् । भुसाल रामेछाप कन्स्ट्रक्सन र पोखरेल सुनील समिति निर्माण सेवाका सञ्चालक पनि हुन् । तीन वर्षअघि तम्घास–सिमलटारी–प्युठान सडक कालोपत्रेका लागि कालिका प्यासेफिक कन्स्ट्रक्सनलाई अस्थायी रूपमा सञ्चालन अनुमति दिइएको क्रसर काम सकिएपछि भुसाल र पोखरेल मिलेर किनेका हुन् । अहिले उनीहरूले नदी दोहन गरिरहेका छन् ।

सिन्धुपाल्चोक : जिल्लाका नेता मात्रै होइन, भक्तपुरका जनप्रतिनिधिसमेतको लगानी
मेलम्ची नगरपालिका–१२ स्थित रक्तमाला र पाल्चोकी इन्फ्रास्ट्रक्चर क्रसरमा भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको लगानी छ । मेलम्ची–१३ को गंगा–इन्द्रावती क्रसरमा पनि उनको सेयर छ । त्यस्तै मेलम्ची–१३ का वडाध्यक्ष देवेन्द्र घोरासैनीले पनि चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा कालिन्चोक भगवती एग्रिगेट क्रसर चलाएका छन् । यो क्रसरमा नेकपा जिल्ला नेता गोविन्द पराजुलीको पनि लगानी छ । भक्तपुरका जनप्रतिनिधिसमेत सिन्धुपाल्चोक पुगेर क्रसर चलाएका छन् । मेलम्ची–१३ को जालपादेवी क्रसर सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको हो । चौतारा–साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले भने छोरा रघुसिंह तामाङको नाममा इन्द्रावती–१२ मा अविरल इन्द्रावती क्रसर सञ्चालन गरेका छन् । यो क्रसरमा नेकपा जिल्ला सचिव दावा तामाङको पनि लगानी छ । चौतारा–साँगाचोकगढी–१२ स्थित सिन्धु स्टोन एन्ड क्रसर कांग्रेस जिल्ला नेता केशवराज गिरीको हो । त्यस्तै नेकपा जिल्ला सदस्य उपेन्द्र तामाङको पनि मेलम्ची–११ मा पाल्चोकीमाई क्रसर उद्योग छ । यी सबै क्रसर मापदण्डविपरीत सञ्चालनमा छन् । 

कञ्चनपुर :  डडेल्धुराको परशुराम नगरपालिकाका मेयरको कञ्चनपुरमा क्रसर
हुलाकी राजमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी शर्मा जेभीले कञ्चनपुरको वेदकोट नगरपालिका–३ भम्कामा अवैध रूपमा क्रसर चलाएको छ । सो कम्पनीका सञ्चालक भीम साउद परशुराम नगरपालिका डडेल्धुराका मेयर हुन् । जनप्रतिनिधि भएरसमेत मापदण्डविपरीत क्रसर चलाएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

दोलखा : दर्ता नै नगरी चलाएका छन् गाउँपालिका अध्यक्षले क्रसर उद्योग
दोलखाका आठमध्ये दुई क्रसरमा जनप्रतिनिधिको लगानी छ । कालिञ्चोक गाउँपालिका–७ स्थित गुमुखोला रोडा–ढुंगा उद्योग नेकपा दोलखाका अध्यक्षसमेत रहेका तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको हो । मापदण्डविपरीत चलेको उनको उद्योगले तामाकोसी दोहनमा गरिरहेको छ । 

त्यस्तै सिँगटीमा रहेको सिँगटी क्रसर उद्योग बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काको हो । यो उद्योग दर्ता नै नगरी सञ्चालित छ । सुरुमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवेशमार्ग निर्माणका लागि भन्दै अस्थायी रूपमा स्थापना भएको उद्योग खड्काले निरन्तर चलाइरहेका हुन् । सोरुङ खोला र गोँगर खोलाआसपासका क्षेत्र दोहनमा उनको उद्योग संलग्न छ । जिल्लामा अन्य ६ क्रसर पनि अवैध रूपमा चलिरहेका छन् । ०६३÷६४ मा तामाकोसी–मन्थली–खुर्कोट सडकको कालोपत्रेका लागि दोलखाको भिरकोटमा सञ्चालन गरिएका दुई अस्थायी क्रसर उद्योग आयोजना सकिएपछि पनि अवैध रूपमा चलिरहेका छन् । यी उद्योग नवीकरण पनि भएका छैनन् । 

सिराहा : नदीको अवैध उत्खनन, सामग्री बोक्न मेयर र वडाध्यक्षकै गाडी प्रयोग
कर्जन्हा नगरपालिका–४ को जानकी क्रसर उद्योगका सञ्चालक हुन्– समाजवादी पार्टीका नेता विकेश्वर गोइत । उनी तत्कालीन फोरम नेपालको किसान संघका अध्यक्षसमेत थिए । सिराहा नगरपालिका–११ माडर घर भएका गोइतको क्रसर उद्योगले चुरे पर्वत दोहन गरिरहेको छ । यसमा भारतीय नागरिक मुकेश यादवको समेत लगानी छ । त्यस्तै, कर्जन्हा नगरपालिका–३ को प्रशान्त बालुवा प्रशोधन उद्योगमा नेकपानिकट विनोद साहको लगानी छ । यसमा नेकपाका सांसदको समेत लगानी रहेको स्रोतले बताउँछ । कमला नदीको पूर्वी बाँधनजिकै कर्जन्हा–७ मा रहेको कमलामाई क्रसर उद्योगमा जनकपुर उपमहानगरपालिका–२ का रामबाबु साह, रुबी साह, महोत्तरीका मोहम्मद खलिल राइन, मो. यसराइल इरानको लागनी छ । उनीहरू नेकपा कार्यकर्ता हुन् । 

अवैध क्रसरमा राजनीतिक लगानी र संरक्षण यति बलियो छ कि नदीजन्य सामग्री उत्खननमा मेयर र वडाध्यक्षकै गाडी प्रयोग हुन्छन् । नियन्त्रणमा लिए उल्टै प्रहरी नै कारबाहीमा पर्छ । प्रदेश २ को प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति रामचन्द्र मण्डल नेतृत्वको अनुगमन टोलीले दुई महिनाअघि धनुषा र सिराहाका नदीमा अनुगमन गरेको थियो । टोलीले कमला नदीमा अवैध उत्खनन गर्दैगर्दा धनुषाको गणेशमान–चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवका चार टिपर र वडा नम्बर ८ का वडाध्यक्ष रितेशकुमार सिंहका दुई स्काभेटर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका सवारीसाधन प्रहरीको जिम्मा लगाएर टोली कमला नदीबाटै फर्किएको थियो । तर, केही समयमै प्रहरीले टिपर र स्काभेट छाडिदिएको थियो । त्यसयता सिराहाका क्रसर उद्योगको अनुगमनमा टोली फर्किएको छैन । अवैध उत्खननमा प्रयोग भएका टिपर र स्काभेटर प्रहरीलाई बुझाएर सिडिओलाई जानकारी गराई आफूहरू फर्किएको समिति सदस्य प्रदेश सांसद बिक्की यादवले बताए । अवैध रूपमा सञ्चालित क्रसर रोक्न आवाज उठाउँदा पटक–पटक धम्की आएको कर्जन्हा–२ बन्दीपुरका प्रकाश कोइरालाले बताए । 

बाँके :  क्रसरमा कांग्रेस नगर सभापति र राप्तीसोनारी गाउँपालिका वडाध्यक्ष साझेदार 
हुलाकी सडक निर्माणका लागि भन्दै राप्तीसोनारी–८ शमशेरगन्जमा गणपति क्रसर उद्योग सञ्चालनमा छ । यो क्रसर खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लले सञ्चालन गर्दै आएका छन् । यो क्रसरमा कांग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्टको पनि लगानी छ । अर्का लगानीकर्ता तत्कालीन जिल्ला विकास समिति बाँकेका सामाजिक विकास अधिकृत मीनबहादुर मल्लले भने अहिले हात झिकिसकेका छन् । ‘पहिले मेरो पनि केही प्रतिशत लगानी थियो, अहिले झिकिसकेको छु,’ उनले भने । कांग्रेस नेता विष्ट पनि क्रसरमा आफ्नो लगानी नभएको दाबी गर्छन् । तर, उनी हप्तामा दुई–तीनपटक क्रसरमा पुग्ने गरेको स्थानीय बताउँछन् । ‘मेरो लगानी छैन भन्नुहुन्छ, तर हप्तामा दुई–तीनपटक क्रसर उद्योगमा आउनुहुन्छ,’ एक स्थानीयले भने । 

दाङ : पूर्वमन्त्रीदेखि गाउँपालिका अध्यक्षसम्म क्रसरका मालिक
पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता दीपक गिरीको लगानीमा दाङमा दुईवटा क्रसर उद्योग सञ्चालनमा छन् । श्रीमतीको नाममा समेत सेयर राखेर उनले राप्ती नदीमा ॐ नमः शिवाय र स्वर्गद्वारी क्रसर उद्योग चलाएका छन् । त्यस्तै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफ्नै गाउँपालिकामा पर्ने राप्ती नदीमै देउखुरी भ्याली क्रसर उद्योग चलाएका छन् । तत्कालीन संविधानसभा सदस्य बुद्धिराम भण्डारीले पनि दंगिशरण गाउँपालिकामा गणेश बालुवा वासिङ उद्योग सञ्चालन गर्दै आएका छन् । यो उद्योगमा तुलसीपुर उपमहानगरपालिका–५ का अध्यक्ष वीरेन्द्र शाहको पनि लगानी छ । त्यस्तै, बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले छोरा प्रकाशको नाममा सेयर हालेर सोही गाउँपालिकामा कृप्रभिज्ञा बालुवा वासिङ उद्योग चलाएका छन् । 

जिल्लाका प्रायः क्रसर उद्योगले बालुवा प्रशोधन केन्द्रको अनुमति लिएर अवैध रूपमा क्रसर उद्योग चलाएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा हाल बालुवा र क्रसर उद्योग गरी ४५ उद्योगले नदीजन्य पदार्थ उत्खननका लागि अनुमति लिएका छन् । जसमध्ये १० उद्योगले मात्र क्रसरको काम गर्न अनुमति पाएका छन् । तर, बालुवा प्रशोधनको अनुमति पाएका प्रायः उद्योगले क्रसरको काम पनि गर्दै आएका छन् । जिल्ला समन्वय समिति दाङका उपप्रमुख श्रीधर पौडेलले जिल्लामा थोरै उद्योगले मात्र क्रसरको काम गर्ने अनुमति पाए पनि सबैजसो उद्योगले अवैध रूपमा क्रसरको काम पनि गर्दै आएको भेटिएको बताए । उनीहरूले मापदण्ड पनि पूरा गरेका छैनन् । 

झापा : नेकपा र कांग्रेस दुवैका नेताको क्रसरमा लगानी

बिर्तामोड–६ स्थित बुट्टाबारीमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ, कञ्चनजंगा क्रसर उद्योग जसका सञ्चालक हुन्, केदार गिरी । झापामा ‘क्रसर किङ’ भनेर चिनिने गिरी कांग्रेसका क्रियाशील सदस्य हुन् । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ झापाका पूर्वअध्यक्षसमेत हुन् । क्रसर मापदण्डविपरीत भएको भन्दै घरेलु तथा साना उद्योग कार्यालय झापाले पटक–पटक पत्रसमेत काटिसकेको छ । तर, राजनीतिक पहुँचकै कारण उनी प्रशासनलाई नै टेर्दैनन् । उनलाई दुई महिनाअघि काटिएको पत्रको जवाफ पनि नदिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले बताए । तर, गिरी भने उल्टै चुनौती दिन्छन्, ‘मैले सबै मापदण्ड पूरा गरेर स्वीकृति लिएको हुँ, कसले पत्र पठायो र ?’ 

कांग्रेसकै जिल्ला नेता शेरबहादुर थापाले पनि मापदण्डविपरीत क्रसर चलाएका छन् । अर्जुनधारास्थित खोलामै उनले जयकाली भगवती रोडा उद्योग चलाएका छन् जुन मापदण्डविपरीत छ । 

दमकको मवा खोलामा नेकपासम्बद्ध एक परिवारले तीनवटा क्रसर चलाएको छ । बालुवा प्रशोधन केन्द्रका नाममा ढुंगा र गिटी क्रसिङ पनि गरिँदै आएको छ । राजकुमार थापाको परिवारका तीनजनाले अवैध रूपमा उद्योग चलाएका हुन् । राजकुमारले दमक–९ स्थित बेतेनी खोलाको बगरमा एआरआर कंक्रिट उद्योग चलाएका छन् । उनको उद्योग बस्तीसँगै जोडिएको छ । त्यस्तै, उनका साइँला दाइ गुणराजले दमक–३ स्थित मावा खोलाको बगरमा टिएचओ बालुवा प्रशोधन केन्द्र र उनका माइली दिदीका छोरा विनोद थापाले इन्द्रभवानी बालुवा प्रशोधन केन्द्र चलाएका छन् । उनीहरूले राजनीतिक पहुँचकै आधारमा मापदण्डविपरीत यी प्रशोधन केन्द्र चलाउँदै आएका छन् । उद्योगले असर गर्दा पनि धम्कीका कारण बोल्न नसकेको स्थानीय बताउँछन् । राजकुमार र गुणराज नेकपाका सक्रिय स्थानीय नेता हुन् । राजकुमार तत्कालीन एमाले युवा संघ झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष थिए । उनी प्रधानमन्त्री केपी ओलीसँग सीधा पहुँच राख्ने स्थानीय नेताका रूपमा चिनिन्छन् । ओलीको सचिवालयमा यसअघि रहेका झापा नेकपाका प्रभावशाली नेता देवेन्द्र दाहालको पनि विश्वासपात्र हुन्, राजकुमार । दाहाल अब हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेकपाबाट प्रदेश १ बाट उम्मेदवार छन् । राजकुमारको दमकका जनप्रतिनिधिसँग पनि विशेष सम्बन्ध छ ।

मोरङ : स्थानीय सरकारका प्रतिनिधिको ढुंगा–बालुवा उद्योगको मोह

क्रसरमा लगानी गर्नेमा मोरङका जनप्रतिनिधि झनै अगाडि छन् । केराबारी गाउँपालिका अध्यक्ष रोहती कार्कीले खदमखोला क्षेत्रमा कृष्ण क्रसर चलाएका छन् । त्यस्तै केराबारी–१० का वडाध्यक्ष जंग खवास र वडा नम्बर ८ का अध्यक्ष मनोज खड्का र वडा नम्बर ३ का अध्यक्ष भक्त श्रेष्ठको पनि महादेव क्रसर छ । 

जनप्रतिनिधिले नै क्रसर सञ्चालन गरेर प्राकृतिक दोहन गरेको भन्दै चौतर्फी विरोध भएपछि उनीहरूले हात झिकिसकेको बताउँदै आएका छन् । ठेकेदार भीम पौडेललगायतलाई जिम्मा लगाएको र आफूहरूसँग कुनै क्रसर नरहेको ती जनप्रतिनिधिको दाबी छ । 

मोरङ उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागोले पत्नीको नाममा स्थानीय पूर्वेली क्रसरमा सेयर लगानी गरेका छन् । कांग्रेस प्रदेश सभा सदस्य उम्मेदवार बनेका नेता ईश्वरी कोइरालाको पनि लेटाङ नगरपालिकामा उत्तरी मोरङ क्रसर उद्योग सञ्चालनमा छ । 

ललितपुर : खानी संरक्षण समितिका संयोजक तथा वडाध्यक्षकै दुई अवैध क्रसर उद्योग

गोदावारी–६ का वडाध्यक्ष हुन्, विष्णुमान महर्जन । उनी नगरपालिकाले गठन गरेको खानी संरक्षण समितिका संयोजकसमेत हुन् । तर, गोदवारी–६ नल्लु खोला किनारमा उनकै दुईवटा क्रसर उद्योग छन्, गिटी तथा ढुंगाखानी उद्योग पनि छ । उनका क्रसर तथा ढुंगाखानी उद्योगले टीकाभैरवस्थित दम्सिडोल सामुदायिक वनको जुरेडाँडा दोहन गरेर नांगेझार पारिसकेको छ । 

गोदावरी–८ का वडाध्यक्ष सुकबहादुर लामाको पनि क्रसर उद्योग छ । उनको क्रसरले डुकुछापस्थित डाँडा दोहन गरिरहेको छ । बागमती नदी किनारमा रहेको क्रसरकै कारण नदीको बहाबसमेत परिवर्तन गरिएको छ । उनी पनि नगरपालिकाको खानी संरक्षण समितिका सदस्य हुन् । 

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पनि भाइसँग मिलेर लामो समयसम्म स्थानीय बगुवा खोलामा ग्रिन सिटी ढुंगा–रोडा खानी चलाए । जनप्रतिनिधीले नै अवैध रुपमा प्राकृतिक दोहन गरेको भन्दै विवाद भएपछि केही साताअघि मात्रै उनले आफ्नो सेयर बेचेका छन् । यो उद्योगले प्रकृतिक सम्पदाको दोहन गरिरहेको छ ।

बागमती गाउँपालिका–३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाको पनि भट्टेडाँडामा ढुंगा तथा रोडा उद्योग छ । गाउँपालिका प्रवक्ता तथा लेखा र सार्वजनिक सेवा समिति संयोजकको जिम्मेवारीसमेत सम्हालेका उनको कान्ति कन्स्ट्रक्सन पनि छ । 

बागमती गाउँपालिका–४ का वडासदस्य रामकुमार लामाले पनि प्युटारमा क्रसर उद्योग चलाएका छन् । उनको क्रसरले प्युटारआसपासका क्षेत्र दोहन गरिरहेको छ । वडाअन्तर्गत हुने सम्पूर्ण विकास निर्माणका काममा उनकै क्रसरबाट उत्पादन भएको रोडा प्रयोग हुँदै आएको छ ।

धादिङ : पार्टीका नेतादेखि जनप्रतिनिधिसम्मको लगानी

गल्छी गाउँपालिका–६ को महेश दोभानस्थित बालुवा खानी जय पञ्चकन्या स्यान्ड वासिङ प्रालिमा गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठकै लगानी रहेको छ । श्रेष्ठ ०७४ को स्थानीय निर्वाचनमा तत्कालीन एमालेबाट अध्यक्ष चुनिएका हुन् । सोही गाउँपालिकामा कांग्रेसबाट अध्यक्षको उम्मेदवार रहेका विनोद कार्कीलगायत ६ जनाको पनि सो उद्योगमा लगानी छ । जिल्लास्थित घरेलु कार्यालयको रेकर्डमा उद्योग सञ्चालकमा अनिल श्रेष्ठको नाम छ । अनिल कृष्णहरिका छोरा हुन् । कृष्णहरि अध्यक्षमा निर्वाचित भएपछि उद्योगको सबै काम छोरा अनिलले सम्हाल्दै आएका छन् । जय पञ्चकन्या मात्र होइन, गल्छी गाउँपालिका–६ महेशफाँटमा दर्ता भएको केबिएस कन्स्ट्रक्सन एन्ड सप्लायर्स पनि श्रेष्ठकै हो, जसले कच्चा बालुवा बिक्री गर्छ । नयाँ फिरफिरे उद्योग दर्ता गर्नुअघि कच्चा पदार्थ दिने बालुवा खानीको सिफारिस चाहिन्छ । गाउँपालिका अध्यक्ष श्रेष्ठको केबिएस सप्लायर्सले त्यस्तो सिफारिसबाट मात्रै वार्षिक लाखौँ रुपैयाँ कमाउँछ ।

गजुरी गाउँपालिकामा सञ्चालित मलेखु एग्रिगेट क्रसर उद्योगमा नेकपा सांसद भूमि त्रिपाठीका भतिजा सन्देश त्रिपाठीको लगानी छ । मलेखु एग्रिगेट क्रसरले नदी सतहबाट २० देखि २५ फिट गहिरो खाल्डो बनाएर ढुंगा–बालुवा निकालिरहेको छ । गजुरी गाउँपालिकाको मलेखु निर्माण सामग्री क्रसर उद्योग केहीअघिसम्म नेकपाका नेता राजेन्द्र पाण्डेका छोरा प्रकाश पाण्डेको थियो । विवाद भएपछि उनले सेयर बेचेका छन् । त्यस्तै, प्रदेश ३ का प्रदेश आन्तरिक मामिलामन्त्री सालिकराम जमरकट्टेलकै सहयोगमा गणेशलाल श्रेष्ठले मलेखुमा क्रसर चलाउँदै आएका छन् ।

बाराका सिडिओ भन्छन्–अवैध डोजर चलाउने ठेकेदारलाई कारबाही गर्न जिससलाई सिफारिस गर्‍यौँ, उल्टै पुरस्कृत गर्‍यो

बाराको पसाहा खोलामा मापदण्डविपरीत डोजरले बालुवा निकालेको उजुरी परेपछि सिडिओ फणीन्द्रमणि पोखरेल गत बिहीबार अनुगमनमा गए । ओम सप्लायर्स एन्ड ट्रेडर्सनामक कम्पनीलाई जितपुर–सिमरा नगरपालिकाले एउटा डोजर लगाएर बालुवा निकाल्न ठेक्का दिएको थियो । तर, खोलामा दुईवटा डोजर प्रयोग भइरहेको देखेपछि सिडिओ पोखरेलले एउटा डोजरको साँचो खोसे । 

साँचोसहित उक्त कम्पनीलाई कारबाही गर्न जिल्ला समन्वय समितिलाई पत्र लेखे । तर, समन्वय समितिले कारबाही होइन, सो कम्पनीलाई डोजरको साँचो फिर्ता गरिदिएर थप दोहनको बाटो खोलिदियो । समन्वय समितिका अध्यक्ष नवलकिशोर सिंहले विनानिर्णय त्यसरी साँचो फिर्ता गरेका थिए । सिडिओ पोखरेल भन्छन्, ‘कारबाही गर्न पत्राचार गरेका थियौँ, उल्टै पुरस्कृत गरिएछ, हामी केही गर्न नसक्ने अवस्थामा छौँ ।’