सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीलाई मूलधारको राजनीतिक प्रक्रियामा आउन सरकारले आग्रह गरेको छ ।
विध्वंसात्मक गतिविधिबाट राज्यमा शान्ति र समृद्धि स्थापित नहुने बताउँदै सरकारले यस्तो धारणा सार्वजनिक गरेको हो ।
बिहीबार सिंहदरबारमा सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लवलाई राजनीति प्रक्रियामा आउन आह्वान गरे ।
‘वहाँकै पार्टीको पोलिट ब्यूरो सदस्यहरू धमाधम राजनीतिक प्रक्रियामा आउन थाल्नुभएको छ । वहाँ पनि अब राजनीतिक प्रक्रियामा आउनुपर्छ,’ प्रवक्ता बास्कोटाले भने, ‘लुकेर हमला गर्ने, जनताको रगत, पसिनाबाट बनेको टेलिफोनका टावर ध्वस्त गर्ने यस्तो तरिकाले वहाँहरूलाई नै राम्रो गर्दैन । त्यसैले हामीले वहाँहरूलाई आतंककारी भनेका हौं ।’
पछिल्लो समय भ्रष्टाचार बाहिरिएपछि बिवाादित बनेको बालुवाटारको जग्गामा विप्लव समूहले झण्डा गाढेर कब्जा गर्न लागेको भन्ने हल्लामा कुनै शक्ति नरहेको उनले प्रस्ट पारे । बालुवाटारको जग्गा जनताको सार्वजनिक जग्गा भएको र यसमा सरकारको पूाणर्् हक लाग्ने भएकाले यो जग्गामा कसैले झण्डा गाढ्दैमा कब्जा नहुने पनि उनले तर्क गरे ।
भीम रावलको आरोप असत्य
नेपाल कम्युनिस्ट पार्टीको शीर्ष नेता भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की आएको समाचार निराधार रहेको प्रवक्ता बास्कोटाले स्पष्ट पारे ।
‘प्रधानमन्त्रीबाट ज्यान मार्ने धम्की आयो भन्ने हल्ला मात्र हो, सत्यता होइन । पार्टीभित्र देखिएका असन्तुष्टिबारे बहस गर्न अध्यक्षज्यू सधैं तयार हुनुन्छ,’ बास्कोटाले भने, ‘छलफल, बहस, टिप्पणी गर्न सकिने विषयलाई लिएर ज्यान मार्ने धम्की दिन के तपाईंहरूलाई लाग्छ प्रधानमन्त्री यति क्रूर हुनुहुन्छ ?’
यो हल्लामात्र भएकाले कुन फोन नम्बरबाट कतिबेला फोनमा धम्की आएको हो स्पष्ट पार्न पनि बाँस्कोटाले रावललाई चुनौती दिएका छन् । प्रधानमन्त्रीसँग विमतिकै आधारमा रावलले ज्यान मार्ने धम्की आयो भन्न नपाइने पनि उनले जिकिर गरे ।
फरक प्रसङ्गमा प्रवक्ता बास्कोटाले प्रधानमन्त्री नेकपाकै नेता भएको र उनको सुरक्षा व्यवस्था सरकारले उपलब्ध गराएकै जति भएकाले प्रधानमन्त्रीको सुरक्षा व्यवस्था निक्कै व्यववस्थित भएको पनि बताए ।
प्रधानमन्त्रीले आफ्नै नेता र कार्यकर्ताविरुद्ध गोजीमा गोलीको माला बोकेर नहिँडेको पनि उनले स्पष्ट पारे ।