मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ २ बिहीबार १३:०९:००
Read Time : > 1 मिनेट
समाचार

भुसाल वा यादवमध्ये एकलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको योजना  

Read Time : > 1 मिनेट
२०७६ माघ २ बिहीबार १३:०९:००

प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएर सभामुखका लागि मार्ग प्रशस्त गरेको खण्डमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख वा उपसभामुखका लागि दुई जना महिला नेतृहरूको नाममा छलफल अगाडि बढाएको छ ।  

सभामुख र उपसभामुख मध्ये एक पदमा फरक राजनीतिक दलबाट महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार कांग्रेसले महिला नेतृहरूको नाम अगाडि सारेको हो । 

कांग्रेस स्रोतका अनुसार कांग्रेसका सांसदद्वय पुष्पा भुसाल र केन्द्रीय सदस्य चित्रलेखा यादवलाई सभामुख वा उपसभामुखको उम्मेदवार बनाउने छ । भुसाल र यादव दुबैजना पार्टी केन्द्रीय सदस्य छन् । 

यसमध्ये भुसाल पार्टी संसदीय दलको सचेतक छिन् भने यादव पूर्व उपसभामुख हुन् । २०६२–०६३ को आन्दोलनताका विघटित प्रतिनिधि सभाको सभामुखको रुपमा भूमिका निर्वाह गरेर चर्चित बनेकी थिइन् । 

नाम उल्लेख नगर्ने शर्तमा सभापति शेरबहादुर देउवा निकट एक नेताले नयाँ पत्रिकासँग भने, कांग्रेसका एक ‘सभामुख पदमा पार्टीले उम्मेदवार दिनुपर्ने स्थितिमा संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसाल वा चित्रलेखा यादवमध्ये एकजनालाई उम्मेदवार बनाउने योजना बनाइएको छ ।’    

दुई महिला नेतृमध्ये बढी सम्भावना भने भुसालकै रहेको ती नेताले बताए ।  

नेतृ भुसालले पनि पार्टीको संस्थागत निर्णय मान्ने बताइन् । ‘पार्टीले मलाई निर्णय ग¥यो भने मान्छु’ नयाँ पत्रिकासँगको कुराकानीमा उनले भनिन्, ‘यो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्न सक्छु भन्ने लागेको छ ।’  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुख वा उपसभामुख कुन पदको निर्वाचन हुने हो त्यसको स्पष्ट भइसकेपछि रणनीति बनाउने जानकारी दिए । 

‘उपसभामुखले राजीनामा दिनुभएन भने हामीले एक खालको रणनीति बनाउँछौं’ शर्माले भने, ‘राजीनामा दिनुभयो भने अर्को खालको रणनीति बनाउँछौँ ।’    

उपसभामुखले राजीनामा नदिएको स्थितिमा सत्तारुढ नेकपाले सभामुखमा दाबी गर्न सक्दैन । प्रवक्ता शर्माले थपे, ‘तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा नदिएको स्थितिमा नेकपाको धारणा बुझेर पार्टी अघि बढ्नेछ ।’  

उपसभामुखले राजीनामा दिएको स्थितिमा दुबै पद रिक्त हुने भएकाले सभामुख र उपसभामुख दुबै पदको निर्वाचन हुनेछ । कांग्रेस त्यसै अनुसारको योजना बनाएर अघि बढ्ने योजनामा छ । 

नेपालको संविधान– २०७२ को धारा ९१ (२) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्ने व्यवस्था छ भने प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधित्व हुनु पर्ने व्यवस्थापनि त्यसैमा छ ।  

संविधान यस्तो व्यवस्था भए पनि नेकपाले तत्कालिन सभामुख कृष्णबहादुर महरालाई माओवादी केन्द्रबाट र वर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेलाई बनाएको थियो । 

पार्टी एकता नहुँदै महरा र तुम्बाहाम्फे सभामुख र उपसभामुख भएकाले संविधानको उपरोक्त व्यवस्था आकर्षित भएको थिएन । यद्यपी, पार्टी एकतापछि भने संविधानको उपरोक्त धारा आकर्षित भएको बताउँदै कांग्रेसले सभामुख वा उपसभामुखमध्ये एकले राजीनामा दिनुपर्ने माग गरेको थियो ।  

सभामुख निर्वाचनका लागि नेकपा केन्द्रीय सचिवालयको पुसको अन्तिम साता बसेको बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको २६ पुसको बैठकले निर्देशन दिएको थियो । तर उनले राजीनामा दिन अस्वीकार गर्दै आएकी छन् ।  

२०७४ को प्रतिनिधि सभा निर्वाचनपछि भएको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रबाट सभामुखको उम्मेदवार बनेका महरालाई समर्थन गरेकाले महरा निर्विरोध निर्वाचित भएका थिए ।