मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ माघ २ बिहीबार ०९:३०:००
Read Time : > 2 मिनेट
सेयर बजार

नेप्से ६ महिनाकै उच्च बिन्दुमा

Read Time : > 2 मिनेट
काठमाडौं
२०७६ माघ २ बिहीबार ०९:३०:००

१५ दिनमै १ सय १८ अंक बढ्यो 

१५ दिनमै सेयर बजार परिसूचक १ सय १८ अंकले बढेर १ हजार २ सय ८४ दशमलव २३ बिन्दुमा पुगेको छ । बुधबार करिब २१ अंक जोडेसँगै बजार ६ महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ । बजार बढ्नुमा मुख्य कारण नै बैंक तथा वित्तीय संस्थामा बढ्दो तरलता हो । हाल बैंकहरूसँग करिब ५० अर्ब अधिक तरलता छ । तरलता वृद्धिसँगै बैंकहरूमा कर्जायोग्य पुँजी अभावको समस्यासमेत हाललाई समाधान भएको छ । बैंकहरूमा कर्जाको माग घट्न थालेको बैंकर बताउन थालेका छन् । यही कारण सेयर धितोमा दिइने कर्जाका लागि समेत कम ब्याजदर लिन थालेका छन् । 

‘अहिले ठूला लगानीकर्ताले बैंकबाट १० प्रतिशतभन्दा कम ब्याजदरमा पनि कर्जा पाइरहेका छन्,’ एक ब्रोकरले भने, ‘साना लगानीकर्ताले समेत ११ प्रतिशतसम्ममा कर्जा पाइरहेका छन् ।’ बजारमा देखिएको अधिक तरलताको अवस्थामा समेत क्रमिक रूपमा सुधार आउन थालेको छ । केही दिनअघिसम्म १ प्रतिशत हाराहारीमा कारोबार भइरहेको अन्तरबैंक ब्याजदर मंगलबार नै ३ प्रतिशतमाथि (३.५१) उक्लिएको छ । हुन त, पुस मसान्तमा भने कर तिर्ने प्रयोजनका लागि बैंकहरूबीचको अन्तरबैंक कारोबारमा पनि वृद्धि भएकाले ब्याजदर बढेको बताइन्छ । यो ब्याजदर आगामी दिनमा पनि बढ्दै गएमा भने बैंकहरूलाई पुँजीको आवश्यकता बढ्न थालेको संकेत गर्छ । 

राष्ट्र बैंकले मंगलबार नै बैंकहरूले विदेशबाट ल्याएको ३ वर्ष अवधिको ऋणलाई समेत कर्जा तथा निक्षेप अनुपातको गणनामा प्रयोग गर्न सक्ने र शतप्रतिशत रकम कर्जा लगानी गर्न सकिने सुविधा दिएको छ । यसले पनि बैंकहरूमा पुँजी अभाव समस्या कम हुने भएको छ । त्यस्तै, नागरिक लगानी कोष र बिमा संस्थानको लगानीमा स्टक डिलर कम्पनी बनाउने तयारी अन्तिम चरणमा आइपुगेको खबर पनि सार्वजनिक भएका छन् । यसले पनि बजार बढाउन सहयोग पुगेको हो । 

१२८४ को खड्गो 
एक वर्षयता नेप्सेले १ हजार ३ सय २१ मा उच्च बिन्दु कायम गरेको छ । त्यसयता घटेर १ हजार १ सय ९ सम्म आइपुगेको नेप्से परिसूचकले हालसम्म ८२.६४ प्रतिशत रिट्रेसमेन्ट गरिसकेको छ । ७८ प्रतिशतको रिट्रेसमेन्टको खड्गो पार गरेको देखिएको छ । तर, गत ८ साउनमा १ हजार २ सय ८४ बाट घटेको परिसूचकलाई त्यही बिन्दु प्रतिरोधका रूपमा रहेको छ । 

परिसूचकमा उतारचढाव
कारोबारमा आएका दर्जन समूह सूचकमध्ये ३ समूहको परिसूचक मात्र घटेको छ । शिवम् सिमेन्टको मूल्य २ प्रतिशतले घटेपछि उत्पादनमूलक समूहको परिसूचकमाा १६ अंकसम्म गिरावट आयो । होटेल समूहमा ३ अंकको वृद्धि देखिएको छ भने नेपाल टेलिकमको मूल्यसमेत घटेपछि अन्य समूहको परिसूचक घटेको हो । यस दिन कुल १ सय ७७ कम्पनीको सेयर किनबेच भएर ३० लाख ५५ हजारभन्दा केही बढी सेयर कारोबार भए । कारोबार रकम ९० करोड ४८ लाख पुगेको छ । कारोबार संख्या, रकम र सेयर संख्याको आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा छ । यस बैंकको सबैभन्दा धेरै ५ सय ३५ पटकको किनबेचबाट १ लाख ६० हजार सेयर कित्ता खरिद बिक्री भएर ७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । 

प्राविधिक विश्लेषण 
नेप्सेको उच्च, न्यूनतम र बन्द बिन्दुबाट निकालिएको पिभट बिन्दु १ हजार १ सय ५३ दशमलव ४५ छ । बजार बिहीबार बढ्दो क्रममा रहे १ हजार १ सय ५६ बिन्दुमा पहिलो प्रतिरोध र घटेमा १ हजार १ सय ४८ बिन्दुमा पहिलो टेवा पाउनेछ । ७ दिने र २१ दिने सिम्पल मुभिङ एभरेज रेखा नजिकिँदै गएका भए पनि ७ दिने रेखा २१ दिनेभन्दा माथि नै छ । यसले बजार बुलिस प्रवृत्तिमै रहेको संकेत गर्छ । त्यस्तै, १४ दिने आरएसआई इन्डेक्सको ८३ दशमलव ३९ स्केलमा नेप्से रहेको छ । ओभरबट जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चाप बढेको संकेत गर्छ ।