मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गत वर्ष भएको छैटौँ मनकामना पोखरा कपमा उपविजेता बनेपछि पुरस्कार थाप्दै एपिएफ ।
२०७६ माघ २ बिहीबार ०८:४६:००
Read Time : > 1 मिनेट
खेलकुद

पोखरा कपको गत वर्षका उपविजेता र उत्कृष्ट खेलाडीले अझै पाएनन् पुरस्कार

Read Time : > 1 मिनेट
२०७६ माघ २ बिहीबार ०८:४६:००

छैटौँ मनकामना पोखरा कपको उपविजेताले चार लाख पाँच हजार पाउनुपर्नेमा तीन लाख पाँच सय ५५ रुपैयाँ मात्र दिइयो, उत्कृष्ट खेलाडी राजु नगरकोटीले अहिलेसम्म पाएनन् मोटरसाइकल

सातौँ मनकामना पोखरा कप फुटबल प्रतियोगिता १ देखि १० फागुनसम्म पोखरामा हुँदै छ । आयोजकले सातौँ संस्करणको तयारी सुरु गरिसकेको छ । बिडम्बना के छ भने आयोजकले अहिलेसम्म पनि गत संस्करणका उपविजेता र उत्कृष्ट खेलाडीलाई घोषित पुरस्कार पूरै दिएको छैन । छैटौँ संस्करण समाप्तिको ११ महिना बित्दा पनि मुख्य आयोजक अखिल नेपाल फुटवल संघ कास्कीले गत वर्षको उपविजेता एपिएफ र उत्कृष्ट खेलाडी एपिएफकै गोलरक्षक राजु नगरकोटीलाई पूरै पुरस्कार प्रदान गरेको छैन । आयोजकले उपविजेतालाई चार लाख पाँच हजार रुपैयाँ र उत्कृष्ट खेलाडीलाई याहामाको मोटरसाइकल दिने घोषणा गरेको थियो । 

आयोजकले उपविजेताको घोषित रकममध्ये तीन लाख पाँच सय ५५ रुपैयाँ मात्र दिएको छ । एपिएफले आयोजक एन्फा कास्कीसँग एक लाख पाँच हजार रुपैयाँ लिन बाँकी छ । उत्कृष्ट खेलाडी नगरकोटीले एक वर्षसम्म पनि मोटरसाइकल नपाउँदा यसै साता सामाजिक सञ्जालमै खुलेर कमेन्ट गरे । नगरकोटीले उत्कृष्ट खेलाडी भएको तस्बिरसमेत राखेर लेखेका छन्, ‘०७५ सालमा सम्पन्न मनकामना केबुलकार पोखरा कप सकिएको ११ महिना बित्दासमेत उत्कृष्ट खेलाडीबापत पाउनुपर्ने मोटरसाइकल पाएको छैन ।’ 

दुई महिनाअघि एपिएफले उपविजेताले पूरा रकम र उत्कृष्ट खेलाडीले मोटरसाइकल कहिले पाउँछ भनी आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङसँग पुरस्कार प्राप्तिकाे ढिलाइबारे कुरा राखेकाे थियो । अध्यक्ष गुरुङले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितापछि घोषित पुरस्कार उपलब्ध गराउने वाचा दिए । तर, साग समाप्त भएको डेढ महिनासम्म पनि अध्यक्ष गुरुङले पीडित पक्षलाई केही प्रतिक्रिया दिएका छैनन् । ‘हामी अध्यक्षज्यूको वाचाअनुरूप प्रतीक्षा गरेर बस्यौँ, तर साग समाप्तिपछि उहाँले हामीलाई केही पनि जानकारी गराउनुभएन,’ उत्कृष्ट खेलाडी नगरकोटीले नयाँ पत्रिकासँग भने ।

गत वर्षको पुरस्कार बाँकी रहँदारहँदै सातौँ संस्करणको घोषणा हुँदा आफूहरू अचम्ममा परेको उनको भनाइ छ । ‘हामीले पाउनुपर्ने पुरस्कार रकम ११ महिनासम्म पाएका छैनौँ, यसैबीच नयाँ संस्करण घोषणा भएको छ,’ नगरकोटीले भने, ‘पहिले गत वर्षको घोषित पुरस्कार त दिनुपर्‍यो नि !’ नगरकोटी र एपिएफ व्यवस्थापनले अध्यक्ष गुरुङसँग सागपछि वार्ता गर्न प्रयास गरेका थिए । तर, उनी सम्पर्कविहीन भई बसेको नगरकोटीले जानकारी दिएका छन् । 

मोटरसाइकल होइन, रकम दिनुस् भनेकाले ढिलो भएको हो – अध्यक्ष गुरुङ
उत्कृष्ट खेलाडी भएका नगरकोटी आफूलाई मोटरसाइकल नदिएको दाबी गर्छन् । तर, कास्कीका अध्यक्ष गुरुङले भने मोटरसाइकल लिन बोलाए पनि नगरकोटी नआएको बताए । ‘उहाँहरूलाई बोलाउँदा कहिले ड्युटीमा छु, कहिले के काम पर्‍यो भनेर उत्तर दिनुहुन्छ,’ गुरुङले भने, ‘सम्बन्धित व्यक्ति नै पोखरामा पुरस्कार लिन नआएकाले यस्तो हुन गएको हो ।’ यो ११ महिनाको बीचमा नगरकोटीले मोटरसाइकलको बदलामा रकम माग गरेपछि समस्या आएको अध्यक्ष गुरुङको भनाइ छ । ‘उत्कृष्ट खेलाडीले मलाई मोटरसाइकल चाहिँदैन, त्यसबापत पैसा दिनुस् भनेका कारण पनि समस्या आएको हो,’ पुरस्कार दिन ढिला हुनुको अर्को कारण देखाउँदै गुरुङले भने ।