
‘झिम्के मामा’ सामाजिक यथार्थवादी नाटक भएको निर्माण टिमको भनाइ छ । नाटकमा समाजको संस्कारलाई पात्रहरूका माध्यमबाट चित्रण गरिएको निर्देशक प्रदीपकुमार चौधरीले बताए । नाटकको कथा दुर्गाप्रसाद पाण्डेले लेखेका हुन् ।
पाण्डेलाई झिम्के पात्रले छोइरहेको थियो, त्यसबारे उनले चौधरीलाई बताए । र, चौधरीले नाटकको रूप दिए । ‘झिम्के मामा’ नाटक माघ २ देखि २६ सम्म अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन हुनेछ ।‘मानवतालाई समाजले कसरी पतन गरिरहेको छ भन्ने नाटकमा चित्रण गरिएको छ,’ चौधरीले भने, ‘काममा उत्तम, कर्मले जितेको र जन्मले हारेकाको कथा हो, ‘झिम्के मामा’ । ऊ समाजमा अट्न नसकेको पात्रको एउटा रूप हो ।’
पूर्वी पहाडको एउटा गाउँ (देउराली)को घटनालाई नाटकमा देखाइने निर्देशक चौधरीले बताए । कथाअनुसार देउरालीको छेउछाउमा सातवटा गाउँ छन्, जहाँ ब्राह्मण–क्षेत्रीलगायत जातजातिको बसोवास छ । ‘शिवहरि आचार्य नामक ब्राह्मणको घरमा पाँच वर्षदेखि बस्दै आएको झिम्के जब ‘सार्की’ हो भन्ने थाहा हुन्छ, त्यसपछि कथाले नयाँ मोड लिन्छ,’ निर्देशक चौधरीले भने, ‘दलित भएका कारण झिम्के मामाले भोगेको दारुणिक कथा नाटकमा छ, जो हाम्रो समाजको यथार्थ पनि हो ।’
नाटकको प्रमुख पात्रको भूमिका अंकित खड्काले गर्दै छन् । यस्तै, नाटकमा अनुप न्यौपाने, संयोग गुरागाईं, सागर खाती कामी, रिता श्रेष्ठ, युनिस श्रेष्ठ, काव्या बराल आदिको अभिनय देख्न पाइनेछ । सुशील पाण्डे, विकास पन्त, मोहन थापा, उषाकिरण काफ्ले, क्रिजन महत, रक्षा थापा, अर्विन्द अमात्यले पनि नाटकमा अभिनय गरेका छन् ।