मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आहुति
२०७५ माघ २ बुधबार ०७:२७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

पृथ्वीनारायणको टेकोमा राष्ट्रवादको यात्रा

पृथ्वीनारायणलाई देशको भूगोल बनाएको श्रेय दिन सकिन्छ, राष्ट्रिय एकीकरणका नायक मान्न सकिन्न

Read Time : > 4 मिनेट
आहुति
२०७५ माघ २ बुधबार ०७:२७:००

पृथ्वीनारायण शाहबारे नेपाली समाजमा थुप्रै विषयमा फरक–फरक कोणबाट छलफल र बहस हुँदै आएका छन् । पछिल्ला केही वर्षमा अलिक तिखो बहस पनि हुने गरेको छ । बहसको केन्द्रमा पहिलो प्रश्न पृथ्वीनारायण शाह नेपालको एकताका प्रतीक हुन सक्छन् कि सक्दैनन् ? भन्ने छ । यो प्रश्न किन जन्मियो भने उनको नेतृत्वमा जुन कामको आरम्भ भयो, त्यो एकीकरण थियो कि थिएन ? भन्नेसँग यो गाँसिएको छ । जसले पृथ्वीनारायण शाहको त्यो अभियान ‘एकीकरण’ थियो भन्छन्, तिनले २७ पुसलाई ‘राष्ट्रिय एकता दिवस’ मान्छन् ।

तर, जसले त्यो ‘एकीकरण’ होइन भन्छन्, तिनले राष्ट्रिय एकता दिवस नमान्न सक्छन् । विगतमा काटमार वा षड्यन्त्र गरेर एउटा देश बनाइसकेपछि इतिहासमा त्यसलाई ‘एकीकरण’ भन्ने चलन आयो । एकीकरण पक्षधरले संसारभर यसरी नै राज्य विस्तार हुने रहेछ भनेर त्यही अवधारणालाई सही ठाने भन्ने एउटा तर्क छ । दोस्रो तर्क के छ भने स–साना राज्य त्यतिवेला अर्थतन्त्रका हिसाबले आत्मनिर्भर हुन सक्ने अवस्थामा थिएनन् र समाजको प्रगतिका निम्ति विशाल अर्थतन्त्रसँग जोडिन त्यसले सहयोग ग¥यो र एकीकरण भयो भनिन्छ । तेस्रो तर्क के छ भने पृथ्वीनारायण शाहले युद्ध गरेर राज्य एकीकरण नगरेको भए हामी अंग्रेजका गुलाम बन्नुपथ्र्यो । त्यसैले पनि यो महान् काम थियो र यसलाई एकीकरण भनिनुपर्छ । मलाई लाग्छ, अहिलेसम्मका बहस यिनै विषयमा केन्द्रित छन् । 

यसलाई अलिक विस्तारमा छलफल गरौँ– संसारभर सामन्तवादी राज्य दमनको प्रक्रियाबाट निर्माण भएका हुन्, त्यसैले त्यो ठीक थियो भन्ने हो भने यो तर्क बेठीक हो । किनभने कुनै पनि कुरा संसारभर भयो भन्दैमा त्यो सही नै हुन्छ भन्ने हुँदैन । यस तर्कलाई आधार मान्ने हो भने संसारभर विश्वयुद्व भयो, के त्यो ठीक थियो ? इतिहासमा धर्मयुद्ध भए, के ती ठीक थिए ? एउटा काल थियो, संसारभर डाँका लाग्थे, के त्यो ठीक थियो ? संसारभर अश्वेत र महिलामाथि दमन, अत्याचार गरियो, गरिँदै छ, के त्यो ठीक थियो ? संसारमा राज्यहरू सल्लाह, बहसबाट पनि एकताबद्ध भएको इतिहास छ । के त्यतातर्फ हामीले आफ्नो बहस केन्द्रित गर्नु पर्दैन ? इस्लाम सभ्यता छलफल, बहसबाटै बनेको हो । त्यसैले बहसबाट राज्य एकताबद्ध हुँदैनन् भन्ने पनि छैन । 

हामीले संसारभर काटमारबाट निर्माण गरिएका राज्यबारे बहस गर्नुपर्छ । यस आधारमा यहाँ पनि काटमार र षड्यन्त्रबाट बनेको राज्यबारे छलफल नगर्ने भन्ने हुँदैन । इतिहासका पुस्तकमा यस्तो वा त्यस्तो छ भनेर हुँदैन । पुस्तकमै ती विषय किन लेखिए ? भन्नेबाट बहसको सुरुवात गर्नुपर्छ । सामन्तवादी इतिहासकारले ‘एकीकरण’ भनेर जुन शब्द र अवधारणा संसारभर ल्याए, त्यो परिभाषा नै गलत छ । त्यसैले नयाँ पुस्ताले त्यसमा औँला ठड्याउनुपर्छ । कुनै वेला भारतमा अलेक्जेन्डरले विजय हासिल गरे । कल्पना गरौँ, अलेक्जेन्डर नहारेका भए र भारत युरोपकै साम्राज्यमुनि रहेको भए, त्यसलाई हामी कुन अर्थमा बुझ्थ्यौँ । यस अर्थमा त हामीले सन् १९४७ को भारतीय स्वतन्त्रता आन्दोलनलाई पनि नमान्नुपर्ने हुन्थ्यो । 

त्यसैको समानान्तर अर्को अवधारणा पनि सल्बलाइरहन्छ । जे–जस्तो प्रक्रियाबाट भए पनि भूभाग जोडिएपछि एकीकरण भन्नुपर्छ भनिन्छ । त्यसो हो भने जंगबहादुरलाई हामीले के भन्ने ? किनभने उनले पनि त बाँकेदेखि कञ्चनपुरसम्मको जमिन फिर्ता गराएका थिए । त्यस आधारमा हामीले उनलाई उप–एकीकरणकर्ता भन्नुपर्ने हुन्छ । यी सबै आफ्नो स्वार्थअनुकूलका व्याख्या र अवधारणा हुन् । इतिहासमा यस्ता अवधारणा कसको स्वार्थमा निर्माण गरिए र कसको स्वार्थमा पाठ्यक्रममा प्रवेश गराइयो र प्रचार गरियो भनेर हामीले पुनर्विचार र बहस नगर्ने हो भने हामी ठीक निष्कर्षमा पुग्न सक्दैनौँ ।

त्यसैगरी त्यतिवेलाका कैयौँ साना राज्यलाई ‘भुरे–टाकुरे’ भन्ने शब्द प्रयोग गरिएको छ । मलाई लाग्छ, इतिहासमा प्रयोग गरिएका ती शब्द पनि गलत नियतसाथ प्रयोग गरिएका थिए । के काठमाडौं भुरेटाकुरे थियो ? जब कि गोरखालाई कहिल्यै ‘भुरे–टाकुरे’ भनिएको छैन । इतिहास हेर्ने हो भने गोरखा पनि अन्य राज्यजत्तिकै हैसियत भएको राज्य थियो । यसो किन भयो भन्दा जति पनि इतिहास लेखक थिए, उनीहरू गोरखा पक्षीय भएर इतिहासको व्याख्या र प्रचारमा लागेका थिए । त्यतिवेला ती राज्यको अर्थतन्त्र धान्न नसक्ने खालको थियो, त्यसैले उनीहरू जोडिनुपर्ने आवश्यकता थियो भनेर माक्र्सवादीले समेत भन्ने गरेको पाइन्छ । यसलाई दुई–तीन कोणबाट हेर्न सकिन्छ । 

पहिलो, उनीहरू आर्थिक रूपमा टिक्न नसकेको कुरा तिनै राज्यले नै भनेका हुन् अथवा विरोधी राज्यले ? त्यो त विजेता राज्यले भनेको हो । दोस्रो, ती टिक्नै नसक्ने अवस्थामा थिए भने के तीनले विदेशबाट ऋण लिएर खाइरहेका थिए ? जब कि इतिहासमा यस्तो देखिँदैन । टिक्नै नसक्ने अवस्थाका राज्यले गोरखासँग प्रतिरोध गर्छन् कि आत्मसमर्पण गर्छन् ? पृथ्वीनारायण शाह त कीर्तिपुरमै हारेका हुन्, पछि पो जिते । तेस्रो, पृथ्वीनारायण शाहको राज्य विस्तारपछि ती राज्य टिकाउनका लागि राज्यले गरेको के हो ? तथ्यलाई हेर्ने हो भने त्यो पनि देखिँदैन । वास्तवमा भन्ने हो भने राज्यले अहिलेसम्म कर असुल्ने, उनीहरूको जमिन बिर्ता, गुठीमा ल्याएर उनीहरूको आर्थिक स्थिति झन् खत्तम पार्ने कामबाहेक केही गरेको छ ? त्यसैले यो तर्क पनि पुष्टि हुने आधार छैन । जनसमुदायको सभ्यतामाथि हस्तक्षेप गरेर उनीहरूबारे आफूले निर्णय गरेर गरिने शासनलाई एकता प्रक्रिया होइन, हस्तक्षेप प्रक्रिया भन्न सकिन्छ । 

हो, जुनसुकै प्रक्रियाबाट भए पनि एउटा भूखण्डभित्र, एउटै नियम, शासन र अन्तर्रक्रियामा बाँच्न थालिसकेपछि त्यहाँभित्रबाट पैदा हुने एकता, आत्मीयता र राष्ट्रियताको जहाँसम्म प्रश्न छ, त्यो बेग्लै विषय हो । उदाहरणका रूपमा बा–आमाले मागीविवाह गरिदिएपछि पनि दुई अन्जान व्यक्तिबीच जुन अनुराग र प्रेमको विकास हुँदै सन्तान उत्पन्न हुन्छ र एउटा परिवार बन्छ, त्यस्तैगरी एउटा भूखण्डभित्र त्यस्तै अनुराग पैदा हुँदैन भनेको होइन । तर, सन्तान त बलात्कारबाट पनि जन्मिन्छ, के यस्तो अवस्थामा बलात्कारलाई ठीक भन्न सकिन्छ ? त्यसैले संसारमा धेरै देश दमनपूर्ण तवरबाट निर्माण हुन सक्छन् । तर, यसको अर्थ त्यहाँ प्रतिरोध छैन भन्ने होइन । 

कहिलेकाहीँ सुन्ने गरिन्छ– पृथ्वीनारायण शाहले एकीकरण नगरिदिएको भए हामीले आफूलाई नेपाली भन्नै पाउँदैनथ्यौँ । हामीले बुझ्नुपर्ने के छ भने पृथ्वीनारायण शाह स्वयंले आफूलाई नेपालीभन्दा पनि गोर्खाली र आफ्नो सेनालाई नेपाली सेना होइन, गोर्खाली सेना भन्थे । त्यो त कालान्तरमा इतिहासको एउटा मोडमा आएर यसलाई नेपालीकरण गरिएको हो र त्यसैको आधारमा अहिलेको पुस्ताले आफूलाई नेपाली भन्न थालेको हो । त्यसैले यो अवधारणा पछि विकसित भएको हो । जस्तै उदाहरणका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जो नयाँ मुलुकका रूपमा थपिए ।

लखनउ विद्रोह नभएको भए के हुन्थ्यो ? तिनका सन्तान जो भारतमा हुर्किरहेका हुन्थे, उनीहरूले आफूलाई भारतीय भएकोमा गर्व गर्थे । त्यस्तै आज उनीहरू नेपाली छन् त नेपाली भएकोमा गर्व गर्दै छन् भने यो समयक्रममा विकास हुने भावनात्मक राष्ट्रियताको भाष्य हो । त्यसैले यो एकताको प्रक्रियाबाट आएकै होइन । त्यसलाई कसरी एकीकरण भन्ने ? उनले राज्य विस्तार गरेका हुन् । जुन पछि नेपाल राज्यका रूपमा विकसित हुँदै गयो । उनलाई देशको भूगोल बनाएको श्रेय दिन सकिन्छ । तर, राष्ट्रिय एकीकरणका नायक मान्न सकिन्न । यति हुँदाहुँदै पनि हामी नेपाली भनेर गर्व हुँदैन भन्ने पनि होइन । हामी झन्डै दुई सय वर्षमा एउटा लयमा गइसकेका छौँ । तर, पूर्ण एकीकरण भएको छैन । पूर्ण एकीकरणका लागि उत्पीडन अन्त्य हुनुपर्छ । 

उनलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा देख्नु भनेको राष्ट्रवादको भूत हो । नेपालमा राष्ट्रवाद र देशभक्ति भन्ने उस्तै हो भन्ने बुझाइ छ । देशभक्ति भनेको एउटा देशभित्रका मानिसले आफ्नो अन्तत्र्रिmया, इतिहास, सभ्यता आफैँले रक्षा गर्न पाउनुपर्छ र त्यहाँ विदेशीले हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । राष्ट्रवाद भनेको त्यो देशभित्रको एउटा निश्चित जाति, क्षेत्र, भाषिक समूहले अरूभन्दा हामी उत्कृष्ट हौँ, त्यसैले हाम्रो मतको आधारमा सबै चल्नुपर्छ भन्नु हो । राष्ट्रवादको बैसाखी टेकेर मतदातालाई ढाँट्ने र शासन लम्ब्याउने सोचअनुरूप देशभक्तिलाई राष्ट्रवाद भनेर प्रचार गरियो । त्यही राष्ट्रवादको एउटा लौरो बनाउन पृथ्वीनारायण शाहलाई टेकोको रूपमा लिइएको हो । त्यसैले इतिहासलाई नयाँ पुस्ताका अघिल्तिर जस्ताको तस्तै पस्किनुपर्छ, नयाँ पुस्ताको टाउकोमा जबर्जस्ती थोपरेर हुँदैन । 

हामीले इतिहासका घटनाक्रमलाई सही अर्थमा नबुझी वर्तमानलाई बुझ्न सकिँदैन । इतिहासमा त्यस्ता धेरै घटना छन्, जसबाट हामीले शिक्षा लिनुपर्छ । तर, इतिहासलाई नयाँ पुस्ताको दिमागमा जबर्जस्ती थोपरेमा हामीलाई केही फाइदा हुँदैन । पृथ्वीनारायण शाहलाई अन्याय गरिनुपर्छ भन्ने छैन । हामीले इतिहासमा भएको घटनालाई किन अन्यायपूर्ण ढंगले हेर्ने ? मैले भनेको के हो भने इतिहासलाई हामीले सन्दर्भका रूपमा जस्ताको तस्तै बुझौँ न कि शासकको शासकीय दृष्टिकोणबाट ।