१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २ बुधबार ०७:१७:००
Read Time : > 1 मिनेट
समाचार

महानगरको शैक्षिक गुणस्तरबारे विश्व बैंकको चासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २ बुधबार ०७:१७:००

काठमाडौं महानगरको शैक्षिक अवस्थाबारे विश्व बैंकले चासो व्यक्त गरेको छ । शैक्षिक गुणस्तर र त्यसमा सुधारबारे विश्व बैंकले चासो देखाएको हो । यहीक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यसँग विश्व बैंकका एजुकेसन ग्लोबल प्राक्टिस, साउथ एसिया रिजनका प्राक्टिस म्यानेजर क्रिस्टियन एडोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मंगलबार भेट गरेको छ । 
एडोसँगको भेटमा प्रमुख शाक्यले माध्यमिक तहको शिक्षा व्यवस्थापन गर्न प्रशासनिक संक्रमणले असर पारेको बताए ।

‘महानगरमा आउने कर्मचारीको सरुवा, बढुवा र वृत्तिविकास संघ सरकारसँग जोडिएकाले हाम्रा नीति कार्यान्वयनमा समस्या भएको छ,’ शाक्यले भने, ‘विद्यालय शिक्षाको सुधारका लागि महानगरले प्राथमिकताका साथ लगानी गर्छ । महानगरका कार्यक्रम कार्यान्वयन गर्ने शिक्षाका कर्मचारी ल्याउने र लैजाने काम संघ सरकारले गर्छ । एउटाले नीति बुझेर काम गर्न थाल्दानथाल्दै सरुवा भएर जान्छ । त्यसले परिणाम ल्याउन कठिन भयो ।’उनले सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न चाहे पनि अभिभावकले निजी विद्यालय रोज्ने गरेको बताएका छन् । उनले सामुदायिक विद्यालयको सुधारका लागि अभिभावकको सोचमा परिवर्तन ल्याउनु आवश्यक भएको बताए । 


एडोले संक्रमणकालमा महानगरले शिक्षा सञ्चालन र व्यवस्थापनमा गरेका कामका विषयमा जिज्ञासा राखेका थिए । ‘महानगरले गरेका काम अरूका लागि सिकाइ बन्न सक्छन् । प्रचलित कानुन छोड्दै गरेको र नयाँ कानुन आउनेक्रममा रहँदाको अवस्था कति जटिल हुँदोरहेछ ?’ शाक्यलाई एडोले सोधेका थिए । भेटका क्रममा अभिभावकको मनोविज्ञान, विद्यालय जानुपूर्व बालबालिकाको रेखदेख, आधारभूत शिक्षाको गुणस्तरमा विद्यालयको भौतिक संरचना र जनशक्तिको क्षमतालगायत विषयमा कुरा भएको थियो ।  महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र ९१ वटा सामुदायिक विद्यालय छन् भने करिब ६ सय ५० संस्थागत (निजी) विद्यालय छन् । सामुदायिकमध्ये ८८ वटामा इसिडी (अर्ली चाइल्ड डिभलपमेन्ट) कार्यक्रम सञ्चालित छन् ।