१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २८ सोमबार ०८:४६:००
Read Time : > 1 मिनेट
राजनीति

नाम बागमती राजधानी हेटौँडा

Read Time : > 1 मिनेट
२०७६ पौष २८ सोमबार ०८:४६:००

झन्डै दुई वर्षदेखि अन्योल रहेको प्रदेश ३ को नाम र राजधानी आइतबार टुंगिएको छ । प्रदेश सभा बैठकले दुईतिहाइभन्दा बढी मतले नाम बागमती र राजधानी मकवानपुरको हेटौँडा पारित गरेको छ ।  आइतबार प्रदेशको राजधानीबारे भएको मतदानमा हेटौँडाका पक्षमा एक सय पाँच सांसदले मत दिए । तीन सांसदले भने हेटौँडाको विपक्षमा मतदान गरे ।

दुईतिहाइका लागि ७४ मत आवश्यक थियो । नेकपा, कांग्रेस र राप्रपाका सांसदले हेटौँडाको पक्षमा मतदान गरे भने विवेकशील नेपाली र साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए । 

पक्षमा एक सय पाँच मत परेपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा घोषणा गरे । नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौँडा राख्न सभामा निर्णयार्थ प्रस्ताव पेस गरेका थिए । 

त्यस्तै, काभ्रेको धुलिखेल राजधानी बनाउनुपर्ने प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको छ । विवेकशील नेपाली पार्टीका प्रस्तावक रमेश पौड्यालले सभामा निर्णयार्थ पेस गरेपछि भएको मतदानमा एक सय एक सांसदले विपक्षमा मत दिएका हुन् । धुलिखेलको पक्षमा प्रस्तावक पौड्याल, विवेकशीलका अर्का सांसद विराजभक्त श्रेष्ठ र साझा पार्टीका सांसद शोभा शाक्यले पक्षमा मत दिएका थिए । चार सांसदले मतदान गरेनन् । 

बागमती सर्वसम्मत
प्रदेशको नाम बागमती राख्ने प्रस्ताव सर्वसम्मतिले पारित भयो । प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सभामा प्रदेश ३ को नाम बागमती राख्न निर्णयार्थ पेस गरेको प्रस्तावमाथि भएको मतदानमा पक्षमा एक सय आठ मत परे । मतदानमा सहभागी सबै सांसदले पक्षमा मत दिएको सभामुख श्रेष्ठले प्रदेश सभामा जानकारी दिए । उनले अब प्रदेशको नाम बागमती रहने घोषणा गरे । प्रदेशको नामको प्रस्तावमा भएको मतदानमा स्वतन्त्र सांसद प्रेम तामाङ सहभागी भएनन् । पहिचानको मुद्दालाई बेवास्ता गरेर नाम बागमती राख्न खोजिएको र हेटौँडा राजधानी अपायक भएको भन्दै उनले विरोध जनाए । 

घोषणालगत्तै प्रमाणीकरण
प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती घोषणा गरेलगत्तै प्रदेश प्रमुख विष्णु प्रसाईंले प्रमाणीकरण गरेका छन् । आइतबार नै प्रदेश सभा सचिवालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । आइतबारदेखि नै कार्यान्वयन हुने गरी राजपत्रमा सूचना प्रकाशित गरिएको हो ।