मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २८ सोमबार ०७:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

५ हजार ३ सय ८४ विद्यालय पुनर्निर्माण : सबै विद्यालय बनाउन २४ अर्ब अपुग

Read Time : > 1 मिनेट
२०७६ पौष २८ सोमबार ०७:०६:००

  चालू आर्थिक वर्षमा ३६ अर्ब बजेट विनियोजन, तर ९ अर्ब बजेट अझै आइपुगेन

पाँच वर्षअघि (वैशाख ०७२) गएको भूकम्पले भत्केका सात हजार पाँच सय ५३ मध्ये पाँच हजार तीन सय ८४ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । यस्तै, एक हजार पाँच सय ७७ विद्यालय निर्माणाधीन अवस्थामा छन् भने दुई सय १० विद्यालय निर्माणका लागि छनोट मात्रै भएका छन् । 

भूकम्पले भत्किएकामध्ये केही विद्यालय मर्ज भइसकेका छन् भने तीन सय ५० विद्यालयसँग भवन निर्माणका लागि पर्याप्त जग्गासमेत छैन । एकदमै न्यून विद्यार्थी भएका विद्यालयसमेत पुनर्निर्माणको प्राथमिकतामा परेका छैनन् । अब पुनर्निर्माण गर्नुपर्ने कुल विद्यालयको संख्या पाँच सय ९२ मात्रै छ । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार १२ वैशाख ०७२ को भूकम्पबाट ३१ जिल्लामा सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको थियो । ती विद्यालयहरूका २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा, १२ हजार पाँच सय २२ कक्षाकोठा अधिक र १५ हजार नौ सय ९० कक्षाकोठामा आंशिक क्षति पुगेको थियो । 

२४ अर्बको स्रोत अभाव 
पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का आयोजना उपनिर्देशक इन्जिनियर दिलीपशेखर श्रेष्ठले सबै विद्यालयको पुनर्निर्माण सक्न अझै करिब २४ अर्ब स्रोत नजुटेको बताए । चालू आर्थिक वर्षका लागि ३६ अर्बको बजेट विनियोजन भएको थियो । यसमध्ये नौ अर्ब बजेट केन्द्रीय आयोजनामा आइपुगेको छैन । भारतको एक्जिम बैंकबाट आउने भनिएको रकममा सर्तैसर्त भएकाले अरूबाट बजेट शोधान्तर माग गरेको छ ।

विद्यालय पुनर्निर्माण सुरु गरेको यो तेस्रो वर्ष हो । अहिलेसम्म ३७ अर्ब खर्च भएको छ । चालू आर्थिक वर्षमा ९ अर्ब र बाँकी विद्यालय पुनर्निर्माणमा करिब १५ अर्ब स्रोत अभाव रहेको आयोजना उपनिर्देशक श्रेष्ठले बताए । बजेट अभाव नभए दुई वर्षभित्र सबै विद्यालय पुनर्निर्माण भइसक्ने उनले बताए । धेरै विद्यालय पुनर्निर्माण व्यवस्थापन समितिमार्फत धेरैजसो विद्यालयको पुनर्निर्माण व्यवस्थापन समितिमार्फत सम्पन्न भएको छ । कुल पाँच हजार तीन सय ८४ मध्ये चार हजार तीन सय ५२ विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण भएका छन् । 

यसैगरी, निर्माण व्यवसायीमार्फत तीन सय ९४ र गैरसरकारी संस्थामार्फत ६ सय ३४ विद्यालय पुनर्निर्माण भएका छन् । निर्माणाधीन एक हजार दुई सय ९३ विद्यालय पनि सबैभन्दा बढी व्यवस्थापन समितिमार्फतकै छन् । निर्माण व्यवसायीमार्फत दुई सय तीन र गैरसरकारी संस्थामार्फत ८१ विद्यालय पुनर्निर्माण हुँदै छन् ।  दातृनिकायहरू एडिबी, जाइका तथा अन्य विकास साझेदारमार्फत पनि केही विद्यालय पुनर्निर्माण भइसकेका छन् भने केही निर्माणका क्रममा छन् । सरकारले १७ फागुन ०७२ मा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गठन गरेको थियो । त्यसपछि जिल्ला कार्यान्वयन इकाइ गठन गरी साउन ०७३ बाट काम सुरु भएको थियो । 

चुनौतीबीच राम्रो प्रगति
विद्यालय पुनर्निर्माणमा केही चुनौती भए पनि थोरै समयमा धेरै काम गर्न सम्भव भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरू दाबी गर्छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले छोटो समयमै ७१ प्रतिशत विद्यालय पुनर्निर्माण हुनु ठूलो प्रगति भएको बताए । उनले भने, ‘अन्य विकसित देशको तुलनामा हाम्रो देशमा धेरै प्रगति भएको हो, हाम्रो देशमा भन्दा पहिले भूकम्प गएका देशमा पनि यही रूपमा प्रगति भएको देखिँदैन ।’

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का आयोजना निर्देशक चूडामणि पौडेलले छोटो समयमा गुणस्तरीय पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी पूरा गरिरहेको बताए । सडक नभएका, सडक भए पनि वर्षैभरि सञ्चालन हुन नसक्ने अवस्थाका ठाउँमा पुनर्निर्माण गर्न चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । यसैगरी, सीपयुक्त जनशक्ति र निर्माण सामग्रीको अभाव हुने गरेको उनीहरूको भनाइ छ ।