मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २५ शुक्रबार ०६:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

रामबाबुलाई कारबाही नगर्न राजपाको दबाब

Read Time : > 2 मिनेट
२०७६ पौष २५ शुक्रबार ०६:१५:००

ठगीको उजुरी दिने पीडितको संख्या बढ्दै

लाख दिएर करोड असुल्दै सयौँ व्यक्ति ठग्ने साहुकार रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि छुटाउन राजनीतिक दबाब सुरु भएको छ । राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यसमेत रहेका रायलाई छुटाउन पार्टीका जिल्ला नेताहरूले प्रशासन र प्रहरीलाई दबाब दिन थालेका हुन् । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राजपाका केन्द्रीय सदस्य तथा साहुकार रामबाबु राय

राजपा सर्लाही संयोजक सुशील यादवको नेतृत्वमा डेढ सयको संख्यामा रहेको समूहले बिहीबार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर आफ्ना नेतालाई छाड्न चेतावनी दिएका हुन् । कुनै उजुरीविना नै पक्राउ गर्नु गलत भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । 

‘राजपा जिल्ला संयोजकसहित नेता–कार्यकर्ता आउनुभएको थियो,’ सिडिओ मोहनबहादुर जिसीले भने, ‘उजुरी र प्रमाणविना किन पक्राउ गरियो भन्दै हुनुहुन्थ्यो ।’ उनीहरूले ज्ञापनपत्रसमेत बुझाएका छन् । बिहीबारै प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेललाई पनि भेटेर उनीहरूले यही माग गरेका छन् । 

सिडिओ र एसपीलाई दबाब दिन जिल्ला संयोजक सुशील यादवसँगै कविलासी नगरपालिकाका मेयर कौशल यादव, कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद यादवलगायत गएका थिए । सिडिओलाई ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले नारा–जुलुससहित मलंगवा बजारमा प्रदर्शनसमेत गरेका थिए । 

सर्लाही, महोत्तरी, धनुषा, सिराहालगायतका हजारभन्दा धेरैलाई ऋण दिएभन्दा बढीको कागज गराएर ठग्ने अर्का साहुकार सञ्जय रौनियार भने बिहारस्थित सीतामढी पुगेको सूचना प्रहरीले पाएको छ । भारतीय नागरिकतासमेत भएका उनी सीतामढीस्थित आफ्नै होटेलमा रहेको सूचना पाएको एसपी पोखरेलले बताए । 

‘हामीले सञ्जय रौनियारको खोजी गर्‍यौँ । उनी लुक्न सक्ने ठाउँमा पुग्यौँ । तर, नेपालमा नभएको सूचना प्राप्त भयो । सीतामढीमा उनको ठूलो होटेल छ । त्यहीँ लुकेर बसेको सूचना छ, पक्रिने व्यवस्था मिलाउँदै छौँ,’ उनले भने । 

सर्लाही बरहथवा–१० सीतापुरका रामबाबुलाई छुटाउन राजनीतिक दबाब बढ्दै छ, तर उनीविरुद्ध उजुरी दिन पुगेका पीडितलाई भने प्रहरीले प्रक्रिया नपुगेको भन्दै घर फर्काइदिएको छ । बुधबार गृह मन्त्रालयमै जाहेरी दर्ता गराएका सर्लाही बरहथवा–१ हजारियाका ६७ वर्षीय मिरुगन राय यादवको जाहेरी मात्रै बिहीबार प्रहरीले दर्ता गरेको छ । प्रमाणका लागि कागजातसहित सर्लाही जिल्ला प्रहरी कार्यालय पुगेका २० भन्दा बढी पीडितलाई भने प्रक्रिया पुर्‍याएर भोलि आउनू भन्दै प्रहरीले फर्काइदिएको छ ।

रामबाबु यादव र सञ्जय रौनियारविरुद्ध जाहेरी बोकेर प्रहरी कार्यालय पुगेका पीडित रवीन्द्र कुसवाहले प्रक्रिया नपुगेको भन्दै जाहेरी दर्ता लिन नमानेको बताए । ‘आज सञ्जय र रामबाबु पक्षका सबै पीडितहरू जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थियौँ,’ कुसवाहले भने, ‘हामीले लेखेको उजुरीको फर्म्याट मिलेन । यसरी लेखेर ल्याउनुस् भनेर फर्म्याट दिनुभयो । अब मिलाएर शुक्रबार दिन्छौँ ।’

पीडितको पक्षमा सहजीकरण गरिरहेका नेकपा सर्लाही इन्चार्ज डाचाराज वाग्लेले शुक्रबार जाहेरी दर्ता हुने बताए । ‘आज २० भन्दा धेरै पीडित रामबाबुविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । ठाडो जाहेरी लेखेर पनि दिए । तर, फर्म्याट नपुगेको भन्दै प्रहरीले दर्ता गरेनछ, शुक्रबार दर्ता हुन्छ,’ उनले भने । 

जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले पनि बिहीबार आएका जाहेरीकर्तालाई शुक्रबार प्रक्रिया पुर्‍याएर आउन भन्दै पठाएको बताए । तर, जाहेरीकर्ताहरू सोचेजति नआएको उनको भनाइ छ । 

पीडित कुसवाहले भने साहुकारको डर धम्कीका कारण उजुरी दिन आउन डराएको बताए । ‘दुवै महाजन तराईमा चर्को ब्याजमा ऋण लगाएर जग्गा आफ्नो नाममा गराउँछन्,’ कुसवाहले भने, ‘धेरै बोल्न थाल्यो भने कुट्ने, उस्तै परे लास गायब बनाउन बेर लगाउँदैनन् । डराएर पनि धेरै पीडितले उजुरी दिएका छैनन् । हामीले उजुरी दिन थालेपछि अरू पनि आउन सक्छन्,’ उनले भने । रामबाबु पक्राउ परेपछि भने अधिकांश पीडितले राहत महसुस गरेको उनले बताए । ‘हामीलाई रामबाबु र सञ्जयले उठिवास नै लगाएका थिए,’ कुसवाहले भने, ‘रामबाबु पक्राउ पर्‍यो, सञ्जय भागिरहेको छ । त्यो पक्राउ पर्छ कि पर्दैन हेरिरहेका छौँ । दुवैलाई पक्राउ गरेर कारबाही गरे ढुक्क हुन्थ्यौँ ।’ 

श्याम परदेशीपछि रामबाबु पनि पक्राउ गरेपछि तराईमा मिटर ब्याज लगाउने साहुकारहरू त्रसित भएको सर्लाहीका सोन्फी चौधरीले बताए । ‘तराईमा गरिब किसानलाई चर्को ब्याजमा पैसा लगाउने चलन धेरै छ,’ चौधरीले भने, ‘एकपछि अर्को गर्दै साहु–महाजन पक्राउ पर्न थालेपछि त्यस्ता ठगहरूको माहोल त्रसित छ ।’ ऋण दिएर ब्याजको स्याज लिनेहरू कम हुँदै जाने आशा बढेको सर्लाहीका स्थानीय कमल बुढाथोकीले बताए ।