१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २४ बिहीबार ०६:४३:००
Read Time : < 1 मिनेट
खेलकुद

रंगशाला निर्माणमा हेटौँडा उपमहानगरको सहयोग

Read Time : < 1 मिनेट
२०७६ पौष २४ बिहीबार ०६:४३:००

हेटौँडा उपमहानगरपालिकाले धुर्मुस–सन्तुली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि ३० लाख आर्थिक सहयोग गरेको छ । उपमहानगरका मेयर हरिबहादुर महतले मंगलबार फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई रकम हस्तान्तरण गरे । 

फाउन्डेसनले यसअघि नै रंगशाला निर्माणको काम सुरु गरिसकेको छ  । सहयोग रकम हस्तान्तरण गर्दै मेयर महतले थप सहयोगका लागि आह्वानसमेत गरे । ‘सरकारले गर्नुपर्ने काम कलाकारहरूले गरिरहनुभएको छ । यो महत्वपूर्ण कामका लागि थोरै भए पनि सहयोग गरेका छौँ’, मेयर महतले भने, ‘हाम्रोतर्फबाट सहयोग जारी नै रहनेछ । अन्य क्षेत्र र व्यक्तिलाई पनि सहयोगका लागि अनुरोध गर्दछु ।’

फाउन्डेसनका अध्यक्ष कट्टेलले आश्वासन दिएका अन्य निकायबाट भने सहयोग प्राप्त नभएको गुनासो पोखे । ‘हामीले रंगशाला निर्माणको घोषणा गर्दा नै सहयोगको आश्वासन धेरैबाट पाएका थियौँ । तर, सहयोग रकम अहिलेसम्म पनि प्राप्त भएको छैन’, केही भावुक देखिएका कट्टेलले भने, ‘भरतपुर महानगरपालिका र प्रदेश ३ सरकारसमेतबाट वाचा गरिएको रकम प्राप्त भएको छैन । घोषणा गरेको रकम हस्तान्तरण गर्ने हेटौँडा उपमहानगर नै पहिलो सरकारी निकाय हो ।’

उनका अनुसार अहिले रंगशाला निर्माणका लागि दैनिक तीन सय कामदार खटिएका छन् । भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसरभित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माणाधीन रंगशाला २५ हजार दर्शक क्षमताको हुने जनाइएको छ । नेपाली मौलिकतासहित निर्माण गरिने रंगशाला स्तूपा आकारको हुनेछ । क्रिकेट मैदान फुलेको कमलको फूल आकारको हुनेछ । नारायणी नदीको छेउमा सुन्दर हिमालको दृश्यले रंगशालालाई अझ सुन्दर बनाउनेछ ।