मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २३ बुधबार ०८:०१:००
Read Time : > 1 मिनेट
खेलकुद

एनपिएल कात्तिकमा गर्ने प्रस्ताव

Read Time : > 1 मिनेट
२०७६ पौष २३ बुधबार ०८:०१:००

प्रतियोगिता समितिले तयार पारेको प्रतिवेदनमा बाँकी संरचना तयार गरी एनपिएल सञ्चालन गर्न क्यानलाई सुझाव दिइएको छ 

बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको चर्चा फेरि सुरु भएको छ । यसपटक नेपाल क्रिकेट संघ (क्यान) आफैंले आयोजना गर्ने गरी छलफल सुरु गरेको हो । क्यानअन्तर्गत प्रतियोगिता समितिका संयोजक प्रशान्तविक्रम मल्लले तयार पारेको प्रतिवेदनअनुसार आगामी कात्तिक महिनामा एनपिएल आयोजना गर्ने प्रस्ताव गरिएको छ । उनले सोमबार बसेको क्यानको बोर्ड बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

पदाधिकारी र बोर्ड सदस्यहरूलाई सोमबार नै बाँडिएको सो प्रतिवेदन पारित भए एनपिएल सुरु हुनेछ । एनपिएल आयोजनाबारे यसअघि नै चर्चा चलेर पनि विवादित बनेको थियो । टंक आङबुहाङ क्यान अध्यक्ष हुँदा आमिर अख्तर नेतृत्वको निजी कम्पनी जोरा स्पोर्टस् म्यानेजमेन्टले एनपिएल आयोजनाको तयारी गरेको थियो । 

सो प्रस्तावलाई तत्कालीन अध्यक्ष आङबुहाङले स्वीकृतिसमेत दिएका थिए । यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले घरेलु बोर्डभन्दा अन्य कसैले पनि गर्न नपाउने भनेपछि त्यस वेला एनपिएल आयोजना रोकिएको थियो । 

खेल मिलेमतो र खेल भावनाविपरीतका अन्य गतिविधिको जिम्मेवारी लिनुपर्ने भएका कारण घरेलु बोर्डले भन्दा अन्य कुनै पनि निकायले एनपिएलको आयोजना गर्न नमिल्ने आइसिसीले जनाएको थियो । त्यससँगै जोरा स्पोर्टस्ले एनपिएलको सट्टा इपिएल (एभरेस्ट प्रिमियर लिग) को आयोजना गरेको हो । 

एनपिएलको बाँकी संरचना भने तय हुन बाँकी रहेको छ । ‘एनपिएल क्यान आफैँले आयोजना गर्नेछ र त्यसको आयोजना भव्य हुनेछ,’ क्यानका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘एनपिएलका बाँकी संरचनाबारे भने क्यान आफैँले तय गरेर सार्वजनिक गर्नेछ ।’

जिल्ला र उमेर समूहमा जोड 

प्रतिवेदनमा जिल्ला र उमेर समूहलाई जोड दिएर प्रतियोगिताको संरचना प्रस्ताव गरिएको छ जसले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ । प्रतिवेदनमा उल्लेख भएअनुसार प्रत्येक जिल्लाले स्कुल च्याम्पियनसिप र क्लबस्तरीय प्रतियोगिताको आयोजना गर्नेछ । यी दुई च्याम्पियनसिपमा छुटेका खेलाडीका लागि ट्यालेन्ट हन्ट कार्यक्रमसमेत सञ्चालन गरिनेछ । 

ती प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट जिल्लाले आफ्नो टोली बनाउनेछ । सो टोलीले प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछ । प्रदेशले पनि ती प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीको छनोट गरी राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो टोली बनाउनेछ ।

जिल्ला र प्रदेशले यू–१६ र यू–१९ का साथै महिला र पुरुष दुवैमा सिनियरतर्फको प्रतियोगिताको पनि आयोजना गर्नेछ । यी प्रतियोगिता केन्द्रसम्मै आयोजना हुनेछन् । खेलाडीहरू जिल्ला, प्रदेश र केन्द्रको प्रतियोगिता र सिनियर ए टोलीमा खेलेर राष्ट्रिय टोलीसम्म पुग्न सक्छन् । 

‘हाम्रो घरेलु संरचना बलियो नहुँदा एउटा उमेर समूहको प्रतियोगितामा राम्रो गर्नेबित्तिकै सीधै राष्ट्रिय टोलीमा लानुपरेको छ । यसले गर्दा धेरै खेलाडीको भविष्य नै बिग्रिएको छ,’ क्यानका ती सदस्यले भने, ‘खेलाडीहरू परिपक्व भएर मात्रै राष्ट्रिय टोलीमा पुगून् भन्ने उद्देश्यले यी संरचना बनाइएको छ ।’

केन्द्रमा एनपिएलबाहेक महिला र पुरुषको प्रत्येक वर्ष कम्तीमा एक–एक टी–२०, एकदिवसीय र दुईदिवसीय प्रतियोगिता आयोजना गरिनेछ । दुईदिवसीय प्रतियोगिता महिला र पुरुष दुवैतर्फ चार–चार इनिङ्सको हुनेछ, तर पुरुषतर्फ एक दिनमा ९० ओभर र महिलातर्फ ६० ओभरको मात्रै खेल हुनेछ ।

क्यानको सोमबारको बोर्ड बैठकले जिल्ला संघहरूलाई कार्यालय स्थापना गर्न एक–एक लाख रकम दिने निर्णय गरेको छ । साथै, प्रदेशलाई सोही उद्देश्यका लागि पाँच–पाँच लाख दिने निर्णय पनि गरेको छ ।