Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ पौष २३ बुधबार ०६:१६:००
Read Time : > 5 मिनेट
मुख्य समाचार

श्याम परदेशीभन्दा खुंखार साहुकार, न्याय माग्दै पीडितको  अर्को समूह काठमाडौंमा

Read Time : > 5 मिनेट
२०७६ पौष २३ बुधबार ०६:१६:००

-ऋण दिँदा बन्धकी पनि होइन, रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा, सर्लाहीआसपासमा १५ सय पीडित, जनतालाई लाख दिएर करोडको तमसुक बनाउने रामबाबु राय यादव राजपा केन्द्रीय सदस्य र सञ्जय रौनियार नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार

-एउटा खसी दिएर घरजग्गा कब्जा गर्ने रामबाबु राय यादव राजपाका केन्द्रीय सदस्य । उनी गत निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा उम्मेदवार भएर दुई हजार नौ सय ९९ मतसहित तेस्रो भएका थिए । 

-अर्का साहुकार सञ्जय रौनियार नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार भएका थिए । सर्लाही २ (क) बाट उनी चार हजार ६ मत पाएर दोस्रो भएका थिए । उनीसँग भारतीय नागरिकता पनि छ ।


लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन् । सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रहमपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिस्ट्रेसन नै पास गरेर लिने गरेका छन् ।

सलार्हीको बागमती–७ राजघाटका ४५ वर्षीय जवाहर साहले जग्गा खरिद गर्दा १० लाख ऋण लागेको थियो । ३६ प्रतिशतका दरले ब्याज तिर्नुपथ्र्यो । चर्को ब्याजबाट मुक्ति पाउन उनले साहुकार रायसँग १६ कट्ठा जग्गा दृष्टिबन्धक राखेर ०६८ मा १२ लाख ५० हजार ऋण लिए । साहुकार रायले २३ लाखको कपाली तमसुक पनि बनाए । ब्याजको दर ३६ प्रतिशत तोके ।

ठेक्कामा जग्गा लिएर खेती गर्ने साहले कमाएजति रकम बन्धकी राखेको जग्गा फिर्ता गर्न साहुकार रायलाई बुझाउँदै गए । ८ भदौ ०७१ सम्म उनले १७ लाख बुझाइसकेका थिए । जग्गा फिर्ता लिन जाँदा थाहा पाए बन्धकी राखेको जग्गा त साहुकार रायले पहिला नै २२ लाख ८८ हजारमा अर्कैलाई बेचिसकेका रहेछन् । साह छाँगाबाट खसेझैँ भए । तैपनि साहुकारका अगाडि निरीह बने । जग्गा फिर्ता पाउने आस मरेपछि उनले २३ लाखको कपाली तमसुक च्यातिदिन आग्रह गरे । तर, साहुकार रायले साढे १२ लाख ऋणको ब्याजसमेत गरेर उल्टै ४५ लाख तिर्नुपर्ने हिसाब सुनाए । 

साहुकारको ऋणले थिचिएका साह ब्याजको हिसाब सुनेर झन् गले । केही उपाय नलागेपछि उनी गुहार माग्दै काठमाडौं आइपुगेका छन् । ‘बागमती नदीको किनारमा पुर्ख्यौली जायजेथा थियो । नदीले बगाएपछि राजघाट सर्‍यौँ । ऋण गरेर थोरै जग्गा जोडेको थिएँ, साहुकारले उठिवास लगाउने भयो । जिन्दगीले अब कहाँ पुर्‍याउँछ केही टुंगो छैन,’ काठमाडौंको भोटेबहालस्थित आफन्तको शरणमा रहेका साहले पीडा सुनाए । 

काठमाडौंको साँघुरो कोठामा बसेर ऋणका फाइल देखाउँदै पीडित र प्रतिनिधिहरू । तस्बिर : सतिश पोखरेल, अमुल थापा

साहुकार रायले राजघाटकै ४७ वर्षीय छविलाल साहलाई पनि उस्तै शोषण गरेका छन् । ०६४ साउनमा छविलालले १७ कट्ठा जमिन दृष्टिबन्धक र चार लाखको कपाली तमसुक गरेर रायबाट चार लाख २५ हजार ऋण लिएका थिए । पटक–पटक गरेर उनले आठ लाख ५२ तिरिसके । तैपनि साहुकार रायले न जग्गा फिर्ता दिएको छ, न तमसुक च्यातेको छ । उल्टै धम्क्याउने गरेको छ, ‘तिम्रो साथी जवाहर साहले ४५ लाख नतिरेसम्म केही फिर्ता पाउँदैनौ ।’

‘यो साहुकारले मलाई मात्रै होइन, मेरा बहिनीलाई पनि उठिवास लगाउने भएको छ । बहिनीले पनि जग्गा बन्धक र कपाली तमसुक गरेर ऊसँग तीन लाख ६५ हजार ऋण लिएकी थिइन् । सात लाख ७५ हजार तिरिसकिन् । तैपनि जग्गा फिर्ता गर्दैन । हाम्रो त उठिवास हुने भयो हजुर !’ छविलालले भने ।

रायको ऋणमा डुबेका राजघाटकै ४५ वर्षीय मोहन साहको पीडा पनि हृदयविदारक छ । उनका बुबाले रायसँग ऋण लिएका थिए । तर, ऋण कति हो भन्ने जानकारी मोहनलाई अहिलेसम्म छैन, साहुकार रायले पनि उनलाई बताएका छैनन् । जब कि, मोहनका बुबाले ऋण तिर्न भनेर एक बिघा जग्गा बेचेका थिए । ‘बुबा बितेपछि पनि साहुकारले पैसा माग्न छाडेन, मैले फेरि दुई बिघा दुई कट्ठा जग्गा दृष्टिबन्धक राखेँ । १५ वर्ष भयो पैसा तिरिरहेकै छु,’ मोहनले भने । 

राजघाटकै रूपलाल साहले पनि २५ जेठ ०६४ मा रायसँग दुई लाख ५० हजार ऋण लिए । बदलामा सात कट्ठा जग्गा उनको नाममा पास गरिदिए । त्यसपछि पनि रायले पाँच लाख रुपैयाँको कपाली तमसुकमा सही गरायो । पटक–पटक गरेर रूपलालले ६ लाख १५ हजार तिरिसकेका छन् । तैपनि जग्गा फिर्ता पाएका छैनन् । एउटा खसी दिएर घरजग्गा कब्जा गर्ने रामबाबु राय यादव राजपाका केन्द्रीय सदस्य । उनी गत निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा उम्मेदवार भएर दुई हजार नौ सय ९९ मतसहित तेस्रो भएका थिए । त्यस्तै, अर्का साहुकार सञ्जय रौनियार नयाँ शक्तिका प्रदेश सभा उम्मेदवार भएका थिए । सर्लाही २ (क) बाट उनी चार हजार ६ मत पाएर दोस्रो भएका थिए । उनीसँग भारतीय नागरिकता पनि छ ।  

तस्बिर : सतिश पोखरेल, अमुल थापा

रौनियारले पनि सर्वसाधारणलाई ऋण दिएर उनीहरूको जग्गा आफ्नो नाममा पार्दै आएका छन् । उनले पनि सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहटलगायतका एक हजारभन्दा धेरैलाई पाँच अर्बभन्दा बढी रकमको कागज गराएको पीडितहरूले बताए ।

साहुकारले घरजग्गा खोसिदिएपछि करिब सयजना पीडित मंगलबार बिहान काठमाडौं आइपुगेका छन् । नेकपाका सर्लाही इन्चार्ज डाचाराज वाग्लेको पहलमा काठमाडौं आएका पीडितहरूले आफ्ना गुनासा प्रधानमन्त्री केपी ओली र विभिन्न दलका नेताहरूलाई सुनाउने योजना बनाएका छन् । मंगलबार नै खुमलटार पुगेर उनीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भेटेका थिए । त्यस्तै उनीहरूले गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पनि भेटेका छन् । 

‘हामीले प्रहरी प्रशासन धेरै गुहार्‍यौँ, तर न्याय पाएनौँ, बरु उल्टै महाजनले धम्क्यायो,’ यादवले भने, ‘अब घरखेत सबै गयो, गाउँमा के हेरेर बस्ने भनेर काठमाडौं आयौँ । न्याय नपाएसम्म जाँदैनौँ ।’ पीडित वीरेन्द्र यादवले धनुषाको ढल्केबरमा जग्गा किन्न ३६ प्रतिशत ब्याजमा रौनियारबाट दुई करोड ऋण लिएका थिए । ‘तर, साहुले पाँच करोड ९० लाखको कागज बनायो । त्यो पैसा तिरिसकेँ, तर पैसा पाएको छैन भन्दै ढल्केबरको जग्गा पनि लियो,’ यादवले गुनासो गरे ।

सोनमा–३ महोत्तरीका शत्रुधन साहले पनि यस्तै गुनासो गरे । उनले पनि ढल्केबरमा ६ बिघा जग्गा किन्न महाजन रौनियारसँग एक करोड ५० लाख ऋण लिएका थिए । तर, उनलाई पनि पाँच करोड ९० लाखकै तमसुक साहुले थमाएका थिए । ‘महाजनले मलाई ऋणी र श्रीमती, छोराछोरी र आफन्तलाई साहु बनाएर कागज गराएको छ, मैले पटकपटक गरेर पाँच करोड फिर्ता गरिसकेको छु, तर पैसा तिरेको छैन भन्दै मेरो तीन बिघा जमिन उसले कब्जा गरेको छ,’ उनले भने ।

साहुकार रामबाबु रायको शोषणको उदाहरण

रामप्रवेश महतो 

लिएको : ८ लाख ६२ हजार

तिरेको : ५१ लाख 

तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

सुरेश साह 

लिएको : ६० हजार 

तिरेको : ७ लाख ४२ हजार 

तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

सहदेव राय 

लिएको : ३ लाख ९८ हजार 

तिरेको : ९ लाख ४२ हजार 

तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

मोहन साह 

लिएको : ६० हजार 

तिरेको : ७ लाख ४२ हजार 

तर, जग्गा कब्जा

पीताम्बर महतो 

लिएको : ५० हजार 

तिरेकोे : ७९ हजार 

पैसा नतिरेको भनेर उल्टै अदालतमा मुद्दा 

बिकाउ ठाकुर 

लिएको : १ लाख 

तिरेको : १ लाख ३५ हजार 

तर, जग्गा कब्जा

राजुप्रसाद कुसवाह

लिएको : ९ लाख 

तिरेको : १९ लाख ७३ हजार 

तर, ऋण चुक्ता नभएको भन्दै तमसुक

कपुरी ठाकुर 
लिएको : ३९ लाख ३५ हजार 
तिरेको : एक करोड 
तर, ऋण चुक्ता नभएको भन्दै तमसुक

बिकाउराज जमलाल 
लिएको : ४ लाख 
तिरेको : १८ लाख २३ हजार 
तर, ऋण चुक्ता नभएको भन्दै तमसुक

सिगारेश सहनी 
लिएको : १ लाख ५० हजार 
तिरेको : ५१ हजार 
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

रामअसारे राय 
लिएको : २ लाख 
ऋण नतिरेको भन्दै जग्गा कब्जा

हरिचन्द्र महतो 
लिएको : १ लाख 
तिरेको : ८ लाख ५० हजार 
तर, तमसुक फिर्ता नगरी उल्टै मुद्दा

विन्देश्वर महतो 
लिएको : १३ लाख 
तिरेको : ४३ लाख ६० हजार 
तर, ऋण चुक्ता नभएको भन्दै तमसुक

रुपालाल साह 
लिएको : १ लाख 
तिरेको : ६ लाख १५ हजार 
तर, ऋण चुक्ता नभएको भन्दै जग्गा कब्जा

रामज्ञा महतो 
लिएको : ३१ लाख ७८ हजार 
तिरेको : २३ लाख २० हजार 
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

रामकलयान साह 
लिएको : ६५ हजार 
तिरेको : ५० हजार 
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

शान्ती देवी 
दिएको : खसी 
बन्धक लिएको : चार कठ्ठा जमिन 
परिवारलाई नै उठिबास लगाएको 

गंगा हजारी 
लिएको : २ लाख ५० हजार 
तिरेको : ३ लाख 
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

वीरेन्द्र राय 
लिएको : ६ लाख 
तिरेको : २ लाख ५५ हजार 
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

उपिन्दर महतो 
लिएको : ८ लाख 
तिरेको : १२ लाख ४० हजार 
तर, ऋणीलाई थाहै नदिई जग्गा बिक्री

साहुकार रौनियारको शोषणको उदाहरण

वीरेन्द्र यादव
लिएको : २ करोड 
तर, ६ विघा ३ कठ्ठा जग्गा साहुको नाममा पास, २ विघा १० कट्ठा रोक्का गरिदिएको । 

सत्रुधन साह 
लिएको : १ करोड ५० लाख 
दिएको : ५ करोड
डेढ करोड लिए पनि ५ करोड ९० लाख लिएको भन्दै श्रीमती, छोराछोरी र आफन्तको नाममा कागज गरेको, ३ बिघा ९ कट्ठा जग्गा रोक्का गरिदिएको । 

रामप्रसाद महतो 
लिएको : १ करोड
दिएको : ३० लाख
एक बिघा १४ कट्ठा ९ धुर साहुको नाममा पास, विदेशको कमाईले महतोले बनाएको पक्की घर पनि साहुकै नाममा, आफ्नै घरमा भाडामा बस्दै 

गणेशप्रसाद साह 
लिएको : ४ लाख
दिएको : ४ लाख
उल्टै १० लाख ऋण बाँकी रहेको कागज बनाएर २५ धुर जग्गासमेत साहुले आफ्नो नाममा गरे । 

रवीन्द्र कुसहवा
लिएको : १ करोड
३ करोडको कागज, ४० कट्ठा जग्गा साहुको नाममा ।