१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २२ मंगलबार ०७:१८:००
Read Time : > 2 मिनेट
समाचार

उपत्यकामा दैनिक १५ सय  सवारीचालक कारबाहीमा

Read Time : > 2 मिनेट
२०७६ पौष २२ मंगलबार ०७:१८:००

आठ वर्षमा तीन लाखलाई मापसे कारबाही, चार सय ४१ को लाइसेन्स खारेज

काठमाडौं उपत्यकामा दैनिक सरदर २० वटा दुर्घटना हुन्छन् । आर्थिक वर्ष ०७५/७६ मा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै आठ हजार पाँच सय ११ दुर्घटना हुँदा दुई सय ५४ को ज्यान गयो । ट्राफिक प्रहरीको विश्लेषणअनुसार तीमध्ये सात हजार पाँच सय २९ दुर्घटनाको कारण थियो, चालकको लापरबाही । तथ्यांकअनुसार उपत्यकामा पछिल्ला आठ वर्षमा भएका ४५ हजार छ सय २६ दुर्घटनामध्ये ४० हजार चार सय ६३ दुर्घटना चालकको लापरबाहीकै कारण भएका हुन् । 

ट्राफिक प्रहरीले सडकमा सवारीचालकलाई काबुमा राख्न बर्सेनि कारबाही बढाएको छ । तर, चालककै लापरबाहीका कारण बर्सेनि दुर्घटनाको दर भने बढेको बढ्यै छ । सवारी चलाउँदा चालकहरूले ट्राफिक नियम नमान्ने र ट्राफिक नियम मिचेर वा ट्राफिकलाई छलेर यात्रा गर्ने प्रवृत्तिले दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछ । 

सवारीचालकले मदिरा सेवन गरेर सवारी चलाउने, अनुमतिपत्र नलिई सवारी चलाउने, लेन मिच्ने, तीव्र गतिमा गुडाउने, यान्त्रिक कमजोरी हुँदाहुँदै पनि सवारीसाधन कुदाउने, सडकमा अस्वस्थ प्रतिस्पर्धा गर्नेजस्ता लापरबाही गर्ने गरेका छन् । ‘चालक ट्राफिक नियम मान्दैनन्, मदिरा सेवन गरेर सवारी चलाउँछन्, पैदलयात्रु आकासे पुल चढ्दैनन्, पुलमुनिको सडकबाटै बाटो काट्छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकाल भन्छन्, ‘दुर्घटना बढिरहेका वेला ट्राफिक प्रहरी चुप लागेर बसेको छैन, नियमित चेकजाँच र कारबाहीलाई कडाइ गरिएको छ ।’ 

८८ प्रतिशत दुर्घटनामा चालकको कमजोरी 
उपत्यकामा दुर्घटनाको दर हरेक पाँच वर्षमा दोब्बरले बृद्धि भइरहेको छ । चालकको लापरबाहीका कारण हुने दुर्घटना पनि उसैगरी बढेका छन् ।  आव ०७०/७१ मा ४ हजार ६ सय ७२ दुर्घटना भए, तीमध्ये चार हजार ५६ दुर्घटनाको कारण चालकको लापरबाही थियो । आव ०७५/७६ मा आठ हजार पाँच सय ११ दुर्घटना भए, त्यसमध्ये सात हजार पाँच सय २९ दुर्घटनामा चालकले लापरबाही गरेका थिए । 

चालू आर्थिक वर्षका पहिला चार महिनामा भएका चार हजार एक सय ७१ दुर्घटनामध्ये तीन हजार सात सय १३ दुर्घटनामा चालकको लापरबाही देखिएको ट्राफिक प्रहरीले जनाएको छ । बर्सेनि हुने कुल दुर्घटनाको ८५ प्रतिशतभन्दा बढी दुर्घटनामा सवारीचालककै कमजोरी पाइएको एसएसपी ढकालले बताए । 

दैनिक १५ सय सवारीले मिच्छन् ट्राफिक नियम
सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले दैनिक सचेतना कक्षा चलाउँछ । प्रहरीले बर्सेनि डेढ लाखभन्दा बढीलाई ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिएको छ । तर, अझै पनि ट्राफिक नियम पालना नगर्ने सवारीको संख्या भने घटेको छैन । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकाल सवारी दुर्घटनाको मुख्य कारण ट्राफिक नियमको उल्लंघन भएको दाबी गर्छन् । प्रहरीले ०७६/७७ को पहिलो चार महिनामा मात्रै एक लाख ५७ हजार एक सय ३८ सवारीलाई कारबाही गरेको छ । 

आव ०७५/७६ मा चार लाख ८१ हजार ७५, ०७४/७५ मा चार लाख ७२ हजार चार सय सात, ०७३/७४ मा ६ लाख ३९ हजार छ सय ११ सवारीलाई कारबाही गरेको थियो । उपत्यकामा मात्रै दैनिक १५ सय सवारी ट्राफिक कारबाहीमा पर्ने गरेको एसएसपी ढकाल बताउँछन् । प्रहरीले ट्राफिक कारबाहीबाट मात्रै करोडौँ रुपैयाँ राजस्व संकलन गर्ने गरेको छ ।  

सवारीचालकका कारण हुने दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न चरणमा अभियानै सञ्चालन गरेको छ । मदिरा सेवन गरी सवारी चलाउने क्रम बढेपछि प्रहरीले ०६८ देखि मादक पदार्थ सेवन (मापसे) कारबाही सुरु गर्‍यो । त्यसयता नौ वर्षमा एक हजार नौ सय ६७ महिलासहित तीन लाख १८ हजार छ सय ४६ जना मापसे कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले दुई हजार छ सय ६१ जनालाई मापसे गरेर सवारी चलाएकै कारण सार्वजनिक मुद्दा चलायो । त्यस अवधिमा मापसे कारबाहीबाट २८ करोड ६९ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले मापसे, स्कुल कलेजका विद्यार्थी, लेन अनुशासन, नयाँ सवारीचालक, सर्वसाधारण र अन्य यात्रुहरूसमेतलाई गरी बर्सेनि डेढ लाखभन्दा बढीलाई सचेतना कक्षा दिने गरेको छ । चालू आर्थिक वर्षका पहिला चार महिनामा ३६ हजार दुई सय ८७ ले यस्तो सचेतना शिक्षा पाएका छन् ।

चार सय ४१ लाइसेन्स खारेज
ट्राफिक प्रहरीले सवारी चलाउँदा चालकको लापरबाही कम गर्न मापसे गरेर सवारी चलाउनेको सवारीचालक अनुमतिपत्र(लाइसेन्स)मा प्वाल पार्ने अभियान पनि चलाएको छ । ०६९ बाट सुरु भएको यो अभियानबाट अहिले पाँच पटकभन्दा बढी गल्ती गर्ने चार सय ४१ चालकको लाइसेन्स निलम्बन गरिदिएको छ । 

नौ वर्षमा एक लाख ९९ हजार आठ सय तीनजना चालक लाइसेन्स प्वाल पार्ने अभियानबाट कारबाहीमा परेको ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकालले जानकारी दिए । ट्राफिक प्रहरीले एक लाख ५७ हजार सात सय ६२ को एकपटक, २७ हजार आठ सय ४३ को दुईपटक, नौ हजार दुई सय ३८ को तीनपटक, तीन हजार तीन सय ३० को चारपटक र एक हजार एक सय ८१ को पाँच पटकसम्म लाइसेन्समा प्वाल पारेको छ ।