मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष २२ मंगलबार ०६:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक भएको मिति नै विवादास्पद

Read Time : > 1 मिनेट
२०७६ पौष २२ मंगलबार ०६:२९:००

डा. श्रीकृष्ण गिरी भन्छन्– ०६५ चैतमा प्राध्यापक भएको हुँ न्याम्स भन्छ– गिरी ०७५ मा प्राध्यापक भएका हुन्

डा. श्रीकृष्ण गिरी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीकोे प्राध्यापक नियुक्तिको समय विवादमा परेको छ । गिरीले ०६५ मा प्राध्यापक नियुक्त भएको बताएका छन् । तर, उनलाई नियुक्त गर्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालले भने गिरी ०७५ मा प्राध्यापक भएको आधिकारिक पत्र दिएको छ ।

गिरीको नेपाल मेडिकल काउन्सिलमा पेस भएको विवरण, न्याम्सले दिएको पत्र र उनी आफैँले बताएको प्राध्यापक नियुक्तिको समय फरक–फरक छ । न्याम्सले २७ जेठ ०७५ मा नेपाल मेडिकल काउन्सिलमा पठाएको ‘सेल्फ अप्राइजल पेपर २०१८’ अनुसारको शिक्षकहरूको नामावली र विद्यार्थी भर्नाको सूचीमा अर्थोपेडिक्सका श्रीकृष्ण गिरीको पद ‘प्रोफेसर’ उल्लेख छ । तर, उनी नियुक्त भएको र स्वीकृत भएको विवरण भर्नुपर्ने स्थानमा खाली छ । 

तत्कालीन उपकुलपति प्रा.डा.गणेशबहादुर गुरुङले हस्ताक्षर गरी सो विवरण काउन्सिलमा पठाएका छन् । त्यसअघि ०७२/०७३ मा पठाएको विवरणमा पद प्रोफेसर उल्लेख छ । उनको प्रोफेसर ‘अप्रुभ’ मिति ११ चैत ०६५ र नियुक्त भएको मिति ४ जेठ ०६६ उल्लेख छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालले गिरी २९ चैत ०७५ प्राध्यापक भएको विवरण दिएको छ । नयाँ पत्रिकाकर्मीलाई दिएको पत्रमा भनिएको छ, ‘डा. श्रीकृष्ण गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान प्राज्ञिक परिषद्को बैठक नम्बर ११०, मिति ०७५/१२/२९ को निर्णयअनुसार प्राध्यापक हुनुभएको हो ।’ प्रतिष्ठानको १३ मंसिर ०७५ मा भएको बैठकको निर्णयअनुसार सूचना उपलब्ध गराएको थियो । 

आठ महिनामै प्राध्यापक
न्याम्सले दिएको विवरणअनुसार गिरी १६ असार ०६५ मा न्याम्सको फ्याकल्टी (शिक्षक)का रूपमा नियुक्त भएका हुन् । सुरुमै उनी सहप्राध्यापकमा नियुक्त भएका थिए । तर, फ्याकल्टी भएको आठ महिनाभित्रै उनी प्राध्यापक भएको न्याम्सका पूर्वउपकुलपतिहरूको भनाइ छ । गिरीकै दाबीअनुसार पनि उनी ०६५ चैतमा प्राध्यापक भइसकेका थिए । गिरीले भने रिक्त भएको पदमा प्रतिस्पर्धा गरेर प्राध्यापकमा नियुक्त भएको दाबी गरे ।

‘पहिले सहप्राध्यापक पद रिक्त थियो मेरो सबै मापदण्ड पूरा भएपछि नियुक्त भएको हो,’ गिरीले भने, ‘प्राध्यापक पद रिक्त भएपछि आह्वान भयो, मैले पनि प्रतिस्पर्धा गरेँ, सबैको भन्दा राम्रो नतिजा आएपछि प्राध्यापक नियुक्त भएको हुँ, सबै मापदण्ड पूरा गरेर आएको हुँ ।’ न्याम्सका एक पूर्वउपकुलपतिले पाँच वर्षमा बढुवा हुने नियम संशोधन गरी उनी वर्ष दिन नपुग्दै प्राध्यापक भएको बताए । 

सूचना लुकाउने प्रयासमा उपकुलपति
गिरीको विषयमा माग गरेको विवरण लुकाउन न्याम्सका उपकुलपति प्राडा. देवनारायण (डिएन) साह लागिपरेका छन् । गिरी फ्याकल्टी र प्राध्यापक नियुक्त भएको मिति माग गर्दा उनले ‘गोप्य’ सूचना भन्दै दिन चाहेनन् । कानुनी सल्लाहकारको रायअनुसार दिन नमिल्ने भन्दै लामो समयसम्म साहले विवरण उपलब्ध नगराएका हुन् ।

उनीसँग नयाँ पत्रिकाले गिरीको नियुक्ति मितिबारे १३ असोज ०७६ मा सूचना माग गरेको थियो । राष्ट्रिय सूचना आयोगमा पुनरावेदन भएपछि न्याम्सलाई ‘सूचना दिनू’ भन्ने निर्देशन पनि अटेर गरे । आयोगले न्याम्सलाई सूचना दिन आदेश गरेपछि र सूचना नदिए कारबाही गर्ने चेतावती दिएपछि १३ मंसिरमा बैठक गरेर आंशिक सूचना मात्र उपलब्ध गराए । न्याम्सले दिएको सूचनाको आधिकारिकतामै पनि प्रश्न उठेको छ । न्याम्सले ०७५ मा प्राध्यापक भनेर विवरण दिएपछि गिरी र उनका पहिलेका कागजातले ०६५ मै प्राध्यापक भएको खुलेको छ ।