१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
काठमाडौं
२०७६ पौष २० आइतबार ०९:२८:००
Read Time : > 1 मिनेट
अर्थ

पर्यटन बोर्डको सिइओमा ९ जना सर्ट लिस्टिङ : यती समूहका सल्लाहकार श्रेष्ठसमेत छनोटमा

Read Time : > 1 मिनेट
काठमाडौं
२०७६ पौष २० आइतबार ०९:२८:००

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि प्रारम्भिक छनोटमा यती समूहका सल्लाहकार बच्चुनारायण श्रेष्ठसमेत परेका छन् । रिक्त रहेको सिइओको पदका लागि छनोट समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा ९ जना छन् । त्यसमध्ये यती समूहका सल्लाहकार श्रेष्ठ पनि परेका हुन् । श्रेष्ठ गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा ‘भिजिट नेपाल २०२०’को  सचिवालयको सदस्यसचिवमा नियुक्त भएका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले श्रेष्ठलाई नियुक्त अस्वीकार गरेका थिए । ‘श्रेष्ठलाई सदस्यसचिवभन्दा पनि सचिवालयको सिइओका रूपमा नियुक्त गर्न दबाब थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘तर, पछि बोर्डकै निर्देशक नन्दिनी लाहे थापालाई राजीनामा गर्न लगाएर श्रेष्ठलाई ल्याइएको हो ।’ श्रेष्ठलाई चारवर्षे कार्यकालका लागि सिइओ बनाउन पार्टी र व्यापारिक समूहको समेत ठूलो दबाब छ । ‘श्रेष्ठ सिइओ बने भने आश्चर्य नमाने हुन्छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री कार्यलयदेखिकै दबाब छनोट समितिलाई परिसकेको छ ।’ 

श्रेष्ठ पासाङ ल्हामु प्रतिष्ठानका महासचिव हुन् । पासाङ ल्हामु शेर्पा प्रतिष्ठान क्याम्पसका कार्यकारी निर्देशकसमेत हुन् । उक्त क्याम्पसको नेतृत्व यती समूहकै थाम सेर्कु ट्रेकिङ कम्पनीले हेर्दै आएको छ । यती समूहकै दबाबमा दीपक अमात्य पर्यटनमन्त्री फालिएर कृपासुर शेर्पा बनेका थिए । उक्त समयमा पनि मन्त्रीका सल्लाहकारको भूमिकामा श्रेष्ठ थिए । बल्खुस्थित तत्कालीन एमाले पार्टी कार्यालय भूकम्पका कारण असुरक्षित भएपछि श्रेष्ठ तथा शेर्पालगायतले पासाङ ल्हामु प्रतिष्ठानको कार्यालय दिलाउन भूमिका खेलेका थिए । 

आवेदन दिएका ९ जना प्रारम्भिक छनोटमा
बोर्डको प्रमुख कार्यकारीका लागि ९ जना प्रारम्भिक छनोटमा परेका छन् । कार्यकारी छनोट तथा सिफारिस गर्न गठन भएको उपसमितिले आवेदकमध्येबाट ९ जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि छनोट गरेको हो । छनोट भएका ९ जनाले माघ २ र ३ गते प्रस्तुतीकरण र अन्तर्वार्ता दिनेछन् । त्यसपछि उपसमितिले ९ जनाबाट ३ जनाको नाम बोर्डलाई सिफारिस गर्नेछ ।

मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्डले सिइओ नियुक्त गर्नेछ । गत मंसिर १८ मा आवेदन माग भएकामा १७ जनाले आवेदन दिएका थिए । त्यसमध्येबाट उपसमितिले श्रेष्ठसहित बोर्डका निर्देशक काशीराज भण्डारी, दीपक बस्ताकोटी, निवर्तमान सिइओ दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमतसिंह ऐरको नाम छनोट गरेको हो ।