१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष २० आइतबार ०७:४०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

लथालिंग राजपा, अध्यक्षमण्डलको (अ)सफल प्रयोग

Read Time : > 3 मिनेट
२०७६ पौष २० आइतबार ०७:४०:००

अनिश्चत महाधिवेशन, सदस्यता वितरणमा समस्या, तदर्थ समिति गठनमा ढिलाइ, भद्रगोल केन्द्रीय कार्यालय र ठप्प पार्टी गतिविधि । देशको तेस्रो ठूलो दल राजपाको आन्तरिक जीवन कसरी चलेको छ भन्ने हेर्ने ऐना हो । मधेसका चर्चित र पाका अनुहारसमेत नेतृत्वमा रहेको राजपा बाहिरबाट हेर्दा शक्तिशाली पार्टी देखिन्छ । तर, उसको आन्तरिक जीवन भने निकै भद्रगोल र लथालिंग छ । पार्टीको विधान छ, विधिअनुसार पार्टी चलेको छैन । संगठन छ, कार्यकर्ता परिचालनको योजना छैन । केन्द्रमा त आलोपालो विधिले नेतृत्व चलेको छ, तर तल्ला कमिटीमा भाँडभैलो छ ।

आलोपालो नेतृत्व छ, तर स्पष्ट नीति छैन । कहिले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ, कहिले सत्तारुढ दलसँग राष्ट्रियसभा चुनाव र दीर्घकालीन महत्वका राष्ट्रिय मुद्दामा छलफल गर्ने गरी सहमति गर्छ । द्विविधामा रहेको नेतृत्व पंक्तिमै पनि एकरूपता छैन । 

यी सबै विषयले उठाएको प्रश्न हो, के राजपालाई अध्यक्ष मण्डल फापेन ? पार्टी जीवन यसरी लथालिंग हुनुमा राजपाको अध्यक्ष मण्डलले काम गर्न नसक्नुलाई पनि पार्टीकै नेताहरूले जिम्मेवार ठान्न थालेका छन् । राजपा सहअध्यक्ष लक्ष्मणलाल कर्ण पार्टी एकीकरणका वेला नेता व्यवस्थापनका लागि बनाएको अध्यक्ष मण्डलको व्यवस्था प्रभावकारी नभएको स्वीकार गर्छन् । ‘हाम्रो सन्दर्भमा अध्यक्ष मण्डल फाफेनभन्दा हुन्छ,’ कर्णले नयाँ पत्रिकासँग भने । 

एकतापछि एकपटक मात्रै पार्टी केन्द्रीय समितिको बैठक बसेको छ । यतिसम्म कि पार्टीका पदाधिकारी नै अध्यक्ष मण्डलको कार्यशैली र कामकारबाहीप्रति असन्तुष्ट देखिन्छन् । राजपामा ६ सदस्यीय अध्यक्ष मण्डलसहित एक सय ३५ पदाधिकारी छन् । 

त्यसवेला महन्थ ठाकुर नेतृत्वको ‘तराई मधेस लोकतान्त्रिक पार्टी’, राजेन्द्र महतो नेतृत्वको ‘सदभावना पार्टी’, महेन्द्र यादव नेतृत्वको ‘तराई–मधेस सदभावना पार्टी’, शरदसिंह भण्डारी नेतृत्वको ‘राष्ट्रिय मधेस समाजवादी पार्टी’, अनिल झा नेतृत्वको ‘नेपाल सदभावना पार्टी’ र राजकिशोर यादव नेतृत्वको ‘मधेसी जनअधिकार फोरम गणतान्त्रिक’ मिलेर राजपा बनेको थियो । 

गत वैशाखमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष मण्डलीय व्यवस्थाबाट पार्टी चल्नै नसक्ने अवस्था आएको मुद्दा उठ्यो । नतिजा–महाधिवेशनपछि एकल नेतृत्वमा जाने निर्णय भयो । विधान संशोधन प्रस्तावका लागि सहअध्यक्ष लक्ष्मणलाल कर्ण नेतृत्वमा समिति बन्यो । समितिले एकल नेतृत्वको व्यावस्थासहितको नयाँ विधान बनाएर अध्यक्ष मण्डललाई बुझाइसकेको छ । विधान महाधिवेशनपछि लागू हुने भनिएको छ, तर महाधिवेशनको कुनै टुंगो छैन । 

राजपा महासचिव एसपी सिंहको बुझाइमा अध्यक्ष मण्डलबाहेक कसैले चाहेर पनि पार्टीमा केही हुने अवस्था छैन । सिंहले भने, ‘निर्णयसम्बन्धी सम्पूर्ण अधिकार अध्यक्ष मण्डलमा छ । सचिवालय सदस्यसमेत अन्य कसैको चाहनामा पार्टीमा केही हुने अवस्था नै छैन ।’ महाधिवेशनबाट पार्टी एकल नेतृत्वमा नचलेसम्म पार्टी भद्रगोल तरिकाले चल्ने सिंहको आँकलन छ । ‘त्यसैले छिटो महाधिवेशनमा जानुको विकल्प छैन,’ उनले भने । 

राजपाको आन्तरिक जीवन

१ महाधिवेशनको छैन टुंगो

७ वैशाख, ०७३ मा पार्टी एकीकरण गर्दा राष्ट्रिय जनता पार्टी (राजपा)ले एक वर्षभित्रै पार्टीको एकता महाधिवेशन गर्ने घोषणा गरेको थियो । पार्टी एकताको एक वर्ष पुग्दापुग्दै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आयो । र महाधिवेशन गर्ने घोषणा त्यही तुहियो । विधान संशोधन गरेर अर्को एक वर्षभित्र महाधिवेशन गर्ने प्रावधान राखियो । त्यहीअनुसार, राजपाले निर्वाचन आयोगलाई पनि जानकारी गरायो । तर, फेरि पनि थपिएको अर्को एक वर्षभित्र महाधिवेशन गर्न सकेन । त्यसपछि ७–१० वैशाख, ०७६ मा महाधिवेशन गर्ने घोषणा गर्याे । र, यसपटक पनि तोकिएको समयमा महाधिवेशन हुन सकेन । गत वैशाखमा पदाधिकारी बैठकले फेरि २७–३० कात्तिकमा महाधिवेशन गर्ने गरी नयाँ मिति सार्वजनिक गर्याे । यो मिति पनि गुज्रिएको छ ।

२ सदस्यता वितरण ठप्प

महाधिवेशन गर्ने तयारी स्वरूप ०७५ मंसिरदेखि राजपाले सदस्यता वितरण अभियान सुरु ग¥यो ।राजपाले पछिल्लो पटक १५ असारसम्म म्याद थपेको भए पनि पनि सदस्यता वितरण पूर्ण भएको छैन । तदर्थ समिति गठनमा विवाद गत कात्तिकको राजपा अध्यक्षमण्डल बैठकले कात्तिक मसान्तभित्रै वडा, स्थानीय तह, क्षेत्रीय र जिल्ला तहमा पार्टीको तदर्थ समिति बनाउने गरी जिल्लाहरूमा सर्कुलर जारी गर्याे । तर, राजपाको सर्कुलरअनुसार, तदर्थ समिति बनेनन् । राजपाले पटक–पटक गरी १५ पुससम्मको समयसीमा तोक्यो । यो समयमा पनि राजपाले जिल्ला तहसम्म सबै ठाउँमा तदर्थ समिति बनाउन सकेको छैन । तदर्थ समिति गठनलाई लिएर धेरैजसो ठाउँमा विवाद छ ।

३ केन्द्रीय कार्यालय भद्रगोल

राजपाले केही समय पूर्वतमलोपाकै कार्यालय प्रयोग गरेको थियो । तर, तत्कालीन ६ दलका कार्यालयका कर्मचारीलाई नै राखेको थियो । कर्मचारीको व्यवस्थापन पार्टी अध्यक्ष मण्डलले गर्न नसकेपछि त्यसलाई लिएर पार्टीभित्रै विवाद देखिन थाल्यो र १३ कर्मचारीलाई एकमुष्ट बिदा गर्यो । 

४ पार्टी गतिविधिविहीन

एकीकरणपश्चात् तीन तहको निर्वाचनमा भाग लिएको राजपाले प्रदेश २ मा समाजवादी पार्टीसँग मिलेर प्रदेश सरकार चलाइरहेको छ । तर, पार्टीको गतिविधि देखिँदैन ।

अध्यक्षमण्डलमै मनमुटाव

एकीकरणको वेला राजपाका नेताहरूले छाता सबै मधेसी, जनजातिसहित उत्पीडनमा परेको समुदायको रक्षाका गर्न लागि बनेको बताएका थिए । उनीहरूले अधिकारबाट वञ्चित सबै समुदायको छाताको रूपमा राजपा नेपाल काम गर्नेसमेत बताएका थिए । तर, अहिले अध्यक्ष मण्डका सदस्य पनि एउटै छातामा अटाएका छैनन् । राजपाका नेताहरूले पार्टी यसरी सुस्त हुनुमा अध्यक्ष मण्डलभित्रै रहेको मनमुटावलाई दोष दिने गरेका छन् । पार्टी एकीकरणको वेला चक्रीय प्रणालीअनुसार, ६ वटैै अध्यक्षले पार्टीको संयोजकको भूमिका निर्वाह गर्ने सहमति गरेका थिए । त्यसैअनुसार, एकीकृत पार्टीको विधान बनेको थियो । 

सुरुमा अध्यक्ष मण्डलको संयोजक बने महन्थ ठाकुर । यसका लागि राजेन्द्र महतोले पार्टीमा सबैभन्दा परिपक्व र अग्रज नेता भएको भन्दै ठाकुरलाई संयोजकको भूमिकामा रहने गरी प्रस्ताव गरे । त्यसपछि ठाकुर संयोजक रहेको अध्यक्ष मण्डलले काम थाल्यो । तर, ६ मंसिर, ०७५ मा अचानक राजपाले संयोजक चक्रीय प्रणालीअनुसार, रहने गरी निर्णय भएको विज्ञप्ति निकाल्यो । लगत्तै महतो राजपा अध्यक्ष मण्डलको संयोजक बने । त्यसपछि क्रमशः महेन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव र महन्थ ठाकुर अध्यक्ष मण्डलको संयोजक भए । एक चक्र पूरा भएर महतो फेरि अध्यक्ष मण्डलका संयोजक बनेका छन् ।